Suvadin, Home

सेतो डङ्गुर गिद्धः विश्वकै सम्पत्ति

सङ्कटापन्न अवस्थामा रहेको सेतो डङ्गुर गिद्ध संरक्षणको प्रयास सफल बन्दै गएको छ। चितवन राष्ट्रिय निकुञ्जभित्र सन् २००७ देखि प्रजनन केन्द्र स्थापना गरी सङ्ख्या बढाउन प्रयास हुँदै आएको छ।
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध प्रजनन केन्द्रमा सिसि क्यामराबाट लिइएको बच्चासहितको गिद्ध। तस्बिरः नारायण अधिकारी/ रासस

चितवन, फागुन २२ – सङ्कटापन्न अवस्थामा रहेको सेतो डङ्गुर गिद्ध संरक्षणको प्रयास सफल बन्दै गएको छ। चितवन राष्ट्रिय निकुञ्जभित्र सन् २००७ देखि प्रजनन केन्द्र स्थापना गरी सङ्ख्या बढाउन प्रयास हुँदै आएको छ।

यसअघि गत वर्ष प्रजनन केन्द्रमा एउटा बच्चा कोरलिएको पनि बचेको थिएन भने यस वर्षको जनवरीयता नौ बच्चा कोरलिएको हो। दुई वर्षअघि एउटा बच्चा हुर्किएको थियो। 

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार हाल प्रजनन केन्द्रमा २५ भाले र ३१ पोथी गिद्ध छन्। यस वर्ष १५ पोथीले फुल पारे पनि नौ बच्चा मात्र कोरलिएको छ।

प्रजनन केन्द्रका चार खोरमा गिद्ध राखिएको छ। दुई खोर बच्चा कोरल्न र अन्य दुई खोर बच्चा नकोरल्ने गिद्धलाई राखिएको छ। सुरुआतमा देशका विभिन्न क्षेत्रबाट गिद्धका बच्चा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याइएको खड्काले बताए। 

प्रजनन केन्द्रमा फुल नपारेका ११ पोथी गिद्धका जोडीमध्ये छ जोडीलाई नवलपरासीको नमुना सामुदायिक वनमा रहेको जटायु रेस्टुरेन्टमा छाड्ने तयारी गरिएको छ। राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले हाल नौ बच्चा जन्मनु महत्वपूर्ण उपलब्धिका रुपमा लिनुपर्ने बताएका छन्।

यहाँका छ जोडी र जटायु रेस्टुरेन्टका छ जोडीलाई ‘ट्याग’ लगाएर छाड्ने तयारी गरिएको छ । कमजोर र फुल नपारेका ती गिद्धलाई नियमित अनुगमन गरिने छ। गिद्धको सामान्य आयु ४० वर्ष हुन्छ।

निकुञ्ज विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पक्षी संरक्षण सङ्घको सक्रियतामा कसरामा गिद्धको सङ्ख्या बढाउने उद्देश्यले प्रजनन केन्द्र सञ्चालन हुँदै आएको छ। केन्द्रमा रहेका गिद्धलाई राँगाको मासु खुवाउने गरिन्छ।

खड्काका अनुसार एउटा गिद्धलाई एक महिनामा दुई पटक गरेर सरदर ३० किलो मासु खुवाउने गरिन्छ। यो हिसाबले केन्द्रमा रहेका ५६ गिद्धलाई मासिक एक क्विन्टल छ सय ८० किलो मासु खुवाइँदै आएको छ।

गिद्धका लागि एक भेटनरी चिकित्सक र तीन हेरालु राखिएको छ। गिद्ध संरक्षणका लागि दातासँग मिलेर सरकारले ठूलो रकम खर्च गर्दै आएको छ। हाल बच्चा कोरलेसँगै यसलाई सफलताका रुपमा विज्ञले लिएका छन्।

चरामध्ये गिद्ध अनौठो प्रजातिमा पर्छ। बच्चा कोरलेपछि पोथीले फुल पार्न चार वर्ष कुर्नुपर्छ । यसले वर्षमा एक पटक मात्रै फुल पार्छ। नेपाल बर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष वासु बिंडारीले विश्वबाटै लोप हुन लागेको गिद्धका नौ बच्चा कोरल्नुलाई निकै सफलताका रुपमा लिइएको बताएका छन्।


 

More form the Internet

loading...