Suvadin, Home

संलग्न तीन जना पक्राउ
ट्याक्टर किन्ने बहानामा आठ वर्षे बालकको अपहरण, हत्यापछि फिराैती बार्गेनिङ

अनुसन्धानबाट चूडामणिले फिरौती रकम लिएर ट्याक्टर किन्ने योजना बनाएको पत्ता लागेको छ। लोहनीका अनुसार चूडामणि आफूले विदेश गएर कमाएको पैसा मोजमस्ती गरेर सकाएका थिए। ‘घरमा ट्याक्टर किन्छु भनिरहेको तर पैसा मोजमस्ती गरेर सकेको र ट्याक्टर किन्ने योजनामा बालक अपहरण गरेको खुलेको छ,’ लोहनीले भने।

शुभदिन संवाददाता 
सप्तरी, मंसिर ३०

बालक दुर्गानन्द साहको अपहरणपछि हत्यामा संलग्न तीन जनालाई सप्तरी प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सप्तरी हरिपुर गाविस वडा नम्बर ३ का चूडामणि ठाकुर, हरिपुरै गाविस वडा नम्बर १ का रामबाबु गुप्ता र देउरी गाविस–३ का कपिलदेव दास छन्। 

गुप्ता र कपिलदेवलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो। आरोपितमध्ये चूडामणि मंसिर २४ गतेदेखि नै सार्वजनिक मुद्दामा हिरासत थिए। 

सप्तरी प्रहरी प्रमुख एसपी दिवेश लोहनीका अनुसार आठ वर्षीय बालक साहलाई मंसिर ११ गते साँझ साढे ६ बजे अपहरण गरी हत्या गरिएको थियो।

लोहनीका अनुसार हालको प्रारम्भिक अनुसन्धानले हत्यामा चूडामणिको संलग्नता देखिएको छ। ‘बालक अपहरण गरेर त्यसैदिन हत्या गरेको देखिन आएको छ,’ लोहनीले भने, ‘हत्यापछि पैसाको बार्गेनिङ गरेको खुलेको छ।’ 

लोहनीका अनुसार चूडामणिले बालक हत्या गरेर बोरामा छिमेकी पनेलाल साहको सेफ्टीट्यांकीमा फालेका थिए। त्यसपछि उनले गुप्ता र दासको सहयोग लिए। 

गुप्ता र दासको सहयोगमा मोबाइलको नयाँ सिमकार्ड झिकाएर उनले हत्या गरेको पाँच दिनपछि बालककी आमा ममतादेवीलाई फोन गरी पाँच लाख फिरौती माग्न थालेका थिए। 

‘पुलिसलाई भनिस् भने छोरा मारिदिन्छु भनेर धम्क्याइरहने गरेको खुलेको छ,’ लोहनीले भने। ममताको मोबाइलमा आएको फोन र म्यासेजको प्रहरीले सूक्ष्म अध्ययन गरी खोजी गर्दा चूडामणिले प्रयोग गरेको नम्बर खुलेको उनले बताए। 

पक्राउ परेकाबाट बालकको शव फालेको स्थान पहिचान भएको थियो। सडेगलेको अवस्थामा बालकको शव सेफ्टीट्यांकीबाट बिहीबार बिहान निकालिएको प्रहरीले जनाएको छ। 

अनुसन्धानबाट चूडामणिले फिरौती रकम लिएर ट्याक्टर किन्ने योजना बनाएको पत्ता लागेको छ। लोहनीका अनुसार चूडामणि आफूले विदेश गएर कमाएको पैसा मोजमस्ती गरेर सकाएका थिए। ‘घरमा ट्याक्टर किन्छु भनिरहेको तर पैसा मोजमस्ती गरेर सकेको र ट्याक्टर किन्ने योजनामा बालक अपहरण गरेको खुलेको छ,’ लोहनीले भने। 

पक्राउ परेका तिनै जनाउपर कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान थालिएको एसपी लोहनीले बताए। कर्तव्य ज्यानमा सर्वस्वसहित जन्मकैद सजाय हुने व्यवस्था छ। अहपरण मुद्दामा घटनाको प्रकृति हेरेर तीन वर्षभन्दा बढी सजाय माग दाबी गरिन्छ।


 

More form the Internet

loading...