Suvadin, Home

चन्द्रागिरिमा मदन स्मृति रंगशाला

चन्द्रागिरि नगरपालिकाको ठूलो ढुंगामा मदन स्मृति रंगशाला निर्माण हुने भएको छ। स्थानीय वन उपभोक्ता समितिको स्वामित्वको जग्गामा रंगशाला बन्ने भएको हो। सुरुआतमा जग्गालाई सम्याएर मैदान बनाइएको छ। मदन भण्डारी स्पोर्ट्स एकेडेमीको अग्रसरतामा निर्माण सुरु गरिएको हो। तस्बिर अनावरण गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले रंगशालाको उद्घाटन गरे।
रंगशालाको उदघाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा अोली।

काठमाडौं, पुस २४


चन्द्रागिरि नगरपालिकाको ठूलो ढुंगामा मदन स्मृति रंगशाला निर्माण हुने भएको छ। स्थानीय वन उपभोक्ता समितिको स्वामित्वको जग्गामा रंगशाला बन्ने भएको हो।

सुरुआतमा जग्गालाई सम्याएर मैदान बनाइएको छ। मदन भण्डारी स्पोर्ट्स एकेडेमीको अग्रसरतामा निर्माण सुरु गरिएको हो। तस्बिर अनावरण गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले रंगशालाको उद्घाटन गरे।

एकेडेमी अध्यक्ष विनोद श्रेष्ठले बहुउद्देश्यीय रंगशाला निर्माण गरेर  हालको दशरथ रंगशालाको विकल्प दिइने बताए । एकेडेमी, वन उपभोक्ता समिति र चन्द्रागिरी विकास मञ्चको संयुक्त पहलमा निर्माण सम्पन्न हुनेछ।

एमाले अध्यक्ष ओलीले रंगशाला निर्माणको सुरुआत हुनु खेलकुदमा नयाँ अध्याय थपिनु भएको बताए । सानो आकारमा निर्माण सुरु गरिएको रंगशालाले भविष्यमा ठूलो रुप लिने उनको भनाइ थियो।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले स्थापनाको छोटो अवधिमा एकेडेमीले खेलकुदको क्षेत्रमा प्रशंसनीय काम गरेको बताउँदै रंगशाला निर्माणका लागि परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

एकेडेमीको विजयी सुरुआत

एकेडेमीकै आयोजनामा शनिबारदेखि सुरु प्रथम मदन स्पोर्ट्स कप नाइन ए साइड भेट्रान नक आउट फुटबल प्रतियोगितामा आयोजक एकेडेमीले विजयी सुरुआत गरेको छ।

उद्घाटन खेलमा एकेडेमीले साइनिङ सन फुटबल एकेडेमी, कैलालीलाई ४–१ गोल अन्तरले पराजित गर्यो। ‘म्यान अफ द म्याच’ चुनिएका एकेडेमीका नरेन्द्र श्रेष्ठले २ तथा निमा लामाले १ गोल गरे। एक गोल आत्माघाती रह्यो। साइनिङका साजन बस्नेतले सान्त्वना गोल फर्काए। चार दिने प्रतियोगितामा मोफसलका ३ सहित ८ टिम सहभागी छन्।

आजदेखि मिडिया कप

नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा आजदेखि आठौं मिडिया कप फुटबल प्रतियोगिता सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा ७ टिमको सहभागिता रहने संग्रहालयका संस्थापक अध्यक्ष क्षितिजअरुण श्रेष्ठले जनाए।

सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ। समूह ‘ए’ मा नेपाल टेलिभिजन, डिफेन्डिङ च्याम्पियन कान्तिपुर मिडिया ग्रुप, एभिन्युज र एपी वान टेलिभिजन तथा समूह ‘बी’ मा अन्नपूर्ण पोष्ट, इमेज च्यानल र रेडियो नेपाल छन्।

बिजेताले ५० हजार र उपबिजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र अनुशासित टिमलाई समान ५–५ हजार नगद पुरस्कार दिइने छ। उत्कृष्ट खेलाडीलाई सुमन भोमजन स्मृति ट्रफी प्रदान गरिने छ। आज अन्नपूर्णले इमेजको सामना गर्नेछ ।

डिगम र विवेकलाई स्वर्ण

फरक क्षमता भएको व्यक्तिहरुको अपाङ्ग खेलकुद प्रतियोगिताको व्हिलचेयर टेबलटेनिसमा डिगमसिंह चेम्जोङ पहिलो भएका छन्।

नेपाल पारा ओलम्पिक कमिटीको आयोजनामा ओखलढुंगाको रुम्जाटारमा भएको फइनलमा डिगमले लक्ष्मण राना मगरलाई ४–३ को सेटमा पराजित गरे। टेबलटेनिसकै शारीरिक अपाङ्गतर्फ विवेक राई पहिलो भए। उनले फाइनलमा मनोज थापालाई ४–० को सोझो सेटमा हराए।

व्हिलचेयर बास्केटबलको पुरुषमा जावलाखेल पहिलो, बीआईए फाउन्डेसन दोश्रो र डब्लुएसए तेस्रो भए। सोही स्पर्धाको महिलामा ओखल्ढुंगाले स्वर्ण र रुम्जाटारले रजत हात पारेको आयोजक पारा ओलम्पिक कमिटीका महासचिव कुमार पौडेलले जनाएका छन्। विजेतालाई ओखल्ढुंगाका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।

पर्शुराम सम्मानित

काठमाडौं जेसिजले राष्ट्रिय कराते खेलाडी पर्शुराम बाँस्तोलालाई  सम्मान गरेको छ। जेसिजको ४७ औं पदस्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रममा जेसिजका अध्यक्ष दीपक भण्डारीले पर्शुरामलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै राष्ट्रको पहिचान अभिबृद्धि गर्न सफल भएको तथा पाँचौं, छैठाैं र सातौं राष्ट्रिय खेलकुदको कराँतेतर्फ एकल कातामा लगातार स्वर्ण जित्न सफल भएकोमा पर्शुरामलाई सम्मान गरिएको जेसीजले जनाएको छ।

 

More form the Internet

loading...