सहमतिमै संशोधन प्रस्ताव पेस गरिएको दाहालको दाबी
चितवन, पुस २५
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख विपक्षी दल एमाले संग सहमति गरेर नै आइतबार संसदमा संविधान संशोधन प्रस्ताव पेस गरेको दाबी गरेका छन्।
प्रेस सेन्टर चितवनले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘एमाले अध्यक्ष केपी ओली र मेरा बीचमा एकखालको सहमती भएर नै प्रस्ताव टेबल गरिएको हो। विरोध पनि गरिराख्ने र सरकारले प्रस्ताव टेबुल पनि गर्ने भन्ने एकखालको सहमति भएकै हो।’
उनले ‘एग्री टु डिस एग्री’को यो चलन अन्तर्राष्ट्रिय रुपमा नै प्रचलनमा रहेको बताए।
बाहिर सञ्चारमाध्यममा भनिएजस्तो जबर्जस्ती प्रस्ताव टेबल नभएको भन्दै उनले एमाले अध्यक्ष ओलीसँग आफूले एक घन्टा कुराकानी गर्दा समझदारी बन्न नसकेपछि यो सहमति भएको खुलाए।
‘हामीबीचमा प्रक्रिया अगाडि बढाउने तिर जाऔं र विषयमा छलफल गर्दै गरौँ भन्ने सहमतिसँगै प्रस्ताव टेबल गरिएको हो। त्यसमा झुक्याउने केही कुरा छैन,’ उनको कथन थियो।
एमाले अध्यक्ष ओलीसँग गम्भीर रुपमा कुराकानी भएको भन्दै उनले देशलाई समझदारीका साथ अगाडि बढाउन सबै दल मिल्नुको विकल्प नभएको बताए। अरु सबै विषयमा सहमति, सहकार्य गरेर निर्वाचनसम्म जाने विषयमा पनि कुराकानी भएको उनको भनाइ छ।
दलहरुका बीचमा रहेको असहमति टुङ्गिने प्रक्रिया हिजोबाटै सुरु भएको पनि दाहालले बताए। ‘हिजै राष्ट्रपतिसँग तीन दलका प्रमुख नेताले लामो कुराकानी गरे। कुनै न कुनै उपाय खोजेर यो गतिरोध अन्त्य गर्न र देशलाई निर्वाचनतर्फ लैजाने भन्ने सहमति भएको छ,’ उनले भने।