Suvadin, Home

संविधान संशोधन पारित हुनै महिना लाग्ने

संसद सचिवालयले मंगलबार विधेयकको प्रक्रिया पूरा गर्न मात्रै कम्तीमा १५ दिन लाग्ने जानकारी दिएको हो। संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले संसदमा पेश भएपछि दफावार छलफलअघि नै सर्वसाधारणको जानकारीका लागि सार्वजनिक रुपमा प्रकाशित गर्नुपर्ने बताए।
संसद।

काठमाडाैं, पुस २६


विवादका बीच सरकारले संसदमा आइतबार पेश गरेको संविधान संसोधन दोस्रो विधेयक पारित हुन एक महिना लाग्ने भएको छ।

संसद सचिवालयले मंगलबार विधेयकको प्रक्रिया पूरा गर्न मात्रै कम्तीमा १५ दिन लाग्ने जानकारी दिएको हो। संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले संसदमा पेश भएपछि दफावार छलफलअघि नै सर्वसाधारणको जानकारीका लागि सार्वजनिक रुपमा प्रकाशित गर्नुपर्ने बताए।

उनले दफावार छलफल र संसोधनलगायतका विभिन्न प्रक्रिया पूरा गर्दा करिब एक महिनामा मात्र संविधान संसोधन प्रक्रिया पूरा हुने जानकारी दिए। ‘संविधान संशोधन विधेयक अन्य विधेयकभन्दा फरक भएकाले पनि दलहरुबीच समग्र प्रक्रियामा नै सहमति जुटाउन आवश्यक हुन्छ,’ उनले भने।

संसदमा पेश भएको विधेयकमाथि तीन दिनभित्र सैद्धान्तिक छलफल भएपछि विशेष समिति बनाएर वा सिधै संसदमा पुन छलफल गर्ने प्रक्रिया दलहरुले नै निर्धारण गर्ने प्रवक्ता गौतमले जानकारी दिएका छन्। अन्य विधेयकको दफावार छलफलपछि ध्वनी मतबाट निर्णयार्थ पेश गरेपनि संविधान संसोधन विधेयकमा दुई तिहाइ सदस्यले हस्ताक्षर गरेपछि मात्र निर्णयार्थ पेश गर्न सकिने कानुनी व्यवस्था छ।

सर्वसाधारणलाई जानकारी

यस्तै, आइतबार संसदमा पेश भएको संविधान संशोधन दोस्रो विधेयकलाई सर्वसाधारणको जानकारीका लागि आमसञ्चार माध्याममा प्रकाशित गरिएको छ ।

संसद सचिवालयले संविधानमा भएको प्रावधान अनुसार सर्वसाधारणको जानकारीका लागि आम संचार माध्याममार्फत सूचना जारी गरेको हो। संविधानको धारा २७४ को उपधारा ३ मा संसोधनका लागि संसदमा पेश भएको विधेयक एक महिनाभित्र सर्वसाधारणको जानकारीका लागि सार्वजनिक रुपमा प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था छ। प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित विपक्ष नौं दलको अवरोधका बीच सरकारले गत आइतबार संविधान संसोधन विधेयक संसदमा पेश गरेको थियो।

 


 

More form the Internet

loading...