Suvadin, Home

यसरी जोगाउन सकिन्छ मिर्गाैला

मिर्गौलाले हाम्रो शरीरको रगतलाई शुद्ध पार्ने काम गर्दछ। मिर्गौलाले नाइट्राेजनयुक्त पदार्थहरू जस्तै: युरिया, युरिक अम्ल र अकार्वनिक लवक्षणहरू क्याल्सियम, म्यानेसियम, पोटासियम र सोडियम आदिलाई पिसाबको माध्यमबाट निष्कासन गर्ने काम गर्छ। मिर्गौलाले शरीरमा बढी भएको पानी उत्सर्जन गरी शरीर सन्तुलित राख्छ। शरीरलाई बढी भएका तत्वलाई हटाउने र आवश्यक तत्वको संरक्षण गर्ने भएकाले मिर्गौला शरीरको महत्वपूर्ण अंग मानिएको हो।
photo: stanford medicine.com

डा. पुकारचन्द्र श्रेष्ठ


मिर्गौला हाम्रो शरीरको महत्वपूर्ण अंग हो। हाम्रो शरीरमा मिर्गौला पेटको पछिल्लो भित्तामा मेरुदण्डको दुबैतिर सिमीको गेडाको आकारमा हुन्छ। 

मिर्गौलाले हाम्रो शरीरको रगतलाई शुद्ध पार्ने काम गर्दछ। मिर्गौलाले नाइट्राेजनयुक्त पदार्थहरू जस्तै: युरिया, युरिक अम्ल र अकार्वनिक लवक्षणहरू क्याल्सियम, म्यानेसियम, पोटासियम र सोडियम आदिलाई पिसाबको माध्यमबाट निष्कासन गर्ने काम गर्छ। मिर्गौलाले शरीरमा बढी भएको पानी उत्सर्जन गरी शरीर सन्तुलित राख्छ। शरीरलाई बढी भएका तत्वलाई हटाउने र आवश्यक तत्वको संरक्षण गर्ने भएकाले मिर्गौला शरीरको महत्वपूर्ण अंग मानिएको हो।

मिर्गौला हाम्रै आनीबानीका कारण खराब हुन सक्छ। पश्चिमा देशहरुमा ८० प्रतिशत मधुमेह र उच्च रक्तचापका कारण मिर्गौला खराब हुने गरेको पाइएको छ। तर, नेपालमा चाहिँ मिर्गौलामा हुने प्रोटिन चुहिने रोग (क्रोनिक गोलोमेरुलो नेफ्राइटिस) का कारण युवा उमेरदेखि नै मिर्गौला खराब हुने गरेको पाइएको छ। 

सुरूमा हामीलाई मिर्गौला खराब भएको थाहै हुँदैन। शरीरमा ९० प्रतिशत मिर्गौलाले काम गर्न नसक्ने अवस्थामा पुगेपछि बल्ल यसका लक्षणहरू देखा पर्दछन्। मिर्गौला खराब हुँदा शरीर सुन्निने, फोक्सोमा पानी जम्मा हुने, शरीरमा हेमोग्लोविनको मात्रा कम हुँदा शरीर सेतो देखिने तथा मुटुमा असर पार्ने लक्षण देखा पर्दछन्। मिर्गौला खराबीले मुटुलाई पनि प्रत्यक्ष असर पार्दछ र हाम्रो जीवन खतरामा पर्न जान्छ। त्यसैले मिर्गौलालाई स्वस्थ राख्नुपर्छ।

१.जथाभावी औषधी सेवन नगर्ने 

शरीरको दुखाइ कम गर्नका लागि खाने औषधीले मिर्गौलालाई असर पार्छ। त्यसैले आइब्रुप्रोफिन, पलेक्जनजस्ता औषधीको जथाभावी प्रयोग गर्नु हुँदैन।

२. उच्च रक्तचाप, मधुमेहजस्ता रोग लाग्न नदिने 

उच्च रक्तचाप, मधुमेह, पाइलोनेफ्राइटिस अर्थात् मिर्गौलामा हुने इन्फेक्सन, प्रोस्टेटको आकारमा बृद्धि, मिर्गौलामा पत्थरी र मिर्गौलाको क्यान्सरजस्ता रोगबाट जोगिन सकेमात्रै मिर्गौला बचाउन सकिन्छ। त्यसैले रक्तचाप, मधुमेहजस्ता रोग लाग्न नदिन तनाव कम गर्ने साथै नियमित व्यायम गर्नु पर्छ।  शारीरिक रुपमा स्वस्थ र सक्रिय जीवन जिउनुपर्छ। 

३. वर्षमा एक पटक मिर्गौला जाँच गर्ने 

मिर्गौला फेल भइसके पछि जीवनभर डायलाइसिस (थेरापी) गर्नु पर्छ। यस्तो थेरापी साधारण व्यक्तिका लागि नेपालमा महंगो छ। त्यसैले, हामीले हाम्रो मिर्गौला ठीक छ/छैन भन्ने समयमै पाएर त्यसअनुरुपका आचरण गर्नुपर्छ।

४. पिरो, चिल्लो र फास्टफुड नखाने 

धेरै पिरो, चिल्लो र फास्टफुडले हाम्रो शरीरमा विषाक्त पदार्थ जम्मा गरी शरीरको तौल बृद्धि गराउँछ। त्यसैले यस्ता चिजलाई हाम्रो भोजनमा समावेश गर्नु हुँदैन।

५ . सन्तुलित भोजनमा जोड दिने 

मिर्गौलालाई स्वस्थ राख्न हामीले हाम्रो खाना स्वस्थ र सन्तुलित हुनुपर्छ। पोषणयुक्त र सन्तुलित खानाले हाम्रो शरीरका विभिन्न अंगले आवश्यक पोषण प्राप्त गरी नियमित कार्य सहज रुपले गर्न सक्छन् । त्यसैले हाम्रो दैनिक खानामा फलफूल,सागपात र गेडागुडीलाई अनिवार्य समावेश गर्नुपर्छ।

६. पानी पर्याप्त पिउने 

स्वस्थ पानी प्रर्याप्त पिउँदा मिर्गौलाको पत्थरी हुने सम्भावना कम हुन्छ। त्यसैले मिर्गौलालाई स्वस्थ राख्न हामीले प्रर्याप्त स्वस्थ पानी पिउनुपर्छ। 

(मिर्गौला रोग विशेषज्ञ तथा मिर्गौला प्रत्यारोपण केन्द्र भक्तपुरका प्रमुख  श्रेष्ठसँग गोविन्द लुइँटेलले गरेको कुराकानीमा आधारित)
  


 

More form the Internet

loading...