Suvadin, Home

निजी अस्पतालमा पनि १० प्रतिशत विरामीले निशुल्क सेवा पाउने 


काठमाडौँ, मंसिर २७ 

सरकारले निजी अस्पताल तथा सामुदायिक नसिङ्ग केन्द्रले विपन्न तथा असहायत १० प्रतिशत विरामीलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्नु पर्ने व्यवस्था गरेको छ । 
स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री गगन कुमार थापाले यस्तो व्यवस्था अगामी पुस १ गते देखि कडाइका साथ लागू हुने जानकारी दिएका हुन् । गाविस नगरपालिका वा सम्बन्धित जिल्ला प्रशासन वा अस्पताल स्वयंले त्यस्ता व्यक्तिको सिफारिस गर्ने र अपरेशन बाहेक औषधी, जाँच अरु सेवामा त्यस्ता विरामीलाई पूर्ण निःशुल्क उपचार गर्नु पर्ने  व्यवस्था मिलाइएको उनले बताए । सहुलियत दिइएको रेकर्ड सम्बन्धीत अस्पताल वा स्वास्थ्य संस्थाले सार्वजनिक रुपमा टाँस्ने व्यवस्था समेत गर्नु पर्ने छ । सुशासन ऐन २०६४ र स्वास्थ्य सेवा निर्देशिका २०७० माथि टेकेर सरकारले निजी स्वास्थ्य संस्थाहरुको सहमतिमा यस्तो व्यवस्था गरेको हो ।‘‘यो व्यवस्थाको कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयले सचिवको नेतृत्वमा छुटै संयन्त्र बनाएर हरेक महिना सेवा लिने, दिने व्यक्ति र संस्थाको नाम सार्वजनिक गर्ने छ ’’ मन्त्री थापाले भने । 

दर्ता र नवीकरण नभएका ६० प्रतिशत स्वास्थ्य संस्था बन्द गरिने 
स्वास्थ्य मन्त्री गगन कुमार थापाले सञ्चालन अनुमति नलिएका र दर्ता पनि नभएका स्वास्थ्य संस्थाहरु बन्द गर्ने बताएका छन् ।
आज स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा ६० प्रतिशत स्वास्थ्य संस्थाहरु सञ्चालन अनुमति नलिएका र दर्ता पनि नभएको पाइएकोले तिनीहरुलाई माघ मशान्तसम्म बन्द गराइने जानकारी दिएका हुन्  । 
‘‘सञ्चालन अनुमति लिनका लागि माघसम्मको समय सीमा दिइएको र त्यो अवधिसम्म दर्ता नभएका र सञ्चालन अनुमति नलिनेलाई बन्द गरिने छ’’ उनले भने । त्यस्ता स्वास्थ्य संस्थाले राज्यलाई राजश्व छल्ने तथा विरामीको उपचारमा बद्मासी गरिरहेका कारण तिनीहरुलाई व्यवस्थित गर्न मन्त्रालयले यस्तो कडा नीति अबलम्बन गर्न लागेको पनि मन्त्री थापाले बताए ।


 

More form the Internet

loading...