Suvadin, Home
चिकित्सकहरूले निरन्तरको तनावले मानिसहरूमा मुटुसम्बन्धी रोग र मस्तिष्कघातको जोखिम कसरी बढाउँछ भन्ने विषयमा आफूहरू नयाँ जानकारीको नजिक पुगेको बताएका छन्। उनीहरुले डर र रिसजस्ता भावनाहरुमा प्रतिक्रिया जनाउने मस्तिष्को क्षेत्रमा बढी गतिविधि हुँदा बोन म्यारोले ‘व्हाइट ब्लड सेल’ भनिने रक्त कोशिकाहरुको बढी उत्पादन गर्ने तथ्य पत्ता लगाएका छन्।

काठमाडौं, पुस २८


चिकित्सकहरूले निरन्तरको तनावले मानिसहरूमा मुटुसम्बन्धी रोग र मस्तिष्कघातको जोखिम कसरी बढाउँछ भन्ने विषयमा आफूहरू नयाँ जानकारीको नजिक पुगेको बताएका छन्।

उनीहरुले डर र रिसजस्ता भावनाहरुमा प्रतिक्रिया जनाउने मस्तिष्को क्षेत्रमा बढी गतिविधि हुँदा बोन म्यारोले ‘व्हाइट ब्लड सेल’ भनिने रक्त कोशिकाहरुको बढी उत्पादन गर्ने तथ्य पत्ता लगाएका छन्।

त्यसले गर्दा हृदयबाट विभिन्न अंगमा रगत जाने धमनीमा ठाउँ-ठाउँमा अवरोध हुने सम्भावना बढी रहने चिकित्सकहरू बताउँछन्।

तीन सय मानिसहरूको मस्तिष्कको चार वर्ष लगाएर गरिएको अध्ययनपछि यो निचोड सार्वजनिक गरिएको हो।

मस्तिष्कभित्र रहेको बदाम आकारको खैरो वस्तु रहने एउटा हिस्साले मानवीय संवेदनाहरूमा प्रतिक्रिया जनाउने गर्दछ।

उक्त क्षेत्रमा बढी गतिविधि हुने व्यक्तिहरुमा अरु व्यक्ति भन्दा चाँडो मुटुसँग सम्बन्धित रोगहरु लाग्ने वैज्ञानिकहरु बताउँछन्।

अमेरिकी अनुसन्धानकर्ताहरूले तनावबाट धूमपान र उच्च रक्तचाप जत्तिकै तहमा जोखिम निम्तन सक्ने जनाएका छन्।

मुटुसम्बन्धी रोगका विशेषज्ञहरूले जोखिम रहेका बिरामीहरूलाई तनाव व्यवस्थापन गर्न सहयोग गरिनुपर्ने बताएका छन्।

भावनात्मक तनावलाई लामो समयदेखि मुटुसम्बन्धी रोगहरूको जोखिम बढाउने एउटा कारण मानिँदै आएको थियो तर कसरी त्यस्तो प्रभाव पर्छ भन्ने कुरा राम्ररी बुझिएको थिएन।

हार्भड मेडिकल स्कूलको समूहले गरेको अहिलेको अध्ययनले डर र रिसमा प्रतिक्रिया जनाउने मानव मस्तिष्कको क्षेत्रमा हुने गतिविधिले सो कुरा बुझ्न मद्दत गर्ने उल्लेख गरेको छ।

अनुसन्धानकर्ताहरु भन्छन्, ‘मस्तिष्कको उक्त क्षेत्रमा बढि गतिविधि हुँदा ‘बोन म्यारो’ भनिने हड्डीभित्रका तन्तुले थप ‘व्हाइट ब्लड सेल’ नामक रक्त कोशिकाहरु उत्पादन गर्छन् जसका कारण धमनी संक्रमित हुन्छ।

त्यसको कारणले हृदयाघात, एन्जाइना भनिने छाती दुख्ने समस्या र मस्तिष्कघातजस्ता समस्या देखिन सक्छन्।

‘द ल्यान्सेट’मा प्रकाशित अनुसन्धानहरूले दुईवटा अध्ययन गरेको देखिन्छ।

पहिलोमा, २ सय ९३ जना बिरामीको मस्तिष्क, ‘बोन म्यारो’, फियो र धमनीको अध्ययन गरी झण्डै चार वर्षसम्म उनीहरूलाई कुनै मुटुसम्बन्धी रोग देखिए वा नदेखिएको अध्ययन गरिएको थियो।

त्यसक्रममा २२ जनामा रोग देखिएको थियो र उनीहरुको तनावका कारण सक्रिय हुने मस्तिष्कको क्षेत्रमा बढी गतिविधि भएको पाइएको थियो।

सानो समूहमा १३ जना बिरामीमा गरिएको दोस्रो अध्ययनमा तनावको तह र त्यसले शरीरमा हुने संक्रमणबारे अध्ययन गरिएको थियो।

त्यसक्रममा बढी तनाव लिने व्यक्तिहरुमा, मस्तिष्कको तनावमा प्रतिक्रिया जनाउने क्षेत्रमा बढी गतिविधि हुने र रगत र धमनीमा पनि बढी संक्रमण देखिने पाइएको थियो।

अनुसन्धानकर्ताहरूले हालैका वर्षहरूमा बढी भन्दा बढी मानिसहरु तनावको समस्याबाट पीडित रहेको बताउँदै आएका छन्।

पछिल्लो अध्ययनको निष्कर्षसँगै उनीहरुले धूमपान तथा मदिरापान बाहेक अब मुटुसम्बन्धी रोगहरुको जोखिम न्यूनीकरणका लागि तनाव कम लिने उपायहरु अवलम्बन गरिनुपर्ने सुझाव दिइरहेका छन्। (बिबिसीबाट)


 

More form the Internet

loading...