Suvadin, Home

विमलेन्द्र निधि- चाङ वानक्वान भेटवार्ता
तातोपानी भन्सार नाका खुलाउने चीनकाे वचन

शुक्रबार सिंहदरबारमा भएको भेटमा रक्षामन्त्री चाङले अरनिको राजमार्ग विस्तारको कामलाई पनि चीन सरकारले उच्च प्राथमिकता दिएको स्मरण गराएका छन्। यसैगरी, गृहमन्त्री निधिले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको उल्लेख गर्दै नेपालको विकासमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेका छन्।
नेपालको तीनदिने भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री जनरल चाङ वानक्वान शुक्रबार गृहमन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग भेट गर्दै। तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौं, चैत ११ – चीनले तातोपानी भन्सार नाका खुलाउने वचन दिएको छ। चिनियाँ रक्षामन्त्री चाङ वानक्वानले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग भेट गरी तातोपानी भन्सार नाका खुलाउने बचन दिएका हुन्।

शुक्रबार सिंहदरबारमा भएको भेटमा रक्षामन्त्री चाङले अरनिको राजमार्ग विस्तारको कामलाई पनि चीन सरकारले उच्च प्राथमिकता दिएको स्मरण गराएका छन्। यसैगरी, गृहमन्त्री निधिले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको उल्लेख गर्दै नेपालको विकासमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेका छन्।

दुई देशबीचको सम्बन्ध अझै सुमधुर बनाउने विषयमा छलफल केन्द्रित रहेको गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीेले जानकारी दिएका छन्। उनले तातोपानी भन्सार नाका खुलाउने विषयमा पनि छलफल भएको स्पष्ट पारेका हुन्।

चीनले नेपाल प्रहरी, सशस्त्र प्रहरीको सञ्चार प्रणालीमा आधुनिकीकरण गर्ने, तालिम केन्द्रहरुको स्थापनाका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोगहरु गर्ने यसअघि नै प्रतिवद्धता जनाइसकेको छ।

नेपालको ३ दिने भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री चाङले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँडसँग भेट गरी नेपालको विकासमा अझै नजिकबाट सहयोग गर्ने चाहना व्यक्त गरेका छन्।


 

More form the Internet

loading...