Suvadin, Home

महाअभियोग प्रस्ताव पास गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव पास गर्नुपर्नेमा जोड दिएका छन्

काठमाण्डौं । 

प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव पास गर्नुपर्नेमा जोड दिएका छन् । 

मानव अधिकारकर्मीको टोलीसँग सोमबार बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले लोकतन्त्र रक्षाका लागि पनि व्यवस्थापिका–संसद्मा पेस भएको महाभियोग प्रस्ताव पास गर्नुपर्ने बताए । 

“प्रमुख दलका शीर्ष नेता महाभियोगकै पक्षमा हुनुहुन्छ, पारित गर्नेबारे आन्तरिक गृहकार्य भइरहेको छ”–उनले भने । प्रधानमन्त्रीले प्रमूख दलका शीर्ष नेताहरु महाअभियोगकै पक्षमा रहेको जानकारी दिँदै आन्तरिक गृहकार्यपछि सहमतिमा पुगिने जनाए । 

प्रधानमन्त्रीले भने, ‘हिजो भिन्न परिस्थितिमा सबैको सहमतिले लोकमानलाई अख्तियार प्रमूख बनाइयो, त्यसको समीक्षा पनि गरौंला । तर, अहिले भिन्न परिस्थिति आएको छ । लोकतन्त्रको रक्षा र सार्वजनिक संस्थाहरुको संरक्षणका लागि पनि महाअभियोग प्रस्ताव पास हुनुपर्छ । सरकारले प्रमूख दलहरुबीच सहमति जुटाएर प्रस्ताव पारित गराउने पहल गरिरहेको छ ।’

भेटमा प्रधानमन्त्रीले जनआन्दोलन लगायतका परिवर्तनका आन्दोलनमा मानव अधिकारकर्मीहरुको उल्लेख्य योगदान रहेको भन्दै खबरदारी जारी नै राख्न अधिकारकर्मीहरुलाई आग्रह गरे । 

वरिष्ठ मानव अधिकारकर्मी कृष्ण पहाडीको नेतृत्वमा गएको मानव अधिकारकर्मीको टोलीले संविधानको प्रस्तावनामा अहिंसा शब्द थप गर्नुपर्ने, मानवअधिकार उल्लङ्घनका दोषीलाई भविष्यमा कुनै पनि पदमा नियुक्त गर्न नहुने र लागु औषधविरुद्ध राष्ट्रिय अभियान थालनी गर्नुपर्ने माग गरेको छ ।

भारत–पाकिस्तानबीचको तनावमा सहजीकरण गर्नुपर्ने, छिटै स्थानीय तहको निर्वाचनको वातावरण निर्माण गर्नुपर्ने, जलवायु परिवर्तनबारे आयोग बनाएर काम गर्नुपर्नेलगायतका विषय पनि अघि सारेको छ । 


 

More form the Internet

loading...