Suvadin, Home

लगानी सम्मेलनका सहभागीहरू के भन्छन्?

पच्चीस वर्षपछि सरकारले बल्ल लगानी सम्मेलनको आयोजना गरेको हो। यस्ता लगानी सम्मेलनलाई निरन्तरता दिनुपर्ने लगानीकर्ताहरूको भनाइ छ। नेपालमा लगानीको सम्भावना र चुनौतीका विषयमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरूकाे धारणा यस्ताे पाइयाे।
लगानी सम्मेलनमा सहभागी लगानीकर्ताहरू। तस्बिर : गोविन्द लुइँटेल

काठमाडौं, फागुन २० - वैदेशिक लगानी भित्र्याउन भन्दै सरकारले यही फागुन १९ र २० गते काठमाडौंमा लगानी सम्मेलनको आयोजना गर्याे। दुई दिनसम्म चलेको यो सम्मेलनमा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, सिंगापुर, हङकङ, मलेसिया, अमेरिका, रुस, क्यानाडालगायत दुई दर्जन मुलुकका २५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ताहरू सहभागी थिए।

उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा सम्मेलन आयोजना भएको हो। नेपालमा सन् १९९२ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले पहिलोपटक वैदेशिक लगानी भित्र्याउन अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरेको थियो। २५ वर्षपछि सरकारले बल्ल लगानी सम्मेलनको आयोजना गरेको हो। यस्ता लगानी सम्मेलनलाई निरन्तरता दिनुपर्ने लगानीकर्ताहरूको भनाइ छ। नेपालमा लगानीको सम्भावना र चुनौतीका विषयमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरूकाे धारणा यस्ताे पाइयाे।

लगानीकर्ताको मनोबल बढाउन जरुरी छ : उपेन्द्र महतो,  नेपाली लगानीकर्ता 

राजनीतिक क्रान्तिपछि अब देशमा आर्थिक क्रान्तिको खाँचो परेको छ। त्यसका लागि विदेशी लगानीको आवश्यकता परेको हो। जहाँ स्वदेशी र विदेशी लगानीकर्ताबीच आपसी समन्वय हुँदैन। त्यहाँ लगानीकर्ताहरूले लगानी गर्न गाह्रो पर्छ।

लगानीकर्ताबीच चिनजान र समन्वय हुनुपर्छ। कुनै पनि लगानी भित्र्याउन यी कुरा अत्यावश्यक हुन्छ। यस सम्मेलनको मुख्य उद्देश्य नै लगानीहरूकर्ताबीच समन्वय गराउनु हो। त्यसका लागि यस्ता सम्मेलन आवश्यक छ। यसले लगानीकर्ताबीच अनुभव आदान-प्रदान गर्ने प्लेटफर्म तयार पार्छ। 

कुनै पनि देशको विकासका लागि विदेशी लगानी आवश्यक पर्छ। यसका साथै स्वदेशी लगानीकर्ताको पनि उतिकै आवश्यक छ। स्थानीय लगानी बढाउने वातावरणा बनाउन पनि विदेशी लगानी आवश्यक छ। स्वदेशी र विदेशी लगानीकर्ताहरूको लगानीबाट मात्रै देश अगाडि बढ्न सक्छ। यस्ता लगानी सम्मेलनले लगानी गर्नका लागि स्वदेशी र विदेशी लगानीकर्तालाई उत्साह पनि प्रदान गर्दछ।

स्वदेशी र वैदेशिक लगानी बढाउन लगानी सम्मेलनलाई निरन्तरता दिनुपर्छ। तर, विगतमा सरकारले यस्ता लगानी सम्मेलन सुरु गरे पनि निरन्तरता दिन सकेन। प्रत्येक तीन/चार वर्षमा यस्ता सम्मेलन गरिरहनुपर्छ। सम्मेलनको उपलब्धीको मूल्याङ्कन पनि गर्नुपर्छ। लगानीका लागि केही नीतिगत समस्या जुनसुकै देशमा पनि हुन्छ। लगानी गर्दै जाँदा त्यस्ता नीतिगत समस्याहरू सुधार हुँदै जान्छ। नेपालमा लगानीका लागि वातावरण बन्दै गए पनि लगानीकर्ताहरूको मनोबल बढाउन जरुरी छ। लगानीकर्ताको आत्मबल बढाउन हामी सबै लाग्नुपर्छ। 

सौर्य ऊर्जामा सम्भावना छ : ज्याकलिन मङग्रोट, हाइड्रो क्युविक इन्टरनेशनल, क्यानडा 

नेपालमा के कस्ता क्षेत्रमा लगानीको सम्भावना छ भनेर म क्यानडाबाट यो लगानी सम्मेलनमा सहभागी भएको हो। यो लगानी सम्मेलनले हामीलाई नेपालमा लगानीका लागि के कस्ता अवसर र चुनौती छन् जान्ने मौका मिल्यो। तर, लगानीका लागि नेपालमा नीतिगत समस्या धेरै ठूलो समस्या रहेको मैले पाएँ।

नेपालमा जलविद्युत क्षेत्रमा लगानी गर्ने मेरो चाहना छ, तर यहाँ उत्पादित बिजुली भारतमा बिक्री गर्न निकै समस्या छ। यहाँ ठूलो परिमाणमा बिजुली उत्पादन गर्दा खपत नहुने अर्काे समस्या छ। अहिले नेपालमा ४० प्रतिशत बिजुली भारतबाट आयात गरिएको छ। 

नेपालमा उत्पादित बिजुली भारतमा बिक्री गर्न निकै खर्चिलो पर्ने देखिन्छ। उत्पादन खर्च भन्दा निर्यात खर्च १० गुना बढी पर्न जान्छ। जलविद्युतबाहेक नेपालमा सौर्य ऊर्जाको क्षेत्रमा पनि लगानीको सम्भावना छ। सौर्य ऊर्जा निकै राम्रो स्रोत हो। नेपालमा मागको २६ प्रतिशत बिजुली सौर्य ऊर्जाबाट उत्पादन गर्न सकिने सम्भावना छ। तर, यो खेर गइरहेको छ। यसलाई सदुपयोग गरेको खण्डमा नेपालकाे दिगो र आर्थिक विकासमा  ठूलो योगदान दिन सक्छ। यसतर्फ नेपालले बेलैमा सोच्न आवश्यक छ।  

जलविद्युतमा ठूलो लगानी गर्न चाहन्छौं : चोइइन होइप, लगानीकर्ता, दक्षिण कोरिया

म नेपालमा ऊर्जा क्षेत्रमा लगानीकाे सम्भावना देख्छु। हामी कोरिया सरकार र निजी कम्पनीको लगानीमा नेपालमा हाइड्रो क्षेत्रमा मेघा प्रोजेक्ट खोल्न चाहेका छौं। यो सम्मेलनबाट लगानीका लागि के-कस्ता समस्या र सम्भावना छन् त्यसबारे बुझ्न सहयोग पुगेको छ। यस्ता लगानी सम्मेलनले हामीजस्ता लगानीकर्ताहरूलाई स्थानीय लगानीकर्तासँग समन्वय र सहयोग लिन मौका मिल्छ। याे सम्मेलनबाट लगानीको लागि नीतिगत व्यवस्था तथा अरू कुराहरू बुझने मौका मिल्यो। नीतिगत व्यवस्थाहरू के कसरी परिर्वतन हुन्छ त्यस आधारमा हामी ठूलो लगानीका लागि तयार हुनेछौं। यस्ता सम्मेलन अगामी दिनमा पनि सरकारले गर्नुपर्छ। 

शिक्षामा लगानी गर्न चाहन्छौं : वसन्त कुमाराश्री  लगानीकर्ता, श्रीलङ्का

हामीले श्रीलंकामा शिक्षा क्षेत्रमा लगानी गरिरहेका छौं। नेपालमा शिक्षा र पूर्वाधारको क्षेत्रमा लगानीको सम्भावना छ। नेपालमा पूर्वाधारको विकास भए मात्रै थप लगानी बढ्छ। त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ। नेपालमा हामीले प्राविधिक तथा व्यावसायिक शिक्षा दिने विश्वविद्यालयहरू स्थापना गर्न चाहन्छौं। यो लगानी सम्मेलनले हामीलाई धेरै कुरा बुझन सजिलो पनि बनायो। नेपालमा लगानीका लागी नीतिगत सुधार र वातावरण पनि बन्न थालेको छ याे खुसीको कुरा हो। 


 

More form the Internet

loading...