Suvadin, Home

नलसिङगाड जलविद्युत आयोजनाको ‘सम्भाव्यता अध्ययनमै भ्रष्टाचार’

व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले नलसिङगाड जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन लगायतमा भएको अनियमितता छानविन गर्न उपसमिति गठन गर्ने भएको छ। समितिको आइतबार बसेको बैठकले आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत इन्जिनियरिङ सर्वेक्षण तथा वातावरणीय प्रभाव मूल्यांकन अध्ययनको परामर्श दाता छनौटमा देखिएको अनियमितताका सम्बन्धमा छानवीन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको हो।

काठमाडौं, चैत ६- व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले नलसिङगाड जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन लगायतमा भएको अनियमितता छानविन गर्न उपसमिति गठन गर्ने भएको छ।

समितिको आइतबार बसेको बैठकले आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत इन्जिनियरिङ सर्वेक्षण तथा वातावरणीय प्रभाव मूल्यांकन अध्ययनको परामर्श दाता छनौटमा देखिएको अनियमितताका सम्बन्धमा छानवीन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको हो।

जाजरकोटमा निर्माणाधिन ४ सय १० मेघावाट आयोजनाको सम्भाव्यता अध्ययनका लागि परामर्श दाता छनौटमा देखिएको अनियमितता छानवीनका लागि उपसमिति गठन गर्ने निर्णय लिइएको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिएका छन्।

समितिको अर्को बैठकले उपसमितिका सदस्यहरु चयन गर्नेछ। उपसमितिलाई एक महिना भित्र सो सम्बन्धमा छानविन गरी प्रतिवेदन तयार पार्ने कार्यादेश दिइएको छ। आयोजनाका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरले दिएको स्पष्टि करण चित्त नबुझेपछि समितिले सो सम्बन्धमा छानवीन गर्न उपसमितिनै बनाउने निर्णय गरेको हो।

समितिको बैठकमा आयोजनाका कार्यकारी निर्देशक कुँवरले खरिद नियमावलीको दफा ३७ अनुसार परामर्श दाता छनौट गरिएको स्पष्टिकरण दिएका थिए। उनले प्राविधिक र आर्थिक रुपमा उपयुक्त लागेर नै अमेरिकन र अष्ट्रेलियन दुई कम्पनीलाई आयोजनाको सम्भाव्यता अध्ययन परामर्श दाता छनौटका बोलाउनु परेको पनि जिकीर गरे।

छनौट प्रक्रियामा आशंका देखिएको भन्दै समाचार आउन थालेपछि आयोजनाको तर्फबाट उर्जा मन्त्रालय, संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत स्पष्टिकरणसहितको पत्र दिइएको पनि स्मरण गराएका थिए।

बैठकमा समितिका सदस्यहरुले आयोजनाको परामर्श दाता छनौटमा आर्थिक चलखेल देखिएको भन्दै आपत्ति जनाएका थिए। उनीहरुले अध्ययनका लागि परामर्श दाताहरुसँग बार्गेनिङ गर्ने अधिकार आयोजनालाई कसले दियो ? भनी प्रश्न पनि गरेका छन्।

समितिका सदस्यहरुले कम खर्चमा सम्भाव्यता अध्ययन गर्ने परामर्श दातालाई छनौट नगरिएको भन्दै आपत्ति पनि जनाए। कम मूल्यमा सम्भाव्यता अध्ययन गर्ने प्रतिवद्धता जनाएको कम्पनीलाई छनौट नगरी बढि लागत पर्ने कम्पनी स्मेक जेभीलाई छनौट गरेपछि परामर्श दाता छनौटमा अनियमितता भएको भन्दै समितिमा उजुरी परेको थियो।

सो सम्बन्धमा यथार्थ जानकारी दिन समितिले आयोजनालाई पटक-पटक ताकेता गर्दै आएको थियो। समितिले दिइएको जानकारी चित्त बुझ्दो नभएपछि त्यस सम्बन्धमा छानविन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको हो।

जाजरकोटमा रहेको यो ४ सय १० मेगावाटको निर्माणाधिन जलविद्युत आयोजना हो। सरकारले यसको निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउने तयारी पनि गरेको छ।


 

More form the Internet

loading...