Suvadin, Home

ग्रामीण क्षेत्रका महिला व्यावसायिक बन्दै

पछिल्लो समय ग्रामीण क्षेत्रका महिला व्यावसायिक बन्दै गएका छन्। पुरुषको मात्र भर पर्दैआएका महिला आफैले आर्थिक उपार्जनका काम गर्न थालेका छन्। दहकोट गाविसका भानादेवी रोकायाले आफ्नो नाममा उद्योग दर्ता गराइन्। उनले घरेलु तथा साना उद्योग कार्यालयबाट ४५ दिनको कपडा बुनाइ सम्बन्धी तालिम समेत लिइन्। जिल्लाको एउटा गैरसकारी संस्थाले उनलाई कपडा बुनाई सम्बन्धी चर्खा र तान समेत सहयोग गरेको छ।
लुगा सिउँदै महिलाहरू।

बाजुरा, १८ फागुन - पछिल्लो समय ग्रामीण क्षेत्रका महिला व्यावसायिक बन्दै गएका छन्। पुरुषको मात्र भर पर्दैआएका महिला आफैंले आर्थिक उपार्जनका काम गर्न थालेका छन्।

दहकोट गाविसका भानादेवी रोकायाले आफ्नो नाममा उद्योग दर्ता गराइन्। उनले घरेलु तथा साना उद्योग कार्यालयबाट ४५ दिनको कपडा बुनाइ सम्बन्धी तालिम समेत लिइन्। जिल्लाको एउटा गैरसकारी संस्थाले उनलाई कपडा बुनाई सम्बन्धी चर्खा र तान समेत सहयोग गरेको छ। सदरमुकाम मार्तडीमा स्थापना गरेको सो उद्योगमा कपडा बुन्ने काम गरिँदै आएको छ। अचेल उनी अन्य महिलालाई समेत सीप सिकाइरहेकी छिन्। 

'साझबिहान के खाने भन्ने चिन्ता हुन्थ्यो, अहिले राम्रै आम्दानी भइरहेको छ', उनले भनिन्। उनले अल्लो भाँग्रोका कोट, पाइन्ट, झोला, जुत्तालगायत कपडा बुन्ने गरेकी छिन्। अल्लो भाँग्रोका कपडा प्रति मिटर ८०० देखि एक हजारसम्ममा बिक्री गर्दैआएकाे उनले बताइन्। 

त्यस्तै बडिमालिका नगरपालिका– ९ का सरस्वती पाध्यायले नेपालगन्जबाट आठ हजार रूपैयाँमा ठेला ल्याई चाउमिन, चट्पटे, पानीपुरी, अण्डा, पकौडा, समोसालगायत परिकार  बिक्री गर्छिन्। ठेलाव्यापारबाट दैनिक एक हजार ५०० देखि दुई हजारसम्म आम्दानी हुने गरेको उनले बताइन। 

'आम्दानी हुन थालेपछि श्रीमान् पनि खुसी हुने', उनले बताइन। ठेलाव्यापारकै कमाइले उनी घरखर्च चलाउँदै आएकी छिन्। 

व्यवसाय सञ्चालन गर्न सहयोग गर्दै आएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष देवबहादुर रोकायाले बताए। दर्ता गर्ने तर व्यवसाय नगर्ने पाइएकाले व्यवसाय सञ्चालन गर्न उनले सबैलाई आग्रह गरेका छन्। जिल्लाका ग्रामीण भेगका अन्य महिलाले समेत विभिन्न व्यवसाय गर्न थालेका छन्। उनीहरुले गाउँमै सहकारी स्थापना गरेर व्यवसाय सञ्चालन गर्ने गरेका पाइएको छ। तरकारीखेती, कुखुरापालन, सिलाइकटाई जस्ता थुप्रै काममा पछिल्लो समय महिला अग्रसर भएका महिला अधिकारकर्मी सीता विश्वकर्मा बताउछिन्। रासस 


 

More form the Internet

loading...