Suvadin, Home

अनुसन्धान गर्न नमिल्ने भएपछि केयुको चिठी प्रहरी हेडक्वाटरमा
नोबेल मेडिकल कलेजको चिट चोरी अनुसन्धान प्रहरीले नगर्ने

‘विश्वविद्यालयसँग सम्बन्धित विषय हामीले अनुसन्धान गर्न मिल्दैन, त्यसैले मैले त्यो चिठी हेडक्वाटर पठाइदिएको छु,’ थापाले शुभदिनसँग भने, ‘जहाँसम्म ह्वाट्स एपबाट चिट चोरी भएको छ, त्यस विषयमा हामीले प्राविधिक सहयोगमात्र गर्न सक्छौं।’

खिलानाथ ढकाल

काठमाडौं, पुस ७

काठमाडौं विश्वविद्यालयले मंसिर ३० गते लिएको एमबिबिएस बिडिएस प्रवेश परीक्षामा विराटनगरस्थित नोबेल मेडिकल कलेजले ह्वाट्स एपबाट चिट चोराएको प्रमाण फेला पर्यो। चिट चोरी सार्वजनिक भएपछि विश्वविद्यालयले अनुसन्धान गरिदिन भन्दै जिल्ला प्रहरी काभ्रेलाई चिठी लेखेको थियो।

पहिलो त विश्वविद्यालय आफैंले छानबिन गर्नुपर्नेमा प्रहरीमा यो प्रकरण पुग्यो। प्रहरी आफूले पनि यो प्रकरणमा अनुसन्धान गर्न नमिल्ने बताएको छ।

काभ्रेका प्रहरी उपरीक्षक सहकुल थापाले विश्वविद्यालयको परीक्षामा भएको चिट चोरी प्रहरीले अनुसन्धान गर्न नमिल्ने बताए। थापाले त्यो चिठी प्रहरी प्रधान कार्यालयमा पठाइदिएका छन्।

‘विश्वविद्यालयसँग सम्बन्धित विषय हामीले अनुसन्धान गर्न मिल्दैन, त्यसैले मैले त्यो चिठी हेडक्वाटर पठाइदिएको छु,’ थापाले शुभदिनसँग भने, ‘जहाँसम्म ह्वाट्स एपबाट चिट चोरी भएको छ, त्यस विषयमा हामीले प्राविधिक सहयोगमात्र गर्न सक्छौं।’

सिट संख्या पूरा नभएपछि काठमाडौं विश्वविद्यालयले आफू अन्तर्गतका मेडिकल कलेजहरूमा दोस्रोपटक गत बिहीबार प्रवेश परीक्षा लिएको थियो। नोबेल मेडिकल कलेजमा लिइएको प्रवेश परीक्षामा मोबाइलमार्फत ह्वाट्स एपबाट चिट चोराइएको थियो।

उक्त परीक्षामा काठमाडौं विश्वविद्यालयबाट पनि पर्यवेक्षक गएका थिए। विश्वविद्यालयको मर्यादा र गरिमासँग जोडिएको विषयमा आफैंले छानबिन गर्नुको सट्टा बचाउन लागेको भन्दै प्राज्ञिक क्षेत्रबाट यसको बिरोध भइरहेको छ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. केदारभक्त माथेमाका अनुसार आफ्नो प्राज्ञिक गरिमा बचाउनका लागि भए पनि विश्वविद्यालयले आफैंले छानबिन गर्नुपर्थ्यो।

‘आपराधिक कार्य भएको भए प्रहरीमा जान मिल्थ्यो, तर पहिले त आफैंले छानबिन गर्नुपर्छ, यो लुकाउने कुरा हैन,’  माथेमाले भने, ‘विश्वविद्यालयको इज्जत र गरिमासँग जोडिएको विषय हो यो।’

 

माथेमाका अनुसार विश्वविद्यालयको परीक्षामा खुलेआम चिट चोरी हुनु चानचुने कुरा हैन। यसमा ठूलै कारबाही हुनसक्ने भएकाले गम्भीरतापूर्वक अनुसन्धान थाल्नुपर्छ। ‘केयुका आफ्नै पर्यवेक्षकको संलग्नतामा परीक्षा भएको हो, ती पर्यवेक्षकले किन चिट चोरी हुन दिए, यो गम्भीर विषय हो,’ माथेमाले भने, ‘यस्तो कुरालाई हल्का लिनु हुँदैन।’

 

माथेमाका अनुसार विश्वविद्यालयको परीक्षामा खुलेआम चिट चोरी हुनु चानचुने कुरा हैन। यसमा ठूलै कारबाही हुनसक्ने भएकाले गम्भीरतापूर्वक अनुसन्धान थाल्नुपर्छ।

‘केयुका आफ्नै पर्यवेक्षकको संलग्नतामा परीक्षा भएको हो, ती पर्यवेक्षकले किन चिट चोरी हुन दिए, यो गम्भीर विषय हो,’ माथेमाले भने, ‘यस्तो कुरालाई हल्का लिनु हुँदैन।’

माथेमाले यो प्रकरणमा छानबिन गर्न ढिला गर्न नहुने बताएका छन्। अधिकारीहरूका अनुसार मर्यादा विपरीत कार्य गरेमा विश्वविद्यालयले सम्बन्धित कलेजको ग्रेड कट्टासदेखि, चिट चोरी गराउने कलेजको सम्बन्धन खोस्न सक्छ। यो विश्विद्यालयको आफ्नो अधिकार क्षेत्रभित्र पर्छ।

चिट चोरीमा संलग्न विद्यार्थीलाई विश्वविद्यालयले कुनै पनि संकायमा भर्ना नगर्ने गरी अयोग्य ठहर्याउन सक्छ, त्यस्ता विद्यार्थीले एक वर्षसम्म विश्वविद्यालयको कुनै संकायमा भर्ना हुन नपाउने नियम पनि छ।

‘यस्ता थुप्रै अधिकार विश्वविद्यालयसँग छन्, दुःख गरीगरी पढिरहेका विद्यार्थीका लागि यो ठूलो चेतावनी हो,’ माथेमाले भने, ‘कलेजले गरेको अपराधको प्रकृति हेरेर यसमा कारबाही गर्न सकिन्छ।’

काठमाडौं विश्वविद्यालयले यस विषयमा प्रतिक्रिया दिन मानेको छैन। केयुको कार्यवाहक उपकुलपति डा. भोला थापाले शुभदिनसँग कुरा गर्न मानेनन्। यसअघि उनले चिट चोरीको विषयमा अनुसन्धान गरिने बताएका थिए। त्यसपछि विश्वविद्यालयले अनुसन्धान गर्न प्रहरीलाई चिठी लेखेको थियो।

विश्वविद्यालयले कात्तिक २२ गते एमबिबिएस बिडिएसमा प्रवेश परीक्षा लिएको थियो। उक्त प्रवेश परीक्षापछि नोबेल मेडिकल कलेजमा एक जनामात्रै विद्यार्थी भर्नाका लागि प्राथमिक सूचीमा परेका थिए।

प्रवेश परीक्षा दिएर पास हुनेले ल्याएको अंकका आधारमा प्राथमिक र वैकल्पिक सूची निर्धारण गरिन्छ।

बढी अंक ल्याउने विद्यार्थी भर्नाका लागि योग्य हुन्। कम ल्याएकालाई वैकल्पिक सूचीमा राखिन्छ र विद्यार्थी अपुग भएमा उनीहरुलाई भर्ना हुन आह्वान गरिन्छ।

११० सिट संख्या रहेको नोबेलमा एक जना पनि वैकल्पिक सूचीमा विद्यार्थी परेनन्। विद्यार्थी अभाव झेलिरहेको नोबेलले बढी विद्यार्थी पास गराउन चिट चोरी अपनाएको थियो।

नोबेलमा परीक्षा सुरू भएको आधा घन्टाभित्रै प्रश्नपत्र बाहिरिएको थियो। परीक्षा सुरू भएको ३७ मिनेटमा ९३ वटा प्रश्नको उत्तर परीक्षा हलभित्र पुर्‍याइसकिएको थियो।

विश्वविद्यालयले दोस्रोपटक लिएको परीक्षाको नतिजा भोलिपल्टै सार्वजनिक गरेको थियो। दोस्रोपटकको परीक्षामा ४९० जना विद्यार्थी पास भएका छन्।

यो परीक्षामा ९ जना विद्यार्थीले ८० भन्दा बढी अंक ल्याएका छन्। कात्तिकमा लिइएको परीक्षामा एक जनाले मात्र ८० भन्दा बढी अंक ल्याएका थिए।


 

More form the Internet

loading...