Suvadin, Home

काठमाडौंका लागि सरकारले यातायात कम्पनी खोल्दै

काठमाडौं उपत्यकाका यात्रुलाई सस्तो, सुलभ, स्तरीय र भरपर्दो नगर यातायात सेवा दिने गरी सरकारीस्तरबाट यातायात कम्पनी खुल्ने भएको छ। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको अग्रसरता एवम् काठमाडौं महानगरपालिकाको नेतृत्वमा उपत्यकाका २२ नगरपालिकाले सेयर राखी कम्पनी स्थापना गर्न लागेका हुन्।

काठमाडौं, माघ २७ - काठमाडौं उपत्यकाका यात्रुलाई सस्तो, सुलभ, स्तरीय र भरपर्दो नगर यातायात सेवा दिने गरी सरकारीस्तरबाट यातायात कम्पनी खुल्ने भएको छ। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको अग्रसरता एवम् काठमाडौं महानगरपालिकाको नेतृत्वमा उपत्यकाका २२ नगरपालिकाले सेयर राखी कम्पनी स्थापना गर्न लागेका हुन्।

दस करोड रूपैयाँ  खर्चमा कम्पनी स्थापनाको अन्तिम चरणमा पुगेको मन्त्रालयका पूर्वाधार विकास महाशाखा प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए।

कम्पनीका लागि कामपाले  दुई करोड रूपैयाँ, ललितपुर उपमहानगरपालिकाले  एक करोड रूपैयाँ, भक्तपुर नगरपालिकाले ६० लाख रूपैयाँ तथा कीर्तिपुर–गोकर्णेश्वर–बूढानीलकण्ठ–टोखा–नागार्जुन र मध्यपुरथिमी नगरपालिकाले ३५-३५ लाख रूपैयाँ सेयर लगानी गर्नेछन्।

शंखरापुर, कागेश्वरी मनोहरा, तारकेश्वर, चन्द्रागिरि, दक्षिणकाली, कार्यविनायक, गोदावरी, महालक्ष्मी, वज्रबाराही, अनन्तलिङ्गेश्वर, सूर्यविनायक, चाँगुनारायण र महामञ्जुश्री नगरकोट नगरपालिकाले रु १०्१० लाख चालु बजेटबाट कम्पनीका लागि छुट्याएका छन्। सरकारले चालु आवमै कम्पनीका लागि  तीन करोड रूपैयाँ अनुदान दिएको छ। 

'कम्पनीको प्रबन्धपत्र र नियमावली तयार पारी नगरपालिकाका तर्फबाट कार्यकारी अधिकृतलाई हस्ताक्षर गराइएको छ, कम्पनी दर्ता गरी तीन महिनाभित्र यातायात सञ्चालन गर्ने गरी काम अघि बढेको छ,' उनले भने।

राजधानीमै यात्रुले सकसपूर्ण रुपमा यातायातमा यात्रा गर्न बाध्य भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको गत साउनको निर्देशनबमोजिम मन्त्रालयले स्थानीय निकायलाई परिचालन गरी कम्पनी स्थापना गर्न लागेको हो। 

कम्पनी स्थापनापछि रातिकाे सयममा काम गर्नेहरुलाई  यात्रामा सहज हुनेछ। हाल निजी क्षेत्रले सञ्चालन गरिरहेको यातायातले बेलुकी ६ बजेपछि यातायात नचलाउँदा यात्रु मर्कामा पर्ने गरेका छन्। अपाङ्गमैत्री र वातानुकूलितयुक्त सवारी पनि सञ्चालनमा ल्याइने मन्त्रालयले जनाएको छ। 

कम्पनीका यातायात सुरू भएपछि अन्तर्राष्ट्रिय विमानस्थलबाट राति बाहिर जाने र आउने यात्रुलाई पनि सुविधा हुनेछ। सवारीमा सामान राख्ने स्थानसमेत हुनेछ। यसअघि सरकारी निकायकै बढी लगानीमा साझा यातायात काठमाडौं उपत्यका र उपत्यका बाहिर पनि सञ्चालनमा छ।

सरकारी निकायले नाफा यातायात क्षेत्रमै लगानी गर्ने गरी कम्पनीको प्रबन्धपत्र र नियमावलीमा व्यवस्था गरिएको छ। कम्पनीका सवारी सञ्चालनमा आएपछि उपत्यकामै रहेको यातायात एकाधिकार तोडिने र यात्रुले सहज रुपमा सेवा पाउने विश्वास गरिएको छ। रासस


 

More form the Internet

loading...