Suvadin, Home

एकताकलीलाई हात्ती सुन्दरीको ताज, शृङ्गारमा उत्कृष्ट पुनम

ओँठमा लाली छ, नङमा पालिस। खुट्टामा रङकै पाउजु। सलक्क परेको शरीरमा विभिन्न आकृतिका फूलका बुट्टा। विभिन्न रङ्ग भरेर नङ आकर्षक पारिएको छ। अनुहारमा देखिएको पुत्ला पनि मनै लोभिने। क्याटवाक हेर्दै उपाधि जित्ने खालकी देखिएकी ३० वर्षकी एकताकली नभन्दै सुन्दरीको ताज पहिरिन सफल भइन्।
चितवनको सौराहामा बिहीबार भएको हात्ती सुन्दरी प्रतियोगितामा तीन हात्ती सहभागी। तस्बिरः नारायण ढुंगाना/रासस

चितवन, पुस १५


ओँठमा लाली छ, नङमा पालिस। खुट्टामा रङकै पाउजु। सलक्क परेको शरीरमा विभिन्न आकृतिका फूलका बुट्टा। विभिन्न रङ्ग भरेर नङ आकर्षक पारिएको छ। अनुहारमा देखिएको पुत्ला पनि मनै लोभिने। क्याटवाक हेर्दै उपाधि जित्ने खालकी देखिएकी ३० वर्षकी एकताकली नभन्दै सुन्दरीको ताज पहिरिन सफल भइन्।

दुःख गरेरै सुन्दरी बनाएर ल्याएको बताउने उनका माहुत जेवरलाल पासवान भन्छन्, ‘नभन्दै जित्यो, खुसी छु।’

निर्णायक डा. कमल गैंरे, किरण रिजाल र परमानन्द गर्गले भनेका कुरा एकताले काटिनन्। बसाउँदा समेत सजिलै बसिन् भने भुइँमा झरेको लठ्ठी टिप्नदेखि दर्शकलाई नमस्कार गर्नसमेत एकताले सहजै मानिन्। सबै कुराले ‘परफेक्ट’ हुँदा एकताले ‘ब्युटी’को ताज उचालेकी निर्णायक सदस्य किरण रिजालले बताए। उनले ८३ अङ्क प्राप्त गरिन्।

चितवनको सौराहामा जारी हात्ती महोत्सवका क्रममा बिहीबार भएको हात्ती सुन्दरी प्रतियोगितामा पाँच हात्तीलाई उछिन्दै एकताकलीले सुन्दरीको ताज पहिरिएकी हुन्। सुन्दरी प्रतियोगितामा १५ वर्षकी पुष्पाकली ७३ अङ्कको साथमा फस्ट रनरअप भइन् भने ११ वर्षकी सेल्फीकली ६९ अङ्कका साथ सेकेन्ड रनरअफमै चित्त बुझाइन्।

एलिसा र बिजुलीकली भने पहिलो चरणबाटै बाहिरिएकी सुन्दरी प्रतियोगिता उपसमितिका संयोजक दामोदर रेग्मीले बताए। सेल्फीका लागि पहिलो अनुभव हो भने अन्य दुई हात्ती विगतमा पनि सहभागी थिए। अहिले उनीहरु हात्ती दौड र पोलोमा पनि सहभागी छन्।

निर्णायक संयोजक डा. कमल गैरे हात्तीको क्याटवाक, हाउभाउ, बानीबेहोरा, घाउ छ कि छैन, माहुतले भनेको कति मान्छ सबै कुरालाई मूल्याङ्कन गरेर सुन्दरी छनोट गरिएको बताउँछन्। हात्ती शृङ्गारतर्फ पुनमकलीले बाजी मारेकी छिन्। सुन्दरकली र पिङ्कीकलीलाई पछि पार्दै पुनमले शृङ्गारको उपाधि जितिन्। हात्तीका माहुतले हात्तीमा बुट्टा भरेर आकर्षक बनाएपछि पुनम बिजेता बनेकी शृङ्गार कार्यक्रम संयोजक योगेश अधिकारीले जानकारी दिए।

शुक्रबार सकिने महोत्सवअन्तर्गत आज फाइनल चरणको हात्ती दौड, हात्तीपोलो र हात्तीका छावाको फुटबल हुने क्षेत्रीय होटल सङ्घका महासचिव राममणि खनालले जानकारी दिए। रासस


 

More form the Internet

loading...