Suvadin, Home

सडकको क्षति अनुगमन गर्न उपसमिति गठन

व्यवस्थापिका संसद अन्तर्गतको सुशासन तथा अनुगमन समितिले त्रिभुवन विमानस्थल र नक्सालस्थित निर्माणाधीन होटल हिल्टनका बारेमा अनुगमन तथा छानबिनका लागि दुई छुट्टाछुट्टै उपसमिति गठन गरेको छ।
संसद।

काठमाडौं, माघ २८- व्यवस्थापिका संसद अन्तर्गतको सुशासन तथा अनुगमन समितिले त्रिभुवन विमानस्थल र नक्सालस्थित निर्माणाधीन होटल हिल्टनका बारेमा अनुगमन तथा छानबिनका लागि दुई छुट्टाछुट्टै उपसमिति गठन गरेको छ।

समितिले हिल्टन बल्र्ड वाइड र जगदम्बा हस्पिटालिटीले नक्सालमा निर्माण गर्न लागेको होटल हिल्टलका कारण सडक भत्किएपछि भएको क्षतिबारे अनुगमन गर्न सात सदस्यीय उपसमिति गठन गरेको हो। 

समितिले उदय नेपाली श्रेष्ठ, ध्यानगोविन्द रञ्जितसहित सात सदस्यीय उपसमितिलाई होटल निर्माणका क्रममा पूरा गर्नुपर्ने प्रक्रियादेखि त्यसले पारेको क्षतिसहितको अध्ययन गरी प्रतिवेदन बुझाउन भनेको छ।

शुक्रबार बसेको समिति बैठकमा होटल निर्माणका कारण भएको क्षतिबारे सरोकारवाला निकायहरुबीच मत बाँझिएपछि छानबिनका लागि उपसमिति बनाएको हो।

बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी रुद्रसिंह तामाङले उपत्यका विकास प्राधिकरणबाट नक्सालसहित सम्पूर्ण कागजात प्रमाणित भइसकेपछि मात्रै महानगरपालिकाले होटल निर्माणको अनुमति दिएको भन्दै आफूहरु निर्दोश रहेको दाबी गरेका छन्।

उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले काठमाडौंका धेरै ठाउँको जमीन नै सुख्खा भएकाले समस्या आउने गरेको भन्दै होटल निर्माण प्रक्रियाको प्रतिरक्षा गरे। 

सडक विभागमा उपमहानिर्देशक दयाकान्त झाले होटल निर्माणको अनुमति दिने निकाय भिन्न र अनुगमनको निकाय पनि अर्कै भएको भन्दै सडक भत्किएपछि मात्रै विभाग तानिएको बताए। उनले डक भत्किएर सडक विभाग नै पीडित भएकाले आफूहलाई कसैले दोष लगाउन नमिल्ने जिकीर गरे।

वातावरण प्रभाव मूल्यांकन पनि नगरी निर्माण थालिएको हिल्टन होटलका कारण सडक भासिएको छ। वरपरका स्थानीयको घर चर्किएको भन्दै गुनासो आएपछि समिति आफैले नक्साल पुगेर स्थलगत अनुगमन गरेको थियो। सो क्रममा कयौं कमजोरी भेटिएपछि त्यसबारे विस्तृत अध्ययन गरी प्रतिवेदन तयार पार्न उपसमिति गठन गरेको हो।

त्यसैगरी, समितिले विमानस्थलको अध्ययन अनुगमनका लागि जनकराज जोशी, कृपाशुर शेर्पा, जीतु गौतम, सरिता यादव, नागेन्द्र कुमालसहितको सात सदस्यीय उपसमिति गठन गरेको छ।

समितिले बिहीबार विमानस्थलको स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा अराइभल र डिपाट्चर कक्ष व्यवस्थित नभएको, सिसिटिभी अनुगमन गर्ने स्पष्ट निकाय नरहेको जनाइएकाे छ।

कार्गो मेसिन बिग्रेको तथा त्यसको सामान्य कर्मचारीको भरमा व्यवस्थापन हुने गरेको भेटिएपछि त्यसबारे थप अध्ययन गरी दीर्घकालीन सुधारको सुझावसहित प्रतिवेदन पेस गर्न उपसमिति गठन गरेको समिति सभापति मोहनसिंह राठौरले जानकारी दिए। दुवै उपसमितिलाई छानबिनका लागि १५ दिनको समय दिइएको छ।
 


 

More form the Internet

loading...