Suvadin, Home

सुनसरीमा हुरी र असिनाबाट ठुलाे क्षति

हुरी बतास र असिनाले पुर्याएका क्षतिका बिषयमा जानकारी लिने काम भइरहेको बताउँदै सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले क्षतिका विवरण प्राप्त भएपछि तत्कालै प्राकृतिक प्रकोप उद्धार समितिका बैठक बसेर के कस्तो सहयोग गर्न सकिन्छ भन्ने विषयमा निर्णय लिइने बताएका छन्।
हावाहुरीले ढालेकाे रूख।

इटहरी, चैत १२ – सुनसरी र मोरङ जिल्लाको मध्य तथा उत्तरी क्षेत्रमा गए राति आएको हुरी बतास र असिना पानीका कारण ठूलो क्षति भएका छन्। ठूलो परिमाणमा परेको असिनाले अन्नबाली र फलफूलमा ठूलो क्षति पुगेको छ।

जङ्गली चराचुरुङ्गीसमेत मरेका छन्। चट्याङ परेसँगै आएको हावाहुरी र असिनाले भित्र्याउनका लागि तयारी अवस्थामा रहेका गहुँ र मकैबाली तथा सुपारीमा धेरै नोक्सानी पुगेको इटहरी–२ का पीडित किसानले बताएका छन्। असिना र हुरीका कारण भएको क्षतिको यर्थात् तथ्याङ्क उपलब्ध नभएपनि लगभग एक करोडभन्दा बढीको क्षति भएको अनुमान छ।

सुन्दरपुर–४ का पीडित किसान वीरबहादुर पौडेलका अनुसार २०१७ सालमा आएको असिना पानी झैँ यो वर्ष त्योभन्दा बढी असिना आएको र खेतमा भएका फर्सीका लहरा, सुपारी, लिची र आँपको फुल, लसुन, प्याज तथा अन्य तरकारीमा समेत नोक्सानी भएका छन्। गहुँबालीमा ठूलो क्षति भएका छन्। 

इटहरी–२ का पवनविवश अधिकारीले जङ्गली चराचुरुङ्गी पनि असिना पानी र हुरीमा परेर ज्यान गुमाएका बताए। हुरीबतास र असिनाका कारण वीरबहादुर सुब्बा, रोशन अधिकारी, कुलबहादुर निरौला र ध्रुव नेपाल लगायतका घरमा पनि ठूलो क्षति पुगेको छ। 

हुरी बतास र असिनाले पुर्याएका क्षतिका बिषयमा जानकारी लिने काम भइरहेको बताउँदै सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले क्षतिका विवरण प्राप्त भएपछि तत्कालै प्राकृतिक प्रकोप उद्धार समितिका बैठक बसेर के कस्तो सहयोग गर्न सकिन्छ भन्ने विषयमा निर्णय लिइने बताएका छन्। रासस


 

More form the Internet

loading...