Suvadin, Home

आमा! तिमी नभइदेको भए?

आज मेरी आमा अन्ठानब्बे वर्ष भएकी छिन्। उनले आफ्ना दुबै आखाँको ज्योति गुमाएको त करिब दस वर्ष नै भइसक्यो। उनी आफूलाई खान मन लागेको कुरा बनाएर खान सक्दिनन्। स्मरण शक्ति गुमेको छ। एकछिनमा गरेको कुरा याद हुँदैन। धेरै कुरा सोधिरहने बानी छ। कैयाैं चोटी ओछ्यान र फरियामा दिसा खुस्किएको पत्तो पाउँदिनन्। खाना खुवाउन निक्कै फकाउन पर्छ। तातो पानी दिँदा चिसो पानी चाहिन्छ, चिसो पानी दिँदा तातो रुचाउँछिन्।

सिर्जना बस्नेत


स्कुलबाट फर्किंदा बाटोबाट सुनिने ठाउँदेखि नै मुखमा आमा...आमा... भन्दै घरमा पुगेकी हुन्थेँ। खाना खाएर जति नै मेरो पेट भरिए पनि आमाको जुठो भात एक गाँस मुखमा परेन भने मेरो पेट भोकै भएको जस्तो लाग्थ्यो।

 

‘मलाई छाडेर नजा है नानी,’ भन्दै गर्दा अन्ठानब्बे वर्षीया हजुरआमाको आँखाभरि आँशु छल्किरहेको थियो। नहोस् पनि कसरी बुढेसकालको एक माात्र सहरा भनेको म मात्र हुँ। यदि मैले छाडेर गएँ भने के होला उनको हालत? फिल्ममा त सिन दोहोरिनु नौलो कुरा हैन, तर वास्तविक जीवनमा पनि कहिलेकाहीँ यस्तो हुँदा अचम्म लाग्दो रहेछ। अहिले त्यही सिन मेरो वास्तविक जीवनमा पनि दोहोरिएको छ।

जुन बेला मैले होस् सम्हालेँ, मलाई सबैले आमा भनेर चिनाएकी मेरी आमाको अनुहारमा मुजा मरिसकेको थियो। मैले थाहा पाएदेखि नै उनी आँखा कम देख्ने गर्थिन्। मेरी आमा र अरुकी आमामा केही फरक थियो भने त्यो हो मुजा परेको अनुहार। अरुका आमाको पोटिलो गाला देख्थेँ र म मेरी आमाको चाउरिएको गाला मसार्दै सोध्थें, ‘आमा तिम्रो गाला किन अरु आमाको जस्तो छैन? किन तिमी अरु भन्दा अगाडि नै बुढी भएकी?’

मेरी आमा सुस्कुराउँदै भन्थिन्, ‘तेरो बाउ जन्माउँदा यी गाला चाउरिएको हो। अनि तेरा ठूलो बाउ जन्माउँदा म छिट्टै बुढी भएकी हँु, बुझिस्।’

मैले त्यहीबेला नबुझे पनि बुझेको झंै टाउको हल्लाएकी थिएँ। तर, पछि बुझेँ, उनी छिट्टै बुढी भएकी हैन रहिछन् म ढिला उनको छोरी (नातिनी) भएकी रहँेछु। उनी मेरी मात्र आमा भएकी भए सायद यतिधेरै बुढी हुने थिइनन् होला। मेरो बाउ नजन्माएको भए उनको गाला चाउरिँदैन थियो होला कि? म बारम्बार सोचिरहन्थेँ। 

त्यसबेलाको परिस्थिति धेरै कठीन थियो। सानो भकारीले बारेको र भकारीकै छानो भएको मुस्किलले चार जना परिवार अटाउने टहरोको बास थियो। बाबा र काका ज्याला मजदुरीको लागि खै कता कता पुग्थे। अनि म र मेरी आमा हुन्थौँ घरमा। 

मलाई कसैले सबैभन्दा धेरै माया कसको लाग्छ भनेर सोध्दा जवाफ हुन्थ्यो, ‘मेरी आमाको।’ म उनलाई एकछिन देखिनँ भने निकै आत्तिने गर्थें। म रुँदै आमा खोजेको देखेर कतिले मजाक गर्दै तेरी आमाले तँलाई छाडेर गई भनेर मजाक गर्दा मलाई धेरै गाह्रो हुने गथ्र्याे। म रोएको सुनेर आमा आत्तिँदै मेरो छेऊमा आउँदा म भन्थेँ, ‘आमा मलाई छाडेर नजाऊ है।’ मलाई तिमी जहाँ गए पनि साथै लैजाऊ है भन्दै रोएको देखेर आमाले अंगालोमा बेर्थिन्।

‘तँलाई छोडेर कहाँ जान्छु त लाटी, मेरो कोखबाट चाार भाइ छोरा जन्मिँदा पनि छोरी जन्मिएन। तँलाई त भगवानले पठाएको हो मेरी छोरी बनाएर। म मेरो छोरीलाई कहिल्यै छाडेर जान्न’ भन्दै गालामा चुम्मन गर्दा मेरा सब डर, भय र त्रास मबाट टाडा भइसकेका हुन्थे। 

स्कुलबाट फर्किंदा बाटोबाट सुनिने ठाउँदेखि नै मुखमा आमा...आमा... भन्दै घरमा पुगेकी हुन्थेँ। खाना खाएर जति नै मेरो पेट भरिए पनि आमाको जुठो भात एक गाँस मुखमा परेन भने मेरो पेट भोकै भएको जस्तो लाग्थ्यो। घरमा बाबा र काकाको रक्सीको तालमा झगडा पर्दा आमा रुँदै भन्थिन्, ‘छोरा भन्नेहरूको ताल सधैँ यस्तो छ, मलाई बुढेसकालमा कसले पाल्ला!’
‘आमा म छु नि तिम्रो, म पाल्छु तिमीलाई’ भन्दै म उनको काखमा लुटपुटिने गर्थेँ। पछि ठूलो भएर सोच्थेँ, ‘मैले मेरी आमालाई दिएको बाचा पूरा गर्न सकिनँ भने उनले मलाई छाडेर जान्छिन् होला।’

तर, म भाग्यमानी भएर होला आज मैले आमालाई दिएको बाचा पूरा गर्ने अवसर पाएँ। सायद सबै छोरीहरूले यो अवसर पाउँदैनन् होला। 

म सानोमा आमासँग सुत्दा ‘बुबु’ भन्दै राति आमाको छाती मसारेर उनलाई निदाउन दिन्नथेँ रे! पखाला लाग्दा धेरै चोटीउनलाई भिजाइदिएकी थिएँ रे!

‘तेरो त मैले ... भात खाँदै गर्दा पनि फोहोर पारिदिन्थिस्। कति चोटी लुगा धुँदा छिटा उछिट्टेर मुखमा पसेको छ। मलाइ हेला गरिस् भने त तँलाई पापै लाग्छ भुरी,’ उनी भन्थिन्।

हो, आज मैले उनलाई हेला गरेँ भने म आफैंले पनि आफैंलाई सराप दिन्छु होला। आज मेरी आमा अन्ठानब्बे वर्ष भएकी छिन्। उनले आफ्ना दुबै आखाँको ज्योति गुमाएको त करिब दस वर्ष नै भइसक्यो। उनी आफूलाई खान मन लागेको कुरा बनाएर खान सक्दिनन्। स्मरण शक्ति गुमेको छ। एकछिनमा गरेको कुरा याद हुँदैन। धेरै कुरा सोधिरहने बानी छ। कैयाैं चोटी ओछ्यान र फरियामा दिसा खुस्किएको पत्तो पाउँदिनन्। खाना खुवाउन निक्कै फकाउन पर्छ। तातो पानी दिँदा चिसो पानी चाहिन्छ, चिसो पानी दिँदा तातो रुचाउँछिन्। 

यस्तो अवस्था म मात्र हो उनको साहरा भन्न पाउनु आफैंमा गर्व लाग्छ। जन्मिएका छोराहरूको मृत्यु भइसकेको छ। नाता गोता त सक्ने हुँदा मात्र रै’छन्। 

जसरी उनी नभएको भए आज म हुने थिइन होला, त्यसैगरी म भइन भने उनी हुने छैनन्। उनको दिसा धुँदा मलाइ गह्हाउँदैन, ममताको गन्ध आएजस्तो लाग्छ। 

कहिलेकाहीँ उनी भन्छिन्, ‘तँ छोरी मान्छे, म मरे भने कसरी काजकिरिया गर्छेस्? अब त मैले तेरो घरबार बसाल्ने बेला पनि भयो, मैले गर्दा तेरो जिन्दगी बर्बाद हुने भयो मलाई छिट्तै काल आए हुन्थ्यो नि। हेर त तँ मेरो उमेरसम्म नबाँच्नू, धेरै दुःख दिनु पर्दाेरै’छ अरुलाई।’

आमाको बचन सुन्दासुन्दै आँशु बग्न थाल्छ। मलाई त्यसबेला आफू छोरी भएकोमा पछुतो र धिक्कार लाग्छ। उनलाई ज्यूँदो हँुदा भन्दा मरेपछिको पिर सायद म छोरा भइदिएको भए हुने थिएन होला। 

कुनै पनि आमाले आफ्नो सन्तानको भविष्य बर्बाद बनाउँदैनन् । तिमी मेरो जन्मदाता नभए पनि कर्मदाता हौ। मैले खाएको देखेर तिम्रो भोक हराएको थियो कुनै बेला। म आज कसरी तिमीलाई छाडेर जान सक्छु? बाँचुन्जेल कुनै कमी हुन दिन्न म तिमीलाई।

तर, मलाई यति थाहा छ, तिमी मेरो जीवित देवी हौ। मैले तिमीलाई हेला गरेर मन्दिर धाउनु बेकार छ। मलाई त यो सौभाग्य प्राप्त भएको हो। जसले मेरो जीवनमा ज्योति बनेर संसार चिनायो, आज उसको हातको लठ्ठी बन्न पाएँ। म चाहन्छु, तिमी मेरो काखमा नै जीवनको अन्तिम सास फेर। तिमी मलाई छाडेर जाने कुरा निश्चित रहेछ। जाँदा तिमी खुसी भएरै जाऊ तर म आँशु रोक्न नसकुँला। तिम्रोसामु कठोर बनेर तिमीलाई सम्झाए पनि तिमी जाने कुराको कल्पना गर्दासमेत मुटु चुँडिएजस्तो लाग्छ।

तर, प्राकृतिक कुरालाई रोक्न सकिँदैन। तिमीले मेरो लागि जे त्याग गर्यौ, तिम्रो लागि गरेको सेवा त जुनको सामु जुनकीरीको प्रकाशजस्तो लाग्छ मलाई छ। तर, म चाहन्छु मैले तिम्रो गुन तिर्न सकुँ।


 

More form the Internet

loading...