Suvadin, Home

दिलीपकुमार न्यौपाने, मेयर पदका स्वतन्त्र उम्मेदवार
'गोदावरीलाई सेटेलाइट सिटी बनाउने लक्ष्य छ'

संघीय संरचनाको सही ढंगले परिचालन गर्नुपर्छ। कर्मचारीलार्इ जनताप्रति उत्तरदायी बनाउनु पर्छ। नभए भ्रष्टाचार बढ्छ। त्यसकारण अहिले जानेबुझेको र सक्षम व्यक्ति नेतृत्वमा आउनु पर्छ। पहिलेभन्दा अहिलेको संरचनामा मेयरको धेरै जिम्मेवारी छ। सामान्य मान्छेले नगर चलाउन सक्दैन। पहिले जस्तो जिविस वा केन्द्र सरकारसँग स्वीकृती लिएर काम गर्नुपर्ने अवस्था पनि छैन। अब नगर एउटा सरकारसरह हो। नगरभित्रका स्रोत र साधन सबै नगरले परिचालन गर्ने अधिकार छ। अबको दिनमा पैसाको भरमा मात्रै नगर प्रमुख हुन सकिन्न। जाने बुझेको र केही गर्न चाहने व्यक्तिले मात्रै नगरको नेतृत्व गर्न सक्छन्।
ललितपुरको गोदावरी नगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवारी घाेषणा गरेका दिलीपकुमार न्यौपाने।  तस्बिर: रवी जोशी/शुभदिन

ललितपुर गोदावरी नगरपालिका वडा नम्बर १० का ४३ वर्षीय दिलीपकुमार न्यौपाने सामाजिक अभिन्यता हुन्। विभिन्न संघसंस्थामा कुशल नेतृत्व सम्हालिसकेका व्यक्ति हुन् उनी। व्यवस्थित आवासका क्षेत्रमा १८ वर्ष लामाे अनुभव उनीसँग छ। वि. सं .२०५६ सालमा ललितपुरको पाटन संयुक्त क्याम्पसमा नेवि संघकाे समर्थनमा स्वतन्त्र विद्यार्थी युनियनकाे उपसभापतिमा उम्मेदवारी दिएका थिए न्याैपानेले। त्यसपछि राजनीतिमा रुची भएपनि सक्रिय भएनन्। तर, आउँदो वैशाख ३१ गतेमा हुने स्थानीय तहको निर्वाचनमा उनी ललितपुर जिल्लाको गोदावरी नगरपालिकाबाट स्वतन्त्र रूपले मेयर पदमा उम्मेदवारी दिँदै छन्। गोदावरी क्षेत्रको विकासका लागि ‘मेरो नगर, मेरो रहर’ भन्ने नारासहित ५१बुँदे नगर विकासको योजना उनले अगाडि सारेका छन्। मेयरमा निर्वाचित भएर गोदावरी नगरपालिकालाई व्यवस्थित र देशकै नमूना सहर बनाउने उनको योजना छ। त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नात्तकोत्तर, रियलस्टेट मेनेजमेन्टमा बेलायतको लण्डनस्थित मेट्रोपोलिटन युनिभर्सिटीबाट एमफिल गरेका न्यौपानेसँग शुभदिनका गाेविन्द लुइँटेलले लिएकाे अन्तरवार्ताः


तपाईले आफ्नो क्षेत्रबाट समाजलाई के योगदान दिनु भएको छ?

–भिडभाड, अस्तव्यस्त, भौतिक, सामाजिक सुविधा नभएको ठाउँ नै सहर हो भन्ने मान्यता हामी कहाँ स्थापित भएको छ। जुन गलत हो। सहर भनेपछि भौतिक, सामाजिक, सांस्कृतिक तथा अरु विषयहरु व्यवस्थित भएको हुनुपर्छ। सहरमा बस्ने सामान्यभन्दा सामान्य व्यक्तिले पनि सुविधा उपभोग गर्न पाउनु पर्छ। व्यवस्थित आवासअन्तर्गत नियम कानुनलाई कसरी परिमार्जन गर्ने र नभएका नियम कानुनलाई कसरी बनाउने, छिमेकी क्षेत्रमा भएका सिस्टमहरु कसरी कार्यान्वयन गर्न सकिन्छ, उनीहरुले सहर कसरी व्यवस्थित गर्ने, साथै पूराना सहरलाई कायम नै राखेर त्यसलाई आधुनिक सहरमा कसरी विकास गर्ने र नयाँ सहर कसरी स्थापित गर्ने भन्ने अहिले मुख्य चुनौति हो। त्यस्ता शहरमा बसोबास गर्ने मान्छेहरुको दैनिकी र आवश्यकता कसरी पूरा गर्ने भन्नेमा नै हामीले काम गरिरहेका छौं।

१८ वर्षसम्म यो क्षेत्रमा काम गर्दा व्यवस्थित आवासको क्षेत्रमा गगन चुम्बी बिल्डिङको अवधारणामा विकास गर्याैं। तर, यसका लागि नेपालका व्यवसायिक बैंकहरुले सहयोग गरेनन्। बैंकहरुलाई नियम कानुनको अभावको कारण नै सहयोग गर्न समस्या भएको थियो। संयुक्त आवास सम्बन्धी ऐन २०६१ सालमा बन्यो। त्यसमा पनि निर्माणकर्ता र बैंकबाहेक अर्काे तेस्रो पक्षसँगको एग्रिमेन्टमा गर्नुपर्ने व्यवस्थामा हामीले पुरापुर सहयोग गरेका छौं। एभेरष्ट बैंक र नेपाल मर्चेष्ट एण्ड फाइनान्स बीचको सहकार्यका त्यस्तो त्रिपक्षीय सम्झौता अगाडि बढाइयो। त्यो सम्झौता अगाडि बढेपछि मात्रै अपार्टमेन्ट किनबेचमा सहजता आयो। अपार्टमेन्टमा बैंकहरु ग्यारेटी गर्न इच्छुक भए। लगानीकर्ताका लागि अपार्टमेन्ट खरिद गर्न सहज बनाउने काम हामीले गरेका हाैं। नेपाल सरकारसँग सहकार्य गरेर सम्बन्धित मालपोत कार्यालयबाट खरीदकर्तालाई लालपूर्जा पनि जारी गर्ने काम हामीले गरेका छौं।

तपाईले स्थानीय निकायको निर्वाचनमा किन उम्मेदवारी घोषणा गर्नु भएको?

–अहिले संघीय संरचनामा सेना परिचालन र नोट निस्कासन गर्ने बाहेकका काम नगरबाटै गर्ने सकिने अधिकार छ। स्रोतहरुको व्यवस्थापन गर्ने, फोहोरमैलाहरुलाई तह लगाउने। स्वास्थ्य चौकी अस्पतालहरु निर्माण गर्ने जिम्मा नगरपालिकाको हो। नगरको विकासमा अलि अनुभवी र बुझेको मान्छे भएन भने नगरको विकास हुन सक्दैन। संघीय संरचनाको सही ढंगले परिचालन नगर्ने हो भने भष्ट्राचार मौलाउँछ। त्यसकारण यो पनि अहिले जानेबुझेको र सक्षम व्यक्ति नेतृत्वमा आउनु पर्छ।

पहिलेभन्दा अहिलेको संरचनामा मेयरको धेरै जिम्मेवारी छ। सामान्य मान्छेले नगर चलाउन सक्दैन। पहिले जस्तो जिविस वा केन्द्र सरकारसँग स्वीकृति लिएर काम गर्नुपर्ने अवस्था पनि छैन। अब नगर एउटा सरकार हो। नगरभित्रका स्रोत र साधन सबै नगरले नै परिचालन गर्ने अधिकार छ। अबको दिनमा मुढे बल प्रयोग गर्ने वा पैसाको भरमा मात्रै नगरप्रमुख हुने दिन गएका छन्। जानेबुझेको र केही गर्न चाहने व्यक्तिले मात्रै नगरको नेतृत्व गर्नुपर्छ। त्यसकारण पनि मैले उम्मेदवारी दिन लागेको हो। 

तपाई किन गोदावरी नगरपालिकाबाटै मेयर बन्न खोजेको? 

–गोदावरी नगरपालिकाको आफ्नै सांस्कृतिक तथा पर्यावरणीय महत्व छ। यो आफैमा तपाेभूमि पनि हो। यहाँ १२ वर्षमा एक पटक मेला पनि लाग्छ। यो मेलामा नेपाल लगायत छिमेकी देश भारत श्रीलंका लगायतका मुलुकबाट पनि मानिसहरु मेला भर्न आउँछन्। पर्यटकीय क्षेत्रको हिसाबले निकै महत्वपूर्ण क्षेत्र हो। फुल्चोकी पनि हाम्रै क्षेत्रमा पर्छ। उपत्यकाको चार वटा विशेष महत्वका पहाडहरुमा मध्ये यो एक हो। जमिन उत्तरतर्फ फर्केको कारण मनोरम हिमाली श्रृंखलाहरु पनि देख्न सकिन्छ। पर्यटकीय हिसाबले अरु धेरै सम्भावाना पनि छन्। होमस्टेहरु, प्राकृतिक सुरन्दरताहरु पनि उतिकै छन्। उपत्यकामा सबैभन्दा धेरै भूभाग ओगटेको क्षेत्र हो। यी र यस्ता सम्भावना रहँदा-रहँदै यो नगरपालिका विकास निर्माणले पछि छ।

गोदावरीलाई देशको नमूना नगरपालिका बनाउने मैले उम्मेदवारी दिन लागेको हो। हिजाेका दिनमा भौतिक र प्राकृतिक स्रोतसाधनहरु यहाँका राजनीतिक दलहरुले आफ्नो स्वार्थ अनुकूल प्रयोग गरियो। यहाँ, अर्काे स्वेत भ्रष्टाचार पनि भएको छ। यहाँ घर बनाउनु पर्दा गोदावरी नगरपालिकाभित्र दर्ता भएका इञ्जिनियरहरुको मात्रै सिफारिस चल्छ। अरू इन्जिनियरले काम नै नपाउने अवस्था छ। गोदावरीभित्र दर्ता भएका इञ्जिनियरहरुले नक्सा बनाएको हुनुपर्ने र त्यसलाई मात्रै पास गरिने व्यवस्था गरिनुमा यहाँका राजनीतिक पार्टी र कर्मचारीहरुको मिलिमोतो देखिन्छ। यो एउटा नीतिगत भष्टाचार हो। यस्तो व्यवस्था हटाउन पर्ने छ। म त्यो विषयमा पटक–पटक नगरपालिकासँग कुराकानी पनि गरेका छु। त्यो हटाउने मेरो योजना छ।

गोदावरी नगरपालिकाको आफ्नै सांस्कृतिक तथा पर्यावरणीय महत्व छ। यो आफैमा तपाेभूमि पनि हो। यहाँ १२ वर्षमा एक पटक मेला पनि लाग्छ। यो मेलामा नेपाल लगायत छिमेकी देश भारत श्रीलंका लगायतका मुलुकबाट पनि मानिसहरु मेला भर्न आउँछन्। पर्यटकीय क्षेत्रको हिसाबले निकै महत्वपूर्ण क्षेत्र हो। फुल्चोकी पनि हाम्रै क्षेत्रमा पर्छ। उपत्यकाको चार वटा विशेष महत्वका पहाडहरुमा मध्ये यो एक हो। जमिन उत्तरतर्फ फर्केको कारण मनोरम हिमाली श्रृंखलाहरु पनि देख्न सकिन्छ। पर्यटकीय हिसाबले अरु धेरै सम्भावाना पनि छन्। होमस्टेहरु, प्राकृतिक सुरन्दरताहरु पनि उतिकै छन्। उपत्यकामा सबैभन्दा धेरै भूभाग ओगटेको क्षेत्र हो। यी र यस्ता सम्भावना रहँदा-रहँदै यो नगरपालिका विकास निर्माणले पछि छ।

गोदावरी क्षेत्रमा तपार्इले के योगदान दिनु भएको छ?

–म यो क्षेत्रमा जन्मिए हुर्किएँ। मैले यो क्षेत्रमा रहेर सामाजिक काम पनि गरेको छु। गाउँ टोलमा सरसफार्इ अभियान सञ्चालनदेखि खानी सञ्चालन गर्दा देखिएको पर्यावरणीय समस्या पनि र स्रोतको दुरुपयोग गर्ने काम पनि रोक्न मैले भूमिका खेलेको छु। ढुङ्गारोडा, पानीका स्रोत आदिको राम्रो सदुपयोग हुनुपर्यो भनेर हामीले सम्बन्धित ठाउँमा आवाज उठाएका छौं। स्थानीयको फाइदा हुने र पर्यावरणलाई पनि फाइदा हुने हिसाबले स्रोतहरु सही रुपमा उपयोग गर्नुपर्छ।

भोलिका दिनमा पनि स्थानीय निकायलाई परिचालन गरी स्वतन्त्र र निष्पक्ष हिसाबले यी स्रोतको परिचालन गर्ने छौं। गोदावरीमा अहिले त्यस्तो विकास भएको छैन। अहिले नगरपालिका मात्रै घोषित भएको हो। अहिलेको नगरभित्र देखिएका केही परिर्वतन पनि कुनै राजनीतिक दलहरुले ल्याएको परिर्वतन होइनन्। नगरभित्रका मानिसहरुलाई पनि आर्थिक रुपमा सक्षम बनाउनु पर्छ। स्रोत र साधनहरुको सही सदुपयोग हुन सकेमा त्यो असम्भव पनि छैन।

तपाई यसअघि कुनै राजनीतिक दलमा आबद्ध रहनु भएको थियो? 

म यस अगाडि कुनै राजनीतिक दलको कार्यकर्ता भइँन। तर, म प्रजातन्त्रमा विश्वास गर्ने व्यक्ति हुँ। प्रजातन्त्रमा विश्वास गर्ने र मल्टिपार्टी सिस्टमविरुद्ध नजाने मेरो मान्यता हो। म कुनै पार्टीको शुभेच्छुक पनि होइन।

स्वतन्त्र उम्मेदवारी दिनु पर्ने कारण चाहिँ?

२०४६ पछि नेपाली कांग्रेस र अरु पार्टीहरु पनि असफल भएका छन्। ती पार्टीको पक्षमा किन लाग्ने हामी? उनीहरु बल र पैसाका भरमा निर्वाचन जितेका कारण पनि असफल भएका हुन्। ती पार्टीको विपक्षमा स्वतन्त्र, निष्पक्ष र अनुभवी, साथै सक्षम व्यक्तिको खाँचो भएकाले मैले उम्मेदवारी दिएको हो।

तपाईको क्षेत्रमा चुनावी माहोल कस्तो छ?

–जनतालार्इ कति बेला भोट हाल्न जाउँ भन्ने हतारो भइसकेको छ। तर, प्रमुख राजनीतिक दलहरुमा उम्मेदवार जान्न खिचातानी भइरहेको पाइएको छ।

तपाईले कुन-कुन दलसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ? 

–अहिले राजनीतिक रुपमा चर्चामा रहेका नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र लगायत दलले उम्मेदवार दिन्छन्। मेरो प्रतिस्पर्धा नै यी दलहरुसँग हुने निश्चित छ। यी बाहेक अरु पनि केही दलले उम्मेदवारी दिने सम्भावना छ। अरू दल प्रतिष्पर्धा गर्नमात्रै अाएका हुन्। मसँग एजेण्डा छ, त्यसैले म नै विजयी हुन्छु।

तपाईले मेयर पदमा जित्नु भएमा गोदावरी नगरपालिकालाई कुन अवस्थामा पुर्याउने योजना बनाउनु भएको छ?

–गोदावरी नगरपालिका धेरै सम्भावना भएको नगरपालिका हो। यहाँको सामुदायिक वनलाई पनि दीगो आर्थिक उपार्जन गर्ने हिसाबले प्रयोग गर्ने योजना बनाएका छौं। यसलाई राष्ट्रिय निकुञ्जको रुपमा पनि विकास गर्ने योजना हाम्रो छ। यसले अरु सम्भावनाको ढोका खोलिदिन्छ। पानीका स्रोतहरु कर नतिरी अन्यत्र गइरहेका छन्। त्यसलाई हामीले करको दायरामा ल्याउने योजना छ। जग्गा जमिनहरुमा कर लगाइन्छ, जुन केन्द्र सरकारले गरिरहेको पनि छ। बजारहरुलाई क्षेत्रगत रुपमा कर निर्धारण गर्ने गर्दछौं। करको समयसापेक्ष र परिर्वतित समय अनुरुप गर्नु पर्ने निर्धारण गरिने छ। जनताले कर तिर्न सक्ने हिसावले करको निर्धारण गर्नुपर्छ। जनतालाई कर तिर्न योग्य बनाउने छौं।

करको राम्रो सदुपयोग पनि गर्ने वातावरण हामीले निर्माण गर्ने छौं। तब मात्रै जनताले खुसी साथ कर तिर्ने छन्। गोदावरी नगरपालिकाभित्रका जेष्ठ नागरिकलाई यातायात नि:शुल्क गर्ने योजना छ। त्यस्तै बालबालिकाका लागि सामाजिकीकरण गर्न र सिकार्इमा सहयोग पुग्ने हिसाबले खेलमैदान र बालग्रामको अवधारणा पनि ल्याएका छौं। नगरभित्र बसोबास गर्नेहरुका लागि अस्पतालको पनि अवधारणा अगाडि ल्याएका छौं। जुन नगरपालिका आफैले सञ्चालन गर्ने छ। पर्यावरण विश्वविद्यालय र सांस्कृतिक विश्वविद्यालको अवधारणा पनि अगाडि बढाएको छु। हामी कहाँ भीडभाड, फोहोर, अवस्था र प्रदुषण सहरमा हुन्छ भन्ने मान्यता बसिसकेको छ। सहरप्रतिको यस्तो मान्यता चिर्नुपर्ने भएको छ।

व्यवस्थित सहर कसरी निर्माण गर्न सकिन्छ भन्ने कुरालाई मैले राम्रोसँग बुझेको छु। त्यसकारण गोदावरीलाई देशकै नमूना नगर बनाउने मेरो सपना छ। मैले मेरो एजेण्डामा पनि गोदावरी नगरपालिकालाई देशकै एक भ्रष्ट्राचारमुक्त आदर्श नमूना नगरपालिकाको रुपमा चिनाउने उल्लेख गरेको छु। यस नगरमा मेरो यो रहर पनि छ। लेलेमा औद्योगीकग्राम बनाउने योजना पनि बनाएको छु। यो योजना अन्तर्गत एक वर्षमा ५ हजार व्यक्तिलाई रोजगारी दिने लक्ष्य राखिएको छ। जेष्ठ नागरिकलाई बृद्धाश्रमको पनि व्यवस्था गर्ने योजना छ। अहिलेको सहरीकरण र एकल परिवारका कारण बृद्धबृद्धाहरु उपेक्षित बन्दै गएका छन्। शुल्क लाग्ने र नलाग्ने दुवै खालका बृद्धाश्रम पनि बनाउने योजना छ।

तपाईले गोदावरी नगरपालिकाभित्र सेटेलाइट सिटीको पनि परिकल्पना गर्नु भएको रहेछ? त्यो कसरी सम्भव छ?

–हो, गोदावरी नगरपालिकाभित्र दुई वटा सेटेलाइट सिटीको निर्माण गर्ने योजना पनि बनाएको छु। सेटेलाइट सिटीभित्र मानिसलाई चाहिने सबै भौतिक सुविधाले सम्पन्न भएको नगरपालिका हो।

देशमा पहिलो पटक संघीयताको मोडल अनुरुप निर्वाचन हुँदै छ। यसमा के-कति अधिकार छ भन्ने कुरा जनताका घर घरमा गएर बुझाउन तपाईहरूलाई के कति चुनौति छ?

–जनतालाई यो कुरा बुझाउन निकै गाह्रो छ। म स्वतन्त्र व्यक्ति हुँ। अरू राजनीतिक पार्टी जस्तो मेरा कार्यकर्ता र जनशक्ति पनि छैनन्। तर, अरु राजनीतिक दलहरु यो कुरा बुझाउने पक्षमा पनि छैनन्। उनीहरुको उद्देश्य नै भोट लिएर पद हात पार्ने र आफ्नो स्वार्थ पूरा गर्ने मात्रै केन्द्रित छन्। जनतामा मेरो सहर हो भन्ने भावना जागृत गर्ने काम उनीहरुमा हिजो पनि भएन आजपनि हुने लक्षण देखिन्न।

स्वतन्त्र उम्मेदवारका चुनौति के–के हाेलान्?

–म मुढे बल र पैसाका भरमा निर्वाचन जित्छु भन्नेलाई चुनौति दिने छु। मेरो एजेण्डा अरुको एजेण्डाभन्दा पछि पर्यो भने म पछि हट्न तयार छु। म कसैको दबाब र प्रभावमा परेर उम्मेदवारी फिर्ता लिने पक्षमा छैन। यदि मभन्दा योग्य मान्छे निर्वाचन लड्छु भनेर आउँछन् भने म पछि हट्न पनि तयार छु। मेरो योग्यता क्षमता पनि जनताले एकपटक हेरेर भोट दिने छन् भन्नेमा म पूर्ण विश्वस्त छु।

तपाईले निर्वाचन जित्ने आधारहरु के–के छन्? 
–मैले जित्ने आधार भनेकै मेरा एजेण्डा हुन्। मैले हरेक वर्ग तहका लागि योजना ल्याएको छु। मैले जेष्ठ नागरिकका लागि योजना ल्याएको छु। युवाका लागि रोजगारीको व्यवस्था गर्ने मेरो एजेण्डा छन्। बच्चा, युवादेखि बृद्धसम्मका लागि पनि योजना छन्। जुन कुरा अतिआवश्यक पनि छ। अपांगता भएका र अल्पसंख्यकको लागि पनि योजना छन्।

व्यवस्थित नगर बनाउनका लागि कसले के गर्नु पर्ने हो?
–यसका लागि सरकार र जनता दुवैले काम गर्नुपर्ने हुन्छ। व्यवस्थित सहरको शोभा भनेको सार्वजनिक यातायात र सफा सडक हो। विश्वका विकसित १४ वटा देशहरु घुम्दा त्यो कुराको मैले अनुभव गरेको छु। पहिला यी दुई काम गर्न सकियो भने सहर आफै सभ्यतातर्फ उन्मूख बन्छ। यसका साथै जनताको आवश्यकता तथा समस्या पनि सम्बाेधन गर्नुपर्छ। 

गोदावरी क्षेत्रमा धेरैजसो मानिसहरू कृषिमा आश्रित छन्, उनीहरुको पनि विकास कसरी गर्ने योजना बनाउनु भएको छ?
–अहिले खण्डिकृत कृषि प्रणालीलाई एकीकृत गर्ने मेरो योजना छ। अहिले एउटा व्यक्तिले मात्रै कृषि गरेर सम्भव छैन। किनभने आवश्यकता बढेको छ। मान्छेहरुलाई यसको महत्व बुझाउनका लागि जरुरी छ।

अरु योजना के छन् तपाईसँग? 
–चापागाउँको खाली रहेको दुई हजार रोपनी जग्गामा पानीको स्टोर गर्ने योजना पनि छ। हामीसँग पानीको ठूलो स्रोत छ। सुख्खा मौसममा पिउने र सिञ्चार्इका लागि पनि अभाव नहोस् भन्नका लागि स्टोर गर्ने योजना बनाएको छु। मेरो नगरबाट महानगर काठमाडौंलाई पानी आपूर्ति गर्ने मेरो योजना छ। पानी बिक्रीबाट आउने रकम पनि त्यहीको जनताका लागि खर्च गर्ने योजना मैले बनाएको छु। नगरबासीले आफ्नो घर बनाउदा अनिवार्य रुपमा ‘शक पिट’ बनाउनु पर्ने नियमलाई प्रभावकारी बनाउने योजना छ। यो भनेको घरबाट निस्किने मलमुत्र मात्रै ढलमा पठाउने र अरु पानीहरु जमिनभित्र पठाउने व्यवस्था हो। जसले गर्दा जमिनभित्रका पानीका स्रोतहरु संरक्षित गर्न सहयोग पुग्छ।

जसका लागि नगरपालिकाले पहिलो पटक घर बनाउँदा पहिलो घरका लागि पाँच हजार रुपैयाँ नगद अनुदान दिने व्यवस्था गरिने छ। ‘शक पीट’ नबनाउनेको घर निर्माण सम्पन्न प्रमाणपत्र नगरपालिकाबाट नदिने व्यवस्था मिलाइने छ। अनियन्त्रित तवरबाट जग्गा विकासको नाउमा गरिने प्लटिङलाई निरूत्साहित गर्ने योजना छ। प्लटिङ गर्दा कम्तिमा एक सय पचास परिवार बसोबास गर्न मिल्ने गरी नगरपालिकाको मापदण्ड अनुसार प्लटिङ गर्न नगरपालिका आफैले सहयोग गर्ने छ। जसमा आवश्यक पर्ने विद्युत, खानेपानी, ढल निकास, सडक तथा अन्य आधारभूत संरचनाको लागि नगरपालिकाले सहयोग गर्ने मेरो योजना छ।

कृषियोग्य जमिन नास हुने र त्यसको नाममा व्यापार भएकाले पनि त्यो नियन्त्रण गर्न लागि यस्तो योजनाको आवश्यकता परेको हो। नेपालमा जमिनलाई व्यापारको रुपमा हेरियो यो प्रतिउत्पादक बन्न पुगेको छ। त्यस तर्फपनि सोच्नु पर्ने भएको छ। त्यसकारण जमिन अहिले नास भइरहेको छ। त्यसका लागि हामीले पहल गर्नु पर्ने  भएको छ। भूउपयोग नीतिलाई कडाइका साथ कार्यान्वन गर्ने मेरो योजना छ।


 

More form the Internet

loading...