Suvadin, Home

पूर्वाञ्चलमा अख्तियारको अन्तरक्रिया

अन्तक्रियामा नागरिक समाज, पब्लिक फोरम लगायतका प्रतिनिधिले विराटनगरका कतिपय ठाउँका सडक तथा ढल निर्माणमा गुणस्तरहीन इँटा प्रयोग भइरहेको, सडक विस्तारका लागि सडक भत्काएको तर निर्माण कार्यमा ढिलाइ गरेकाले महिनौंदेखि धुलो र धुवाँका कारण वातावरण प्रदूषित बनेको लगायतका समस्या सुनाएका छन्।

विराटनगर, पुस २७


अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीले बुधबार भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका विषयक एक दिने अन्तक्र्रियाको गरेको छ।

अन्तक्रियामा नागरिक समाज, पब्लिक फोरम लगायतका प्रतिनिधिले विराटनगरका कतिपय ठाउँका सडक तथा ढल निर्माणमा गुणस्तरहीन इँटा प्रयोग भइरहेको, सडक विस्तारका लागि सडक भत्काएको तर निर्माण कार्यमा ढिलाइ गरेकाले महिनौंदेखि धुलो र धुवाँका कारण वातावरण प्रदूषित बनेको लगायतका समस्या सुनाएका छन्।

जिविसद्वारा निर्माण गरिएका कतिपय कल्भर्टमा अनियमितता भएको, सवारी अनुमतिपत्र लिनका लागि घुस लिने गरेकोलगायतका विषयमा पनि उनीहरूले आयोगको ध्यानाकर्षण गराएका थिए।

उक्त अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख प्रेमप्रसाद भट्टराईले अख्तियारमा उजुरी परेपछि प्रारम्भिक रुपमा छानबिन गरी हिनामिना देखिएको अवस्थामा मुद्दा दर्ता गरी प्रक्रिया अगाडि बढाउने गरिएको बताए।

उनले नागरिक समाजबाट उठेका जायज विषयलाई उजुरीको रुपमा लिएर छानबिनको प्रक्रिया अगाडि बढाउने उल्लेख गर्दै भ्रष्टाचारलाई नियन्त्रण गर्नका लागि अख्तियारले ठोसरुपमा कार्य गरिरहेको जानकारी गराए।

प्रजिअ यज्ञराज कोइरालाले कर्मचारीलाई जनताको हित, निर्णय प्रक्रिया पारदर्शी र आफूले गरेका कामप्रति उत्तरदायि हुनुपर्ने उल्लेख गर्दै सुशासनका लागि ‘बहुजन हिताय, बहुजन सुखाय’ को नीतिका साथ कार्य गर्नुपर्ने विषयमा जोड दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकृत नीलकण्ठ विश्वकर्माले भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै अधिकांश कार्यालयमा भएका अनियमितता छानबिन गरी कारवाही प्रक्रिया अगाढि बढाउनुपर्ने बताए। रासस


 

More form the Internet

loading...