Suvadin, Home
मेहनत गरे गाउँघरमै बसेर मनग्ये आम्दानी गर्न सकिन्छ। त्यसको पछिल्लो उदाहरण बनेका छन्, जाजरकोटका किसान। यस वर्ष जिल्लामा ९ करोड बराबरका सुन्तला उत्पादन गरेर उनीहरूले राम्रो कमाई गरेका हुन्।

जाजरकोट, पुस २०


मेहनत गरे गाउँघरमै बसेर मनग्ये आम्दानी गर्न सकिन्छ। त्यसको पछिल्लो उदाहरण बनेका छन्, जाजरकोटका किसान। यस वर्ष जिल्लामा ९ करोड बराबरका सुन्तला उत्पादन गरेर उनीहरूले राम्रो कमाई गरेका हुन्।

‘सुन्तलाले राम्रो आम्दानी दिन थालेपछि रोजगारीका लागि भारत जाने युवाको संख्या घटेको छ,’ ढिमेका एक किसानले भने, ‘सुन्तलाले पनि सुनको जस्तै भाउ पाउन थालेको छ।’

गत वर्षभन्दा ५ प्रतिशतले उत्पादनमा बृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा. श्रीराम घिमिरेले जानकारी दिए। ढिमे, डाँडागाउँ, लहँ, खलङ्गा, खगेनकोट, पैक, झाप्रा, कार्कीगाउँ, पुन्मा, भुरलगायत गाविसमा सुन्तला उत्पादनमा बृद्धि भएको हो।

सुन्तलाखेतीको लागि अनुकूल मौसम भएकाले पनि किसानले फाइदा पाएका हुन्। जिल्लाको ३६० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तार गरिएको छ। १ सय ८० हेक्टरमा ९ करोड १२ लाखको १ हजार ८ सय २४ मेट्रिक टन सुन्तला उत्पादन भएको घिमिरेले बताए।

सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसान स्वाभलम्वी बनेका छन्। सुन्तलाखेती गर्ने किसानको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ। कृषकले वार्षिक रुपमा र एक लाखदेखि ६ लाखसम्म आम्दानी गर्ने गरेका छन्। सुन्तलाखेतीको पकेट क्षेत्र दम्दाला गाउँमा मात्र एक करोडको सुन्तला उत्पादन भएको छ।

परम्परागत मकै, गहुँ, जौ, कोदो, फापर लगाउने खेतबारीमा कृषकले सुन्तलाखेती गर्न थालेका छन्। कृषकले बोटबाटै सुन्तला प्रतिकिलो  ५० रुपैयाँमा बिक्री गर्दैआएका छन्। उक्त सुन्तला बजारमा  ८० देखि ९० रुपैयाँमा बिक्री हुने गरेको छ। यहाँ उत्पादन भएको सुन्तला जुम्ला, डोल्पा, रुकुम, सुर्खेत तथा स्थानीय बजारमा खपत हुँदै आएका छन्।


 

More form the Internet

loading...