Suvadin, Home

व्यवसायीले गायब पारे थोत्रा गाडी
बीस वर्ष पुराना गाडी सडकबाट ग्यारेजमा

यातायात व्यवस्था विभागका अनुसार उपत्यकामा बीस वर्ष पुराना करिब साढे चार हजार थिए। विभागका महानिर्देशक रुपनारायण भट्टराई अहिले नियमित अनुगमन गर्दा पनि ती पुराना गाडी फेला पार्न गाह्रो परेको बताउँछन्। ‘हप्तामा तीनपटक अनुगमन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छौं। हामी आफैंले पनि कतिपय ठाउँमा अनुगमन गर्दा त्यस्ता पुराना गाडी फेला पार्न गाह्रो पर्यो। ती गाडी नष्ट हुने भनेर व्यवसायीले ग्यारेजमा थन्काएको जानकारी पाएका छौं,’ उनले शुभदिनसँग भने। 
धूवाँ फाल्दै गुडिरहेको सवारी।

काठमाडौं, चैत ४ - सरकारले बीस वर्ष पुराना गाडी विस्थापन गर्ने निर्णय कार्यान्वयन गरेसँगै त्यस्ता गाडी ‘गायब’ पारिएका छन्। गत फागुन १८ देखि सरकारले यस्तो व्यवस्था लागू गरेपछि पुराना गाडी ‘गायब’ भएका हुन्। 

यातायात व्यवस्था विभागका अनुसार उपत्यकामा बीस वर्ष पुराना करीब साढे चार हजार थिए। विभागका महानिर्देशक रुपनारायण भट्टराई अहिले नियमित अनुगमन गर्दा पनि ती पुराना गाडी फेला पार्न गाह्रो परेको बताउँछन्। 

‘हप्तामा तीनपटक अनुगमन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छौं। हामी आफैंले पनि कतिपय ठाउँमा अनुगमन गर्दा त्यस्ता पुराना गाडी फेला पार्न गाह्रो पर्यो। ती गाडी नष्ट हुने भनेर व्यवसायीले ग्यारेजमा थन्काएको जानकारी पाएका छौं,’ उनले शुभदिनसँग भने। 

सरकारले वि. सं.२०७१ सालमा बीस वर्ष पुराना गाडी विस्थापन गर्ने भन्दै राजपत्रमा सूचना प्रकाशित गरेको थियो। यातायात व्यवस्था विभागका अनुसार यो व्यवस्था कार्यान्वयनमा आएपछि चार वटा टेम्पो, तीन वटा टयाक्सी र एउटा बस मात्रै विस्थापित भएका छन्। 

पुराना गाडीको इञ्जिन र चेसिस नम्बर विभागले नियन्त्रणमा लिने र गाडी नष्ट गर्ने गरेको छ। विभागले गाडी धनीलाई पनि इञ्जिन र चेसिस नम्बर बुझाउन भनेको छ। तर, अहिलेसम्म विभागमा व्यवसायी पुराना गाडीको इञ्जिन र चेसिस नम्बर बुझाउन आएकै छैनन्। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष डोलनाथ खनालका अनुसार बीस वर्ष पुराना बसमात्रै उपत्यका एक हजार दुई सय र उपत्यका बाहिर आठ हजारको हाराहारीमा छन्। ‘सरकारले व्यवसायीलाई सहुलियत नदिकन एकैचोटी गाडी विस्थापित गर्न खोजेकाले व्यवसायीहरूले गाडी ग्यारेजमा थन्काएका हुन्,’ उनले भने। 

पुराना गाडी विस्थापित गर्दा व्यवसायीलाई नयाँ गाडी किन्न भन्सार छुट, अन्तशुल्क लगायत छुट दिनुपर्ने माग गरे पनि सरकारले नदिएकोले गाडी नझिक्ने उनले बताए।

अहिले कालो प्लेटका सार्वजनिक सवारी साधनलाई मात्रै यस्तो व्यवस्था बाध्यकारी भए पनि व्यवसायीहरू भने बीस वर्ष पुराना निजी र सरकारी गाडीहरूमा पनि यो नियम लागू गर्नुपर्ने माग गरिरहेका छन्। ‘उपत्यकामा धेरै पुराना रातो प्लेटका निजी गाडी र सरकारी गाडी गुडिरहेका छन्। ती गाडीलाई पनि सरकारले नियन्त्रण गर्नुपर्छ,’ उनले भने। गाडी विस्थापित गर्दा सहुलियत दिनु पर्ने  विषयमा मन्त्रालयमा पटक–पटक जाँदा आश्वासन मात्रै पाएकाले यो व्यवस्थाको बिरोध गरेको उनी बताउँछन्। 

मिटर टयाक्सी व्यवसायी संघका अध्यक्ष चेतप्रसाद गौतमका अनुसार उपत्यकामा तीन सयको हाराहारीमा बीस वर्ष  पुराना टयाक्सी छन्। सरकारले व्यवसायीहरूलाई सहुलियत नदिँदासम्म विस्थापन गर्न कोही तयार नहुने उनले बताए। ‘बैंकको ऋण लिएर व्यवसाय गरेकाहरूको गाडी खोस्दा रोजीरोटीको समस्या हुन्छ, त्यसैले सहुलियत वा कुनै विकल्प दिनुपर्छ,’ उनले भने। 

यो अडान लिएपछि सरकारले व्यवसायीहरूसँग छलफल गरिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले बतायो। व्यवसायीले विभिन्न माग तेर्स्याएर यो व्यवस्था कार्यान्वयन गर्न नदिए पनि एक वर्षभित्र पुराना गाडी विस्थापित गरिसक्ने महानिर्देशक भट्टराई बताउँछन्। उपत्यकामा बीस वर्ष पुराना सरकारी र रातो प्लेटका निजी गाडी पनि धेरै पाइएको छ। यी गाडी पनि विस्थापित गर्नुपर्ने माग आएकाले त्यसबोरमा पनि विभागले सोचिरहेको उनले बताए। 

नेपालमा राजमार्गहरू निर्माण भइनसकेको तत्कालीन अवस्थामा अमलेखगन्ज भैंसे, भीमफेदी, चन्द्रागिरि हुँदै मानिसले बोकेर ल्याएर वि.सं १९९६ मा काठमाडौंमा गाडी सुरुवात भएको हो। ७७ वर्षअगाडि आवतजावतको सहजताको लागि गाडी भित्र्याए पनि अहिले उपत्यकामा गाडीको संख्या बढेर यात्रामा सहजता होइन, दैनिकीमै सास्ती भइरहेको छ। 

सार्वजनिक र निजी गरी बाग्मती अञ्चलमा ८ लाख २८ हजार १ सय ६९ गाडी दर्ता भइसकेका छन्। देशभर ठूला साना गरी २३ लाख ३९ हजार एक सय ६९ वटा सवारीसाधन दर्ता छन्। प्रत्येक महिना काठमाडौंमा साना–ठूला गरी बीस हजार नयाँ गाडी थपिने गरेको विभागले जनाएको छ।

उपत्यकाको प्रदूषण बढाउनुमा गाडीको हिस्सा ४० प्रतिशत रहेको एक अध्ययनले देखाएको छ। बढ्दो प्रदूषणका कारण काठमाडौंमा मात्रै प्रत्येक वर्ष ९ हजार व्यक्तिको दम र श्वासप्रश्वासको कारण ज्यान गइरहेको विश्व स्वास्थ्य संगठनको अाँकडा छ। 

वातावरण विभागका प्रवक्ता मोहनदेव जोशी डिजेलबाट चल्ने २० वर्ष पुराना गाडीको कारण प्रदूषणको मात्रा बढेकोले विस्थापित नगर्दासम्म राजधानीको प्रद्रषण कम नहुने बताए। पुराना गाडी विस्थापन गर्न नसकिरहेको अवस्थामा सरकारले प्रदूषणमा सघाइरहेका  इँटाभट्टा र तथा उद्योगहरूलाई नियन्त्रण गर्न पहल थालेको छैन। थोत्रा गाडीका साथसाथै सडक र खानेपानी आयोजनाको निर्माण कार्यले पनि पछिल्लो समय राजधानीमा प्रदूषण बढेको छ। 

पुराना गाडी हटाएर मात्रै काठमाडौं उपत्यकाको प्रदूषण कम नहुने वातावरणविद् डा. भूषण तुलाधर बताउँछन्। सवारीसाधनको प्रदूषण जाँच गरी हरियो स्टिकर लगाउने व्यवस्थालाई कडाइ गर्नसके पनि गाडीबाट हुने प्रदूषण कम हुने उनले बताए। 
 


 

More form the Internet

loading...