Suvadin, Home

गड्डाचौकी–वनबासा नाका पाँच दिनदेखि ठप्प
चेकजाँचकाे बहानामा एसएसबीकाे ज्यादती कायमै

घटनापछि पश्चिम नेपालकै प्रमुख गड्डाचौकी–वनबसा नाका ठप्प छ। पैदल आउँजाउँ भइरहेपनि सवारी नचल्दा यात्रुलाई सास्ती भएकाे छ। सात नम्बर सीमा स्तम्भबाटै सवारी फर्किने गरेका छन्। यात्रु झण्डै डेढ–दुई किलोमिटर पैदल हिड्न बाध्य भएको गुनासो गर्छन्।
सुनसान गड्डाचौकी–बनबसा नाका।

काठमाडौं, चैत २ – भारतीय सशस्त्र सीमा बल एसएसबीले गाेली प्रहार गरी एक नेपालीकाे हत्या गरेपछि तनावग्रस्त सुदूरपश्चिमकाे जनजीवन अझै पनि सामान्य बन्न सकेकाे छैन।

नेपाल–भारत सीमा नाका पाँच दिनदेखि ठप्प रहेका छन्। सवारीसाधन चल्न सकेका छैनन्। दोषीलाई कारबाही माग गर्दै स्थानीयले प्रदर्शनलाई निरन्तरता दिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

गत बिहीबार पुनर्वासस्थित नेपाल–भारत सीमा क्षेत्रकाे नेपालतर्फकाे भूभाग आनन्द बजारमा एसएसबीले गोली चलाउँदा स्थानीय युवा गोविन्द गौतमको निधन भएको थियो।

घटनापछि पश्चिम नेपालकै प्रमुख गड्डाचौकी–वनबसा नाका ठप्प छ। पैदल आउँजाउँ भइरहेपनि सवारी नचल्दा यात्रुलाई सास्ती भएकाे छ। सात नम्बर सीमा स्तम्भबाटै सवारी फर्किने गरेका छन्। यात्रु झण्डै डेढ–दुई किलोमिटर पैदल हिड्न बाध्य भएको गुनासो गर्छन्।

एसएसबीले सीमा क्षेत्रमा चेकजाँचकाे बहानामा कडाई गरेको छ। अनावश्यक खानतलासीले यात्रु हैरान छन्। ५ दिन देखिको गतिरोध अझै नटुंगिँदा सकसपूर्ण यात्रा गर्न अाफूहरू बाध्य भएको स्थानीय प्रविण खत्रीले बताएका छन्।

नेपालतर्फ पनि सशस्त्र प्रहरीले सुरक्षा जाँचमा कडाई गरेको छ। सुरक्षाका कारण चारपाङ्ग्रे सवारीसाधन लाई गड्डाचौकीमै रोकिरहेको सशस्त्र प्रहरीले जनाएको छ।

घटना भएको कञ्चनपुरको दक्षिणी क्षेत्रका अन्य नाका पनि सुनसान छन्। आवतजावत ठप्प छन्। त्रासले गर्दा उक्त क्षेत्रको जनजीवन निक्कै प्रभावित भएको बेलौरीका स्थानीय शंकर भण्डारीले बताए। कैलालीका नाकाहरुमा पनि तनाव नघटेको प्रहरीले जनाएको छ।

एसएसबीको गोली लागेर ज्यान गुमाएका गौतमलाई सरकारले सहिद घोषणा गरेपनि उनको परिवारलाई उचित क्षतिपूर्ति र छोराछोरीको शिक्षादिक्षाको प्रबन्ध मिलाउन स्थानीयले माग गरिरहेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माअाेवादी केन्द्रका जिल्लास्थित नेताहरूले हत्यामा एसएसबीकाे दाेष रहेका उल्लेख गर्दै भारत सरकारले माफी माग्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग दोहोर्याउँदै आएका छन्।

 


 

More form the Internet

loading...