Suvadin, Home

चुनावको मिति घोषणा गर : कांग्रेस

अशोक अधिकारी, काठमाडौं, पुस ११


नेपाली कांग्रेसको वर्तमान र पूर्व पदाधिकारी बैठकले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ।

सोमबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले सरकारलाई चुनावको मिति तोक्न दवाव दिने निर्णय गरेको हो।

कांग्रेस नेतृ ईश्वरी न्यौपानेका अनुसार वर्तमान जटिलता अन्त्य गर्नका लागि निर्वाचनको विकल्प नरहेको ठहर गर्दै कांग्रेसले आवश्यक गृहकार्यका साथ निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको हो।

न्यौपानेले निर्वाचनका निम्ति कांग्रेसले अगुवाई लिनु पर्ने र प्रभावकारी भूमिका खेल्नु पर्ने विषयमा पनि छलफल भएको बताएकी छिन्।

नेपाली कांग्रेसले स्थानीय निकायको चुनाव गर्ने वातावरण निर्माणका लागि पहल गर्ने भएको छ। 

प्रतिपक्षी दल एमालेले संसदमा जारी राखेको अवरोधका विषयमा पनि बैठकमा छलफल भएको न्यौपानेले बताइन्। 

उनले भनिन्, ‘टेबुल हुनै नदिई सरकारले पेश गरेको संविधान संशोधन विधेयक फिर्ता दिन दबाव दिएर एमालेले संसदमा गरेको अवरोध गलत छ भन्ने निष्कर्ष बैठकले निकालेको छ ।’

उनका अनुसार बैठकले संसदमा दर्ता गरिएको संविधान संशोधन विधेयक छलफल गराएरै पास वा फेलको निष्कर्षमा जाने निर्णय गरेको न्यौपानेले बताएकी छिन्।

उनले भनिन्, ‘तर, विधेयक फिर्ता हुँदैन ।’

बैठकले निर्वाचन आयोगमा तत्काल पदाधिकारी नियुक्तिका लागि सरकारलाई अनुरोध गर्ने पनि गरेको छ।


 

More form the Internet

loading...