Suvadin, Home

दरबार हत्याकाण्डको तथ्य सरकारले खोज्छ भने म सहयोग गर्छुः पूर्वराजा

‘दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याइयोस् भनेर मैले पहिले पनि भनेको थिएँ, अहिले पनि भन्छु,’ शाहनिकट स्रोतले शुभदिनसँग भन्यो, ‘मन्त्रिपरिषद बैठकमा छलफल मात्र हैन, हत्याकाण्डबारे सबै सत्यतथ्य ल्याउन चाहने हो भने म सहयोग गर्छु।’ 

शुभदिन संवाददाता, काठमाडौं, पुस ८

पूर्वराजा ज्ञानेन्द्र शाहले पन्ध्र वर्षअगाडि भएको दरबार हत्याकाण्डको तथ्य सरकारले खोज्न चाहेको हो भने सहयोग गर्ने प्रतिक्रिया दिएका छन्।

बिहीबार मन्त्रिपरिषद बैठकमा दरबार हत्याकाण्डको फाइल खोज्ने विषयमा छलफल भएको थियो। मन्त्रिपरिषद बैठकमा दरबार हत्याकाण्डबारे छलफल भएपछि पूर्वराजा शाहले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याइयोस् भनेर मैले पहिले पनि भनेको थिएँ, अहिले पनि भन्छु,’ शाहनिकट स्रोतले शुभदिनसँग भन्यो, ‘मन्त्रिपरिषद बैठकमा छलफल मात्र हैन, हत्याकाण्डबारे सबै सत्यतथ्य ल्याउन चाहने हो भने म सहयोग गर्छु।’ 

पूर्वराजा शाहले मुलुक गणतन्त्रमा गएपछि २०६५ जेठ २९ गते दरबार छोडेका थिए। दरबार छोड्दा उनले दरबार हत्याकाण्डबारे सत्यतथ्य ल्याउन भनेका थिए।

‘यदाकदा दरबार हत्याकाण्डको लाञ्छना लगाउने गरेको हुनाले उहाँले सत्यतथ्य ल्याउन भन्नुभएको थियो,’ पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकले भने, ‘खै सरकारले अहिलेसम्म के गर्यो?’

पूर्वराजा शाहले विद्यमान राजनीतिक परिस्थितिमाथि टिप्पणी गर्दै बुधबार विज्ञप्ति प्रकाशित गरेका थिए। त्यसको भोलिपल्टै मन्त्रिपरिषद बैठकले दरबार हत्याकाण्डको फाइल खोजेको हो।

०५८ जेठ १९ गते नारायणहिटी दरबारमा राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजदरबारका सदस्यहरू मारिएका थिए। त्रिभुवन सदनको बिलियार्ड हलमा रात्रिभोज चलिरहँदा दरबारका सदस्यहरूमाथि गोली चलेको थियो।

‘दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याइयोस् भनेर मैले पहिले पनि भनेको थिएँ, अहिले पनि भन्छु,’ शाहनिकट स्रोतले शुभदिनसँग भन्यो, ‘मन्त्रिपरिषद बैठकमा छलफल मात्र हैन, हत्याकाण्डबारे सबै सत्यतथ्य ल्याउन चाहने हो भने म सहयोग गर्छु।’

स्रोतका अनुसार बैठकमा गृहमन्त्री विमलेन्द्र निधिले दरबार हत्याकाण्डको प्रतिवेदन खोजी गर्नुपर्ने प्रस्ताव ल्याएका हुन्।

दरबार हत्याकाण्डपछि तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो। आयोगले तत्कालीन युवराज दीपेन्द्र शाहले गोली चलाएर राजपरिवारका १० सदस्यको हत्या गरेको प्रतिवेदन सरकारलाई दिएको थियो।

पाठकका अनुसार देश संवेदनशील अवस्थामा गुज्रिरहेका बखत पूर्वराष्ट्र प्रमुखले चिन्ता व्यक्त गर्नु स्वभाविक हो, त्यहीकारण बुधबार प्रेस विज्ञप्ति आएको हो। ‘तराई, पहाड, हिमाल छुट्याउने गरी जुन हिसाबले अहिले संघीयता ल्याउन खोजिँदैछ त्यसले देशको दीर्घकालीन हित गर्दैन भन्ने निष्कर्षमा पुगेर उहाँले चिन्ता व्यक्त गर्नुभएको हो,’ पाठकले भने, ‘पूर्वराष्ट्र प्रमुखलाई देशमा के भइरहेको छ चिन्ता हुँदैन?’

पूर्वराजा शाहले नेपाललाई अस्थिरता र अराजकताको आगोले जलाइरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए। शाहले संघीयतामा देखिएको जटिलतालाई संकेत गर्दै यस्तो अभिव्यक्ति सार्वजनिक गरेका थिए। 

शाहले नेपालीबीचको सामाजिक सद्भाव भेटिने प्रयास भएको, तराई, पहाड, हिमालमाझको ऐक्यभाव तोड्ने प्रयास भएको बताएका थिए।

‘ती सबै कार्य क्रान्तिकारी, परिवर्तनकारी, बलिदानी आदि शब्दभावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने खालका छन्,’ शाहले भनेका थिए। उनले त्यस्ता कार्य अशोभनीय मात्र नभई, असह्य पनि बनेको बताएका थिए।

उनले अहिलेको अवस्थामा मूल्य, मान्यतामा आधारित राजनीति नहुनु, शक्ति पृथकीकरणको सिद्धान्तमा ह्रास आउनु र आपराधिक कार्यले नेपाली समाज प्रताडित बनिरहेको भन्दै दिनानुदिन राष्ट्रिय एकता र भावनामाथि प्रहार भइरहेको बताएका थिए।


 

More form the Internet

loading...