Suvadin, Home

जुरे गुफा संरक्षणको पर्खाइमा

भुरे राजाहरुले राजकाज गरेको ऐतिहासिक जुरे गुफा संरक्षणको पर्खाइमा रहेको छ। पौराणिक कालमा भुरे राजाहरुले आफ्ना सेनासहित राजकाज गरेको जुरे गुफा भौगोलिक, प्राकृतिक र पर्यटकीय क्षेत्रले भरिपूर्ण छ।
पाल्पा जिल्ला प्रवेशद्वार।

पाल्पा, चैत ४ - भुरे राजाहरुले राजकाज गरेको ऐतिहासिक जुरे गुफा संरक्षणको पर्खाइमा रहेको छ। पौराणिक कालमा भुरे राजाहरुले आफ्ना सेनासहित राजकाज गरेको जुरे गुफा भौगोलिक, प्राकृतिक र पर्यटकीय क्षेत्रले भरिपूर्ण छ।

सहलकोट गाविस-७ घागीमा रहेको उक्त गुफाको संरक्षणमा कसैले ध्यान नदिँदा ओझेलमा परेको छ। माछापुच्छ्रे र धौलागिरि हिमाल, रामपुर उपत्यका, स्याङ्जा, तनहुँ, कास्की, लमजुङ, नवलपरासीलगायतका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ।

ऐतिहासिक पर्यटकीय क्षेत्र जुरेगुफा विकास पूर्वाधारको अभावमा ओझेलमा परेको हो। यहाँबाट मोतीझैं टल्केका हिमालका दृश्यले अवलोकन गर्न आउने पर्यटकलाई लालायित पारिरहेको हुन्छ।

वि.सं. २०३८ मा सो क्षेत्रका बासिन्दाले चमेरा मार्न जङ्गलमा जाँदा गुफा फेला पारेका कथन छ। गुफाभित्र नाग, भगवान्का विभिन्न आकृति, तरबारजस्तो आकृति, केराको खाप, गाईका थुनको आकृति देखिन्छ। दुई तलामा रहेको सो गुफाको माथिल्लो तला १० मिटर र तल्लो तला करिब ६० मिटर लामो रहेको छ। 

सहलकोटको उच्च भेगमा वनभित्र रहेको उक्त गुफामा पौराणिक समयमा भुरे राजाहरुले बसोबास गरी आफ्ना विपक्षीसँग यहाँबाट लडार्इं लडेको स्थानीयवासी बताउँछन्।

यहाँबाट लुकेर झिरुवासको काउँलेडाँडा, मुहरियाडाँडा, नवलपरासीको हुक्सेकोटको थुम्काडाँडामा रहेका विपक्षीसँग लडेको इतिहास छ। अझै पनि गुफा आसपासका परिसरमा गोलीका अवशेष रहेका स्थानीयवासी गनबहादुर विक बताउँछन्। 

यहाँका स्थानीयवासी, राजनीतिक दल, सामाजिक व्यक्तित्व, बुद्धिजीवीलगायत सरोकारवालाले गुफा संरक्षणका लागि पहल गरे पनि सहयोग प्राप्त नभएको विकले बताए। गुफासम्म पुग्ने गोरेटो बाटो सामुदायिक वनका उपभोक्ता र स्थानीयवासीले निर्माण गरेपछि पछिल्लो समय अवलोकन गर्न आउने पर्यटकलाई सहज भएको छ। 

रामपुर नगरपालिकाको केन्द्रबाट सवारी साधनमार्फत करिब दुई घन्टामा गुफा पुगिन्छ। सहलकोटको जुरेबाट गुफा पुग्न १५ मिनेटको उकालो चढ्नु पर्छ। यहाँ मासिक करिब तीन सयको हाराहारीमा पर्यटक भित्रने गरेका वन समूहका अध्यक्ष रामबहादुर सारू बताउँछन्। 'आर्थिक अभावका कारण गुफाको संरक्षण हुन सकेको छैन,' उनले भने। 

भौतिक पूर्वाधार विकास र विस्तार गर्न सकेको खण्डमा गुफालाई मुलुककै पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनाउन सकिन्छ। गुफा नजिकै घागी पोखरी रहेको छ । उक्त पोखरी संरक्षणको अभावमा खण्डहरमा परिणत भएको छ।

भुरे राजाहरुले जुरे गुफामा बसोबास गरेका बखत नुहाउने गरेको सो पोखरीको संरक्षण हुन सकेको छैन। प्रशस्त पानी रहने उक्त पोखरीमा २०६० साल यता पानी सुक्दै गएको छ। करिब एक सय मिटर क्षेत्रफलमा फैलिएको उक्त पोखरीको अस्तित्व सङ्कटमा परेको छ। रासस


 

More form the Internet

loading...