Suvadin, Home

चुरेदेखि भारतसम्मै बक्राहा नदीको त्रास

बक्राहा-नुनसरी बाढी प्रभावित क्षेत्रमा अझै पनि बक्राहा नदी मानवबस्ती क्षेत्रमा नै बगिरहेको छ। मानव बस्ती क्षेत्र पूरै बगरमा परिणत छ। नदी फर्काउनलाई कुनै प्रयास नभएको देख्दा यसपटक पनि बाढीले ठूलै विपत्ति निम्त्याउने संकेत गरेको छ। भरपर्दाे तटबन्ध, बस्तीभन्दा नदीको सतह अग्लो हुनुले बक्राहा बग्ने चुरेदेखि भारतको सीमासम्म झन्डै ५६ किलोमिटरसम्मका बासिन्दा त्रसित छन्।
गत वर्ष बक्राहा खोला गाउँमा पसेपछिको दृश्य। तस्बिर : शुभदिन।

गोपाल काफ्ले पथरी, फागुन १५


बक्राहा-नुनसरी बाढी प्रभावित क्षेत्रमा अझै पनि बक्राहा नदी मानवबस्ती क्षेत्रमा नै बगिरहेको छ। मानव बस्ती क्षेत्र पूरै बगरमा परिणत छ। नदी फर्काउनलाई कुनै प्रयास नभएको देख्दा यसपटक पनि बाढीले ठूलै विपत्ति निम्त्याउने संकेत गरेको छ। भरपर्दाे तटबन्ध, बस्तीभन्दा नदीको सतह अग्लो हुनुले बक्राहा बग्ने चुरेदेखि भारतको सीमासम्म झन्डै ५६ किलोमिटरसम्मका बासिन्दा त्रसित छन्।

बक्राहा खोला नियन्त्रणका लागि नियामक निकायले आश्वासनमात्र दिएकाले प्रभावित क्षेत्रका बासिन्दाले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। केही दिनअघि सञ्चार क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै पीडितहरूद्वारा गठित बक्राहा नदी नियन्त्रण तथा तराई–मधेस संरक्षण विकास पहल समितिले नदी नियन्त्रणका लागि दबाब सिर्जना गर्न आन्दोलन थालिएको जनायो।

समितिका संयोजक मानबहादुर श्रेष्ठले नदी नियन्त्रणका लागि सारोकारवालासँग पटक–पटक माग राख्दा पनि कुनै पहल नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको बताए। समितिले सार्वजनिक गरेका आन्दोनलको पहिलो कार्यक्रममा फागुन १० गते पत्रकार सम्मेलनको आयोजना, कार्यक्रमहरूमा फागुन १९ गते सरोकारवाला निकायहरूमा घेराउ तथा धर्ना, फागुन २५ गते जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय मोरङको प्राङ्गणमा रिले अनसन र २५ गतेपछि अनिश्चितकालीन आमरण अनसन गरिने रहेका छन्।

बक्राहामा निम्तिने विपत्तिका सम्भावित कारणहरू :

बक्राहा नदीमा थुप्रिएको ढुंगा, गिट्टी, बालुवा

बक्राहा नदीले मधुमल्लामा ढुंगा, गिट्टी, बालुवा थुपारेको छ। यसरी थुप्रिएको ढुंगा, गिट्टी, बालुवाले नदीको सतह अग्लो र बस्ती होचो छ। त्यसैकारण पानी तटबन्धतर्फ हान्निएको छ। पानीको बेगले तटबन्धलाई कमजोर बनाउँदै गएको छ। कमजोर तटबन्धलाई बर्खाको समयमा नदीले भत्काइ कहिले पूर्वी तथा कहिले पश्चिमतर्फ विपत्ति निम्त्याउने गरेको छ। नदी नियन्त्रणका लागि कनिका छरेजस्तो बजेट आउने गरेकाले नदी नियन्त्रणको प्रयास सबै निरर्थक सावित भइसकेका छन्।

पहिरै पहिरो

रमितेखोला–५ मा रहेको ध्यामे पहिरो सम्भवतः नेपालकै दोस्रो पहिरोमा पर्दछ। झन्डै दुई बिगाहा क्षेत्रफलमा फैलिएको यो पहिरोबाट लेदोसहितको ढुंगा, गिट्टी, बालुवा बग्ने गर्छ। सो  ढुंगा, गिट्टी, बालुवा बक्राहा मिसिने गर्छ। यस्तै, चुरे पहाडका अन्य क्षेत्रमा पनि पहिरैपहिरो रहेको छ। जसले गर्दा नदीको सतह अग्लो हुँदै गएको छ।

टालटुले मर्मत  

बक्राहाको तटबन्ध दुई दसक पुरानो हो। ओपेकको आर्थिक सहयोगमा २०५५–५६ सालमा बक्राहा नदी नियन्त्रणका कार्य सञ्चालन गरिएको थिया। तर, भरपर्दो मर्मतको अभावमा तटबन्ध कमजोर बन्दै गइरहेको छ। पानीको बहावले तटबन्धमा केन्द्रित भएको देखिरहँदा समेत प्लाष्टिकका बोराको भरमा मर्मत र कटान रोकथाम हुँदै आएको छ। जुन बालुवामा पानी खन्याएजस्तै हुने गरेको छ।

स्थानीयबासी भरपर्दो बाँधको पक्षमा छन् । बक्राहा बाढीपीडित संघर्ष समिति नै गठन गरेर उनीहरूले सरकारलाई दबाब दिँदै आएका छन्। तर, तटबन्ध मर्मतको नाममा बर्से्नि झारा टार्ने काम गरिँदै आएको छ। र, अब पनि यसरी नै भारो टार्ने हो भने आसपासका बस्तीलाई बक्राहाले उठिबास नै लगाउने स्थानीय बताउँछन्।

सरकारको बेवास्ता  

बक्राहाले बर्सेनि उठिबास लगाउँदै आएको छ, बक्राहाको तटबन्ध खतरामा छ लगायत समाचार सञ्चार माध्यमहरूले सम्प्रेषण गर्दै आइरहेका छन्। सरकार तथा सम्बन्धित निकायको चासो बढ्ने गरेको छ, जतिबेला बक्राहाले बितण्डा मच्चाउँछ। यसपटक पनि बेलैमा बक्राहा नियन्त्रणका लागि प्रयास थालिएन भने पूर्वी पूर्वी मोरङको मधुमल्ला, हसन्दह, राजघाट, अमरदह, गोविन्दपुरलगायत क्षेत्रमा ठूलै संकट निम्त्यिाउने छ। यसपटक पनि तटबन्ध निर्माण गरिएन भने बक्राहा नियन्त्रणका लागि धेरै ढिला भइसक्नेछ। बाढीको समयमा न त बक्राहाको समस्याको बारेमा हल्ला गरेर फाइदा छ, न त रोकथामको झिँजो प्रयास गरेर नै।

केही महिनाअघि सिचाईं मन्त्री दीपक गिरीसहितको सरकारी टोलीले बक्राहा क्षेत्रको निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा मन्त्री गिरीले दुई महिनाभित्र परिणामसहित काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै युद्धस्तरमा काम थाल्न मातहतका निकायलाई निर्देशन दिएका थिए। ‘सरकारले चाह्यो भने त नदी नियन्त्रणमा धेरै थोक गर्न सक्छ। तर, सरकारमा भने इच्छाशक्ति, देखिँदैन। मन्त्री आउने र आश्वास दिने तर काम सिन्को नभाचिने पुरानै शैली हो,’ श्रेष्ठले भने।

बक्राहा–नुनसरीमा आकाश धमिलो हुनेबित्तिकै अब भगवान भरोसा भनेर बस्नुपर्ने बाध्यता छ। मधुमल्ला, राजघाट, गोविन्दपुर, हसन्दह, अमरदह, इटहरालगायतका क्षेत्रमा बक्राहामा बाढीले कटान बढ्दो छ।


 

More form the Internet

loading...