सीमाङ्कन हेरफेरको विरोधमा अनिश्चितकालीन अर्घाखाँची बन्द
अर्घाखाँची, मङ्सिर १५
सरकारले सीमाङ्कन हेरफेरसहित संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको बिरोधमा अनिश्चितकालीन अर्घाखाँची बन्दको आह्वान गरिएको छ ।
पाँच नम्बर प्रदेशअन्तर्गतको पहाडी जिल्ला अर्घाखाँची टुक्र्याएर ४ नम्बर प्रदेशमा गाभेको भन्दै उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आज जिल्लामा रहेका विभिन्न क्रियाशील सङ्घसंस्थाको आयोजनामा अर्घाखाँची बन्द गरिएको हो ।
बन्दका कारण जिल्लाका सम्पूर्ण शैक्षिक संस्था, कलकारखाना, बजार र यातायातका सम्पूर्ण साधन बिहानैदेखि ठप्प रहेका छन् ।
बन्दमा जिल्लामा रहेका सबै राजनीतिक दलको समेत समर्थन रहेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।
रासस