Suvadin, Home

चुनावको मिति तोक्न सरकारकाे तयारी अन्तिम चरणमा

आइतबार राति अबेरसम्म बालुवाटारमा बसेको सत्ता घटक माओवादी केन्द्र, कांग्रेस र मधेसी मोर्चाको उच्च नेतृत्वबीच बैठकमा चुनाव गराउनका लागि मधेसमा स्थानीय तहको संख्या थप्ने जानकारी प्रधानमन्त्री दाहालले गराएका थिए। ‘भोलि बिहानको क्याबिनेटमा स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदन बुझ्दै आवश्यक संख्या थप्न कार्यादेशसहित निर्णय गराउँछु,’ प्रधानमन्त्री दाहाल निकट स्रोतले बैठकमा भएका कुरा उद्धृत गर्दै शुभदिनसँग भन्यो। उनले मोर्चा नेताहरुलाई ‘आफूलाई विश्वास गरिदिन हुन’ भनेर पटकपटक अनुरोध गरेका थिए।
मन्त्रिपरिषद्काे बैठक । फाइल तस्विर

काठमाडौं, फागुन ९– सरकार स्थानीय निकाय चुनावको मिति घोषणाको अन्तिम तयारीमा जुटेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख मसान्तभित्रै एकै चरणमा सक्ने गरी चुनाव मिति घोषणाको तयारी गरेका हुन्।

सोमवार बिहान राजधानीमा आयोजित एक कार्यक्रममा उनले त्यसको प्रष्ट संकेत गरे। प्याब्सनको अधिवेशन उद्घाटन गर्दै भने, ‘आजैको क्याबिनेटले चुनावको मिति घोषणा गर्छ।’ चुनावको मिति घोषणा भएमा सत्तारुढ र प्रतिपक्षी दलहरुका बीचमा चुलिएको राजनीतिक गतिरोध तत्कालका लागि भएपनि केही साम्य हुनेछ।

तर, मधेसी मोर्चाको ‘पहिला संविधान संशोधन अनि मात्रै चुनाव’ को एक सुत्रीय रटानले सत्तापक्ष अप्ठेरोमा पर्ने सम्भावना छ। यद्यपि, प्रधानमन्त्री दाहालले सबैको समझदारीमा मिति घोषणा हुने र त्यसपछि संसदमा दर्ता भएको संशोधन विधेयक पारित गरिने बताउँदै आएका छन्।

सोमबार साँझको मन्त्रिपरिषद् बैठकबाट मिति घोषणाको निर्णय लिइने छ। वैशाख मसान्तभित्र एकै चरणमा सिध्याउने गरी मिति घोषणाको सम्पूर्ण तयारी गरिसकिएको माओवादी केन्द्रका नेताहरुले बताएका छन्।

स्थानीय तहको संख्या थपिने

आइतबार राति अबेरसम्म बालुवाटारमा बसेको सत्ता घटक माओवादी केन्द्र, कांग्रेस र मधेसी मोर्चाको उच्च नेतृत्वबीच बैठकमा चुनाव गराउनका लागि मधेसमा स्थानीय तहको संख्या थप्ने जानकारी प्रधानमन्त्री दाहालले गराएका थिए।

‘भोलि बिहानको क्याबिनेटमा स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदन बुझ्दै आवश्यक संख्या थप्न कार्यादेशसहित निर्णय गराउँछु,’ प्रधानमन्त्री दाहाल निकट स्रोतले बैठकमा भएका कुरा उद्धृत गर्दै शुभदिनसँग भन्यो। उनले मोर्चा नेताहरुलाई ‘आफूलाई विश्वास गरिदिन हुन’ भनेर पटकपटक अनुरोध गरेका थिए।

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि दाहालकै कुरामा थपेका थिए, ‘अब कुनै पनि बहानामा चुनावमा जान ढिलाइ गर्न हुँदैन, मधेसको मुद्धा सम्बोधन गर्ने प्रतिवद्धताबाट कांग्रेस विचलित हुँदैन।’ उनले चुनावको ढोका खोल्न मोर्चा बाधक बन्न नहुने टिप्पणी गरेका थिए।

यस्तै चुनाव मिति घोषणालाई लिएर एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठले आइतबार साँझै थापाथलीमा एक घण्टा छलफल गरेका थिए। श्रेष्ठले सत्ता घटक चुनाव घोषणाको अन्तिम तयारीमा रहेकाले आवश्यक सहयोगका लागि प्रतिपक्षी नेतालाई आग्रह गरेका थिए।

मधेसी मोर्चाले पनि मधेसमा संख्या थपे सकारात्मक हुने जनाएको छ। जनसंख्याको घनत्वलाई ध्यान दिँदै संख्या थप्ने आश्वासन दाहालले दिएपछि मोर्चा नेताले त्यसलाई सकारात्मक रूपमा लिएका हुन्।


 

More form the Internet

loading...