एनसेलको लाभकरमा लेखाले प्रधानमन्त्रीसँग छलफल गर्ने
काठमाडौं चैत ३ - संसद्को सार्वजनिक लेखा समितिले एनसेल खरिद बिक्रीबापत राज्यले पाउनुपर्ने पुँजीगत लाभकरका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने भएको छ।
लेखा समितिको बिहीबारको बैठकले दुरसञ्चार सेवा प्रदायक एनसेलको स्वामित्व परिवर्तन हुँदा राज्यलाई तिनुपर्ने लाभकरका विषयमा मन्त्रिपरिषदमा प्रस्ताव गएकोबारे प्रधानमन्त्रीको धारणा माग्ने निर्णय गरेको हो ।
समितिको बैठकमा उपस्थिति भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले एनसेलको विषयमा मन्त्रिपरिषद्ले निर्णय नगरेको तर एनसेलका तर्फबाट आएको निवेदनका विषयमा प्रधानमन्त्रीले आफूसँग छलफल गरेको बताए।
बैठकमा अधिकांश सांसदले मन्त्रिपरिषदमा सिधै निवेदन कसरी पुग्यो भन्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्नुपर्ने माग गरेपछि बैठक प्रधानमन्त्रीसँग समय लिएर छलफल गर्ने निष्कर्षमा पुगेको समितिका सभापति डोरप्रसाद उपाध्यायले बताए।
अर्थमन्त्री महराले बैठकमा भने, ‘एनसेलले तिर्नुपर्ने लाभकरका विषयमा क्याविनेटमा प्रस्ताव आएर कुनै निर्णय भएको छैन, ठाडो प्रस्ताव पनि लगिएको छैन, निवेदन भने प्रस्तुत भएको हो ।’
एनसेलको स्वामित्व हस्तान्तरण हुँदा तिर्नुपर्ने करलाई कुनै पनि सर्तमा नछोडिने उल्लेख गर्दै अर्थमन्त्री महराले न्यायसङ्गत रुपमा कर असुल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन। उनले आफूप्रति शङ्का नगर्न पनि संसद् समक्ष आग्रह गरे।
राज्यले पाउनुपर्ने करलाई चाँडो असुलन आफूले सम्बन्धित कर कार्यालय र कर अधिकृतलाई एक साताभित्र यो विषयको टुंगाे लगाउन निर्देशन दिएको उनले समितिलाई जानकारी गराए।
बैठकमा बोल्ने अधिकांश सांसदले एनसेलको स्वामित्व हस्तान्तरण हुँदा राज्यले पाउनुपर्ने कर छुट कुनै हालतमा दिन नहुनेमा जोड दिदै यो विषय छिटो टुंगो लगाउनु पर्ने बताए। बैठकमा सहभागी राजस्व सचिव राजन खनालले स्वामित्व हस्तान्तरण हुँदा राज्यले पाउनुपर्ने करका विषयमा विज्ञ समूह बनाएको र यो विषय छिट्टै टुंगिने पनि बताए। रासस