हात्ती प्रभावित क्षेत्रमा वैकल्पिक बाली
सुपारी आर्थिक समृद्धिको आधार
काठमाडाैं चैत ७ – दुई दशकअघिसम्म घरको सजावटका लागि फूलबारीमा लगाइने सुपारीको झापाका किसानले अहिले व्यावसायिक खेती गर्न सुरु गरेका छन्। सानो लगानीले मनग्यै आम्दानी हुने भएपछि झापाका कृषकको ध्यान व्यावसायिक सुपारी खेतीतर्फ जान थालेको हो।
कृषि कार्यालय झापाका अनुसार झापाका शनि–अर्जुन नगर, बाहुनडाँगी, शान्तिनगर, बुधबारे, बिर्तामोड नगरस्थित चारपाने, खुदुनाबारी, दुहागढी र धाइजनका किसानले सुपारीको व्यावसायिक खेती सुरु गरेका हुन्।
झापा, मोरङ र सुनसरीलाई सुपारी उत्पादनका लागि उपयुक्त जिल्ला मानिन्छ। त्यसमा पनि झापा सुपारी खेतीको राजधानी नै मानिन्छ। झापामा वर्षेनी सुपारी खेती गर्ने कृषक बढ्दैछन्। र, उत्पादन पनि वर्षेनी बढिरहेको कार्यालयका सहायक प्राविधिक शालिकराम भट्टराई बताउँछन्।
कार्यालयका अनुसार झापामा करिब दुई हजार ५ सय हेक्टर क्षेत्रफलमा सुपारीको व्यावसायिक खेती गरिएको छ। झापामा वर्षेनी ५० हजारभन्दा धेरै मेट्रिक टन काँचो सुपारी उत्पादन भएको कार्यालयले जनाएको छ।
सहायक प्राविधिक भट्टराईका अनुसार जिल्लामा प्रतिहेक्टर २२ मेट्रिक टन काँचो सुपारी उत्पादन हुन्छ। झापामा गत वर्ष २ हजार ५ सय हेक्टर क्षेत्रफलमा व्यावसायिक सुपारी खेती गरिरहेको थियो। प्रति हेक्टर २१ दशमलव ५ हेक्टरका दरले ४६ हजार ५ सय ४६ दशमलव ५ मेट्रिक टन काँचो सुपारी उत्पादन भएको थियो।
कम मेहनत र थोरै लगानीले धान–मकैको तुलनामा तेब्बर आम्दानी दिने हुनाले कृषकको आर्कषण व्यावसायिक सुपारी खेतीतर्फ जान थालेको हो।
एकपटक रोपेपछि दुई दशकभन्दा बढी फसल दिने र सुपारी रोपेको ठाउँमा अरु फसल पनि लगाउन मिल्ने भएकाले किसान यसतर्फ आकर्षित हुन थालेको नेपाल सुपारी खेती विकास संस्थाका महासचिव निलकण्ठ तिवारीले बताएका छन्।
उनले किसानलाई व्यावसायिक रुपमा सुपारी खेती गर्ने प्रेरित गर्ने उद्देश्यले जिल्लाभर एक दर्जनभन्दा धेरैसुपारी सहकारी संस्था स्थापना गरिएको बताएका छन्। तिवारीले एक पटक प्रांगारिक मल लगाएपछि वर्षभर पुग्ने बताएका छन्।
उनी सुपारीलाई बसीबसी आम्दानी दिने व्यापारको रुपमा लिन्छन्। चार विगाह जग्गामा सुपारी खेती गरेका तिवारीले एक विगाहबाट वार्षिक २ लाख रुपैयाँसम्म आम्दानी हुने बताएका छन्।
वैशाख–जेठ महिनामा फुल्न सुरु हुने सुपारी करीब एक वर्षमा बिक्रीका लागि तयारी हुन्छ। समुन्द्री सतहदेखि १ हजार मिटर उचाई र १५ देखि ३६ डिग्री सेन्टिग्रेड तापक्रम चाहिने सुपारी दोमट र पाँगो माटोमा फस्टाउँछ। ५ दशमलव २ देखि ८ सम्म माटोको पिएच चाहिने जनाइएको छ।
सुपारीलाई जोगाउन सुलसुले, जरामा लाग्ने खुम्रे, कत्ले किरा, लार्भा र रातो घुनबाट जोगाउनु पर्छ। गुभो कुहिने पनि सुपारीको अर्को समस्या हो। सुपारी बिक्रीका लागि किसानलाई समस्या छैन। तिवारीका अनुसार पाक्नुअघि नै काँचो सुपारी बिक्री भइसक्छ।
झापामा भारतको पश्चिम बंगालमा लगाइएको ‘मोहितनगर’ जातको सुपारी लगाइएको छ। भारतको केन्द्रीय मसला तथा औद्योगिक बाली अनुसन्धान केन्द्रले पश्चिम बंगालमा लगाउन सिफारिस गरेको उक्त जातको सुपारी पश्चिम बंगालसँग हावापानी मिल्ने झापामा पनि लगाइएको कृषि कार्यालयले जनाएको छ।
झापामा वि.सं. १९८० को दशकमा झापा शान्तिनगरका गगांधर घिमिरेले जिल्लामा पहिलोपटक सुपारी भित्र्याएको मानिन्छ। उनले भारतको आसामबाट सुपारी ल्याएर रोपेको बताइएको छ। अहिले जिल्लामा सुपारी लगाउने कृषकको संख्या ६५ हजारभन्दा धेरै रहेको तिवारीले जनाएका छन्।