Suvadin, Home

सिरहामा चिनी मिल सञ्चालन, किसान उत्साहित

मिलले गत मङ्सिर २० गतेदेखि चिनी उत्पादन थालेको हो । उक्त मिलले करिब ३ हजार ५० जनालाई रोजगारी दिएको छ । मिल सञ्चालन भएको दुई महिनाकै अवधिमा २० हजार क्विन्टल चिनी उत्पादन गरी बिक्री गरेको मिलका उखु प्रबन्धक अवधकिशोर यादवले जानकारी दिएका छन्।
उखु ट्रकमा लाेड गर्दै किसान। तस्विरः एजेन्सी

लहान, फागुन ६– केही महिना अघिसम्म निराश सिरहा, चन्द्रयोध्यापुर – ४ का असर्फी महतो अहिले निकै उत्साहित छन् । चन्द्रअयोध्यापुरमै हिमालय चिनी मिल सञ्चालनमा आएपछि उनी खुसी भएका हुन् । विगतमा नजिकमा चिनी मिल नभएका कारण उनलाई उखु ढुवानी गर्न कठिनाई हुने गरेको थियो।

मिलबाट उचित मुल्य नपाएका कारण पनि निराश थिए । ‘कष्ट खेपेर चिनी मिलसम्म उखु पुर्याएपनि मिलले समयमा रकम दिदैनथ्यो,’ उनले भने । गाउँमै चिनी मिल खुलेपछि अब महतोलाई उखु अन्यत्र पुर्याउनुपर्ने झन्झट हटेको छ । ‘उखु ढुवानी गर्न सहज भएको छ,’ महतोले भने।

हिमालय चिनी मिलबाट समयमै उखुको मुल्य पाउन थालेकाले उखुखेती गर्न उत्साह बढेको उनको भनार्इ छ । जिल्लामा चिनी मिल नुहँदा महोत्तरीको एभरेष्ट चिनी मिलसम्म उखु पुर्याउँदै आएका बिष्णुपुरका सन्तलाल साह पनि गाउँ नजिकै चिनी मिल खुलेपछि खुसी छन् । ‘मिलले समयमा उखुको मुल्य नदिँदा उखुखेती नै छाड्ने अवस्थामा पुगेको थिए,’ उनले भने।

आफ्नै गाउँमा चिनी मिल खुलेपछि उखुको ढुवानी सहज र सस्तो भएको चन्द्रअयोध्यापुरका सोभित महतोको भनार्इ छ । चन्द्रयोध्यापुरमा हिमालय चिनी मिल सञ्चालनमा आएपछि सिरहा र सप्तरीका उखु किसान हर्षित भएका छन्।

मिलले गत मङ्सिर २० गतेदेखि चिनी उत्पादन थालेको हो । उक्त मिलले करिब ३ हजार ५० जनालाई रोजगारी दिएको छ । मिल सञ्चालन भएको दुई महिनाकै अवधिमा २० हजार क्विन्टल चिनी उत्पादन गरी बिक्री गरेको मिलका उखु प्रबन्धक अवधकिशोर यादवले जानकारी दिएका छन्।

किसानलाई समयमा उखुको सुपथ मूल्यसँगै बीउ तथा सिँचाइ सुविधामा अनुदान दिँदै आएको उनले बताए । मिलले अहिले उखु प्रतिक्विन्टल ५ सय १७ रुपैयामा खरिद गर्दै आएको छ ।
सिरहा, सप्तरी, धनुषा र सर्लाहीका साथै छिमेकी मुलुक भारतका कतिपय ठाउँबाट समेत उखु मिलसम्म ल्याउने गरिएको छ।

जिल्लामा करिब २५ हजार बिगाहा जग्गामा उखु खेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। रासस


 

More form the Internet

loading...