Suvadin, Home

उपत्यकामा बर्सेनि एक लाख सवारीसाधन भित्रिन्छन्

महानगरीय ट्राफिक प्रहरी महाशाखामा रहेका सिमित जनशक्तिका कारण पनि समस्या नियन्त्रण भन्दा बाहिर गइरहेको छ। काठमाडौं उपत्यकामा विसं १९५८ मा राणाहरुले छिमेकी मुलुक भारतदेखि भीमफेदी हुँदै सवारी साधन बोकाएर काठमाडौँ ल्याएका भए पनि सर्वसाधारणले विसं १९७० को दशकबाट मात्र सवारी साधनको प्रयोग गर्न पाएका थिए। उपत्यकाको जनसंख्या वृद्धिसँगै सवारी साधनको संख्या पनि अत्यधिक रुपमा बढेर गएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डे हाल  उपत्यकामा करिब ११ लाखको हाराहारीमा सवारी साधन रहेको बताउँछन्।
उपत्यकाका सडकमा सवारीसाधनकाे चाप । तस्बिरः शुभदिन

काठमाडौं, चैत ७– काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको छ। बढ्दो जनसंख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लंघनजस्ता कारणले ट्राफिक व्यवस्थापन जटिल एवम् चुनौतीपूर्ण बन्दै गएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा रहेका सिमित जनशक्तिका कारण पनि समस्या नियन्त्रण भन्दा बाहिर गइरहेको छ। काठमाडौं उपत्यकामा विसं १९५८ मा राणाहरुले छिमेकी मुलुक भारतदेखि भीमफेदी हुँदै सवारी साधन बोकाएर काठमाडौँ ल्याएका भए पनि सर्वसाधारणले विसं १९७० को दशकबाट मात्र सवारी साधनको प्रयोग गर्न पाएका थिए।

उपत्यकाको जनसंख्या वृद्धिसँगै सवारी साधनको संख्या पनि अत्यधिक रुपमा बढेर गएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डे हाल  उपत्यकामा करिब ११ लाखको हाराहारीमा सवारी साधन रहेको बताउँछन्।

उनले भने, ‘वार्षिक एक लाखको हाराहारीमा काठमाडौं उपत्यकामा सवारी साधन भित्रिन्छन्।’ विसं २००४ देखि सवारी साधन दर्ता प्रक्रिया सुरु भए पनि २००७ बाट मात्र ट्राफिक व्यवस्थापनका लागि रामदलको स्थापना भएको थियो।

कम बाटो र सीमित सवारी साधनका कारण २०१२ मा केन्द्रीय ट्राफिक कम्पनीका रुपमा १ सय २५ को संख्यामा ट्राफिक प्रहरीले काम गर्ने गरे पनि हाल एक हजार ३ सय ४६ ट्राफिक कार्यरत रहेको महाशाखाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन्।

‘सहरी विकासको अनुपातमा सडक विस्तार र सडक पूर्वाधार निर्माण हुन नसक्नुका साथै यातायात क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसक्दा समस्या उत्पन्न भएको हो,’ उनले भने । 
घिमिरे काठमाडौंमा सवारी साधनको चापअनुसार ट्राफिक खटाउने हो भने दुई हजारभन्दा बढी जनशक्ति आवश्यक पर्ने बताउछन्।

अहिले एक हजार ८५ जनाको दरबन्दी महाशाखामा भए पनि देशभरबाट तालिममा आएका ट्राफिकलाई समेत काममा खटाउनुपर्ने बाध्यता छ। उपत्यकाका थापाथली, केशरमहल, नयाँबानेश्वरलगायत मुख्य चोकमा कार्यालय सञ्चालन भएको दिनमा अहिले पनि तीनदेखि पाँच मिनेटसम्म सवारी साधन रोकिन्छन्।

केन्द्रीय ट्राफिक कम्पनीका रुपमा रहेको महाशाखा २०४९ मा उपत्यका ट्राफिक प्रहरी कार्यालयका रुपमा रहेको थियो। विसं २०४९ मा स्थापना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालय २०६३ मा आएर महानगरीय ट्राफिक प्रहरी महाशाखाका रुपमा स्थापना भएको हो।

विसं २०५४ देखि विभिन्न क्षेत्र तथा जिल्ला कार्यालय खोलेर काम गरेको ट्राफिकले उपत्यकामा मात्र ३५ स्थानमा विभिन्न कार्यालय खोलेर सेवा दिइरहेको छ। हाल एकजना ट्राफिकले दैनिक आठ घन्टादेखि १४ घन्टासम्म काम गर्नुपर्ने बाध्यता रहेको महाशाखाले जनाएको छ।

महाशाखाले सवारी दुर्घटना न्यूनीकरण गर्दै लैजाने, सवारी नियन्त्रण तथा व्यवस्थापन उच्च अनुशासित भएर गर्ने, समयानुकूल ट्राफिक संगठन परिवर्तन गर्दै लैजानु, ट्राफिक व्यवस्थापनमा जनसहभागिता बढाउने मूल्य र मान्यताअनुसार काम गरिरहेको महाशाखाका प्रमुख एवम प्रहरी नायब महानिरीक्षक मिङ्मार लामा बताउँछन्।

काठमाडौं उपत्यकाभित्र हाल एक हजार ५ सय किलोमिटरको हाराहारीमा सडक भए पनि सवारी साधन ओहोरदोहोर गर्ने मुख्य सडक ४ सय किलोमिटरदेखि ५ सय किमी रहेको लामाले बताएका छन्।

हाल महाशाखाले उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरण गर्न मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि कारबाही, लेन अनुशासन कारबाही, अनियन्त्रित फुटपाथमा सवारी पार्किङ गर्नेलाई कारबाही गर्न कडार्इ गरेको छ।

ट्राफिकले आफू चढेको सवारी साधनबाट उपत्यकाको सवारी व्यवस्थापन, वडिवन क्यामरा, ड्रोन क्यामरामार्फत सवारी साधन व्यवस्थापन गर्दै आएको छ । सवारी साधन दिनानुदिन भित्रिँदै जाने र आवश्यक पूर्वाधार नहुँदा उपत्यकाको ट्राफिक व्यवस्था झन जटिल बन्दै जाने महाशाखाले जनाएको छ। रासस


 

More form the Internet

loading...