Suvadin, Home
द्वन्द्वका समयमा जिल्ला सदरमुकाम तथा सहरी क्षेत्रमा सुरक्षित ठाउँमा सारिएका सरकारी बैंकका शाखा पुनर्स्थापना हुने भएका छन्। सर्वसाधारणको गुनासो बढेपछि अर्थमन्त्रालयले यसबारे चासो देखाउँदै पुनर्स्थापनाका लागि निर्देशन दिएको हो। मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बिहीबार मन्त्रालयमै बोलाएर निर्देशन दिएको जनाएको छ।

काठमाडौं, माघ १४


द्वन्द्वका समयमा जिल्ला सदरमुकाम तथा सहरी क्षेत्रमा सुरक्षित ठाउँमा सारिएका सरकारी बैंकका शाखा पुनर्स्थापना हुने भएका छन्। सर्वसाधारणको गुनासो बढेपछि अर्थमन्त्रालयले यसबारे चासो देखाउँदै पुनर्स्थापनाका लागि निर्देशन दिएको हो।

मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बिहीबार मन्त्रालयमै बोलाएर निर्देशन दिएको जनाएको छ। अर्थसचिव डा. शान्तराज सुवेदीले तीन वटै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई मन्त्रालयमा बोलाएर द्वन्द्वमा विस्थापन भएका बैंक शाखा पुनःस्थापना गर्न निर्देशन दिएका थिए।

दुर्गम तथा पछाडि परेका क्षेत्रमा वित्तीय सेवा पुर्याउने संस्थाले सुगम र सहर केन्द्रित भएर सेवा प्रदान गर्दा सरकारको सबै जनतालाई बैंक तथा वित्तीय सेवा पुर्याउने र ‘एक व्यक्ति एक बैंक खाता’ नीति कार्यान्वयनमा समेत कठिन हुने सचिव सुवेदीले बताएका छन्।

आवश्यकताअनुसार थप शाखा विस्तार गर्न, मोबाइल बैंकका माध्यमबाट सेवा उपलब्ध गराउन तथा सहरमा विद्युतीय प्रणालीमार्फत अनलाइन भुक्तानी प्रणाली लागू गर्नसमेत निर्देशन दिएको मन्त्रालयका सहसचिव आनन्दराज ढकालले जानकारी दिएका छन्।

सचिव सुवेदीले बैंक शाखाहरु पुनःस्थापना गर्दा तीनैवटा बैंकले समन्वय गरी जनताको माग, व्यावसायिक कारोबार एवम सेवा विस्तारलाई ध्यानमा राखेर  दोहोरो नपर्ने गरी स्थापना गर्न निर्देशन दिएका छन्।

द्वन्द्वको समयमा नेपाल बैंक लिमिटेडका ९०, राष्ट्रिय वाणिज्य बैंकका एकसय आठ र कृषि विकास बैंकका ७५ गरी दुईसय ७३ बैंक शाखा विस्थापित भएका थिए। अहिलेसम्म नेपाल बैंक ३०, राष्ट्रिय वाणिज्य बैंकका ५१ र कृषि विकास बैंकका ७० गरी एकसय ५१ बैंक शाखा पुनःस्थापना भएको पनि अर्थमन्त्रालयले जनाएको छ।

निर्देशनपछि ती बैंकका प्रमुख कार्यकारी अधिकृतले त्यसका लागि बैंकले प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस


 

More form the Internet

loading...