Suvadin, Home

१९ वर्षपछि बन्यो बैतडी सदरमुकाममा चक्रपथ

जिल्ला सदरमुकाम बैतडीमा चक्रपथ निर्माण कार्य सम्पन्न भएको छ। दुर्इ किलोमिटर चक्रपथ सडक १९ वर्षपछि सम्पन्न भएको हो। अधुरै रहेको दुर्इ किलोमिटरको चक्रपथ स्थानीयले अगुवाइ गरेपछि पूरा भएको हो।
बैतडी करिडाेर। तस्बिर: विनाेद/शुभदिन।

बैतडी,२७ फागुन - जिल्ला सदरमुकाम बैतडीमा चक्रपथ निर्माण कार्य सम्पन्न भएको छ। दुर्इ किलोमिटर चक्रपथ सडक १९ वर्षपछि सम्पन्न भएको हो। अधुरै रहेको दुर्इ किलोमिटरको चक्रपथ स्थानीयले अगुवाइ गरेपछि पूरा भएको हो।

दशरथचन्द नगरपालिकाले सदरमुकामका मुख्य बजार गोठलापानी र शाहीलेक जोड्ने सडक २०५४ सालमा निर्माण थालेको हो। सडकको चार सय मिटर क्षेत्रमा स्थानीयबीच विवादले यति लामो समयसम्म अधुरै थियो। गोठलापानीदेखि आइत, बाडीलेक हुँदै शाहीलेक जोड्ने सडक नगरपालिका गठनसँगै सुरु गरेको हो।

थोरै बजेट र स्थानीयबीच जग्गा विवादले निर्माण काम हुन सकेको थिएन। निर्माण हुन नसकेको बाडीलेक खण्डको काम हालै सकिएको छ। निर्माण योजना र बजेटबिनै स्थानीयको अगुवाइमा क्षतिपूर्ति र पर्खालको माग गर्दै आएका प्रभावित परिवारले सहमति गरेपछि काम भएको हो।

नगरपालिकाको स्काभेटर र जिविसले डिजल खर्च दिने सर्तमा अधुरो चार सय मिटर पूरा गरेको स्थानीय जनकराज भट्टले बताए। शाहीलेकबाट गोठलापानी र झुलाघाट जाने वैकल्पिक बाटोका रूपमा प्रयोग गर्न चक्रपथ बनाउन सुरु गरिएको थियो।

अघिल्ला वर्ष नगरपालिका, जिविस र सहरी विकास कार्यालयले ४/५ लाख विनियोजन गर्दै आएका थिए। उक्त रकम २०/३० मिटर निर्माणमा सकिँदै आएको थियो। समिति गठन र काममा हुने विवादले निर्माण अघि बढेको थिएन।

यो वर्ष नगरपालिकाले साढे ९ मिटर ढल निकास र सडक बत्तीसहित कालोपत्रे गर्न दुर्इ करोड १३ लाख ७७ हजार टेण्डर प्रक्रिया थालेको इन्जिनियर जयसिंह बोहराले बताए। चक्रपथ निर्माणपछि स्थानिय बासिन्दा हर्षित समेत भएका छन्। 


 


 

More form the Internet

loading...