Suvadin, Home

११ सिट जितेका मधेसवादीले ४० सिट जितेको एमालेसामु फुर्ती लगाउन सुहाउँदैनः ओली

‘जुवाडेले कौडा फाल्छ, तासका पत्ता फाल्छ, जित्यो भने तासका पत्ती र कौडा नभई सम्पत्ति बोकेर जान्छ’ भन्ने दृष्टान्त प्रस्तुत गर्दै अध्यक्ष ओलीले संविधान संशोधन नामको पत्ती फालेर नेपालमा अस्थिरताको सिलसिला मच्चाउन खोजिएको उल्लेख गरे। 
एमाले अध्यक्ष अोली।

काठमाडौं, पुस २२


एमालेसहितका विपक्ष दलहरूले सरकारविरुद्धको आन्दोलनलाई झनै उचाईमा पुर्याउने चेतावनी दिएका छन्।

सरकारले ल्याएको संविधान संशोधनविरूद्ध काठमाडाैंमा जनशक्ति प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरूले सरकार अन्तै कतैबाट सञ्चालित भएको भन्दै नेपाली जनताले निरन्तर खबरदारी गरिरहनुपर्ने बताए। 

सभालाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रविरुद्ध गम्भीर षडयन्त्र भइरहेको उल्लेख गर्दै देशभर जागरण अभियान सञ्चालन गर्ने चेतावनी दिए। उनले सरकारले निर्वाचन गराउन चासो नदेखाएको आरोप पनि लगाए। 

अध्यक्ष ओलीले सरकार आफ्नो आयु लम्ब्याउन मात्रै लागिपरेको जिकीर पनि गरे। ओलीले संविधान संशोधन नभई निर्वाचन हुन दिन्न भन्नु षडयन्त्र भएको उल्लेख गर्दै त्यसलाई सफल हुन नदिने चेतावनी दिए।

अध्यक्ष ओलीले सरकारले संविधान संशोधन मात्र गर्न लागेको भने पनि सारमा त्यो राष्ट्रघात भएको बताए। उनले सरकार जुवाडेको चालका फसेको आरोप समेत लगाए। 

‘जुवाडेले कौडा फाल्छ, तासका पत्ता फाल्छ, जित्यो भने तासका पत्ती र कौडा नभई सम्पत्ति बोकेर जान्छ’ भन्ने दृष्टान्त प्रस्तुत गर्दै अध्यक्ष ओलीले संविधान संशोधन नामको पत्ती फालेर नेपालमा अस्थिरताको सिलसिला मच्चाउन खोजिएको उल्लेख गरे। 

अध्यक्ष ओलीले मधेसी जनताको देशभक्तिलाई कमजोरी नठान्न पनि चेतावनी दिए। उनले मधेसवादी दलहरूप्रति संकेत गर्दै ११ सिट जितेका मधेसवादी दलहरूले चालीस सिट जितेको एमालेसामु फुर्ती लगाउन नसुहाउने टिप्पणी गरे। 

अध्यक्ष ओलीले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाएर मैथिली, भोजपुरीलगायतका तराई मधेसको भाषालाई समाप्त पार्न खोजिएको भन्दै अब त्यसो हुन नदिन पार्टीले मेची महाकाली अभियान सञ्चालन गर्ने उद्घोष पनि गरे। 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतप्रति संकेत गर्दै कसैलाई देश टुक्राटुक्रा पारेर सुम्पन देशमा गणतन्त्र नआएको बताए। उनले जनतामा जागरण आएको उल्लेख गर्दै कसैले पनि राष्ट्रघाती कदम चाल्ने सपना नदेखे हुने चेतावनी दिए।

अध्यक्ष केसीले सरकारले नेपाली जनताको कलेजो काटेर भारतलाई सुम्पिन खोजेको आरोप पनि लगाए।

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा संसदमा पारित हुन नदिने जिकिर गरे। उनले राष्ट्रघाती संविधान संशोधन प्रस्ताव रोक्न सडक र सदन संघर्ष गर्नुपरेको पनि स्पष्ट पारे। 

नेता सुवालले हिमाल, पहाड र तराईलाई एकतावद्ध बनाएर सरकारलाई हटाउने चेतावनी पनि दिए। उनले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावले विदेशी नागरिकलाई एकै दिन कार्यकारी प्रमुख पदसम्म सुम्पने भएकाले यस्ता राष्ट्रघाती कदमविरुद्ध सबै पक्ष लाग्नुपर्ने बेला आएको पनि बताए। 

कार्यक्रममा बोल्दै नेकपा मालेका महासचिव सिपी मैनाली, नेपाल परिवार दलका एकनाथ ढकालसहितका नेताहरूले संविधान संशोधन प्रस्ताव नेपाली जनता र राष्ट्रको हितविरूद्ध आएकाले विरोध गर्नु परेको बताएका थिए। उनीहरूले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पनि पारित हुन नदिने अठोट पनि गरेका थिए।


 

More form the Internet

loading...