Suvadin, Home

आशा लामा र शर्मिला पराजुलीको नाम फिर्ता

परराष्ट्र मन्त्रालयले सिफारिसमा परेका दुई राजदूतको नाम फिर्ता लिई १२ जना राजदूतको नाममात्रै मन्त्रिपरिषदमा पठाउने तयारी गरेको छ। परराष्ट्रमन्त्री प्रकाशशरण महतले सिफारिस राजदूतमध्ये विवादमा आएका दुई राजदूत आशा लामा र शर्मिला पराजुलीको नाम फिर्ता लिएको प्रस्ताव तयार गरेका हुन्।
अाशा लामा र शर्मिला पराजुली।

काठमाडौं, फागुन १६- परराष्ट्र मन्त्रालयले सिफारिसमा परेका दुई राजदूतको नाम फिर्ता लिई १२ जना राजदूतको नाममात्रै मन्त्रिपरिषदमा पठाउने तयारी गरेको छ। परराष्ट्रमन्त्री प्रकाशशरण महतले सिफारिस राजदूतमध्ये विवादमा आएका दुई राजदूत आशा लामा र शर्मिला पराजुलीको नाम फिर्ता लिएको प्रस्ताव तयार गरेका हुन्।

फागुन ९ गतेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेका ओमानका लागि शर्मिला पराजुली र युएईका लागि आशा लामाको नाम हटाएर महतले प्रस्ताव तयार पारेको परराष्ट्र स्रोतले जनायो।

खाडी मुलुकका लागि मेनपावर व्यवसायी रहेका दुबै जनाको राजदूत सिफारिसको तीब्र बिरोध भएपछि मन्त्री महतले नाम हटाएर १२ जनाको मात्रै प्रस्ताव तयार पारेका हुन्। स्रोतका अनुसार मंगलबार बस्ने मन्त्रिपरिषद बैठकमा परराष्ट्र सचिवले १२ जनाको प्रस्ताव मन्त्रिपरिषदमा दर्ता गराउन सक्ने सम्भावना छ।

लामालाई कांग्रेस सभापति शेरबहादुर देउवाले सिफारिस गरेका थिए। पराजुलीलाई फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सिफारिस गरेका थिए। फागुन ९ को मन्त्रिपरिषद बैठकमा मन्त्रीहरूले राजदूतको नाम टिपाएपछि परराष्ट्र मन्त्रालयले प्रस्ताव तयार पारेको थियो। मेनपावर व्यवसायीलाई राजदूत सिफारिस गरेकोमा चौतर्फी बिरोध भएपछि महतले सभापति देउवासँग नाम फिर्ताका लागि अनुमति लिएका थिए।

उक्त प्रस्ताव तयार गरेर मन्त्री महत शनिबार जेनेभा गएका छन्। परराष्ट्र स्रोतका अनुसार सभापति देउवाले लामाको नाम फिर्ता लिन स्वीकृति दिएका थिए। गच्छदारसँग कुराकानी हुँदा उनले पराजुलीको नाम फिर्ता लिन स्वीकृति दिएपछि दुबैको नाम हटाइएको परराष्ट्र स्रोतले बतायो। यद्यपि, पराजुलीको नाम हटाएकोमा गच्छदारले आपत्ति जनाएका छन्।

स्रोतका अनुसार नियमित बैठकअनुसार सोमबार मन्त्रिपरिषद बैठक थियो। तर, सार्वजनिक विदा परेकाले मंगलबारका लागि बैठक राखिएको छ। ‘गच्छदारले स्वीकार गरे मंगलबारको मन्त्रिपरिषद बैठकमा १२ जना राजदूतको नाम जाँदैछ,’ परराष्ट्र स्रोतले भन्यो, ‘अन्यथा, परराष्ट्र मन्त्रीज्यू फर्केपछि मात्र टुंगो लाग्ने छ।’

सरकारले विभिन्न १४ राष्ट्रमा राजदूत सिफारिस गर्दै पराजुली र लामालाई पनि सूचीमा राखेको थियो। पराजुलीलाई केपी शर्मा ओली नेतृत्वको सरकारले पनि ओमानका लागि राजदूत सिफारिस गरेको थियो।

 


 

More form the Internet

loading...