Suvadin, Home

चुनावमा जान प्रधानमन्त्रीले राखेकाे प्रस्ताव माेर्चाद्वारा अस्वीकार

सरकारले आइतबार स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँग सामूहिक भेट गरी अब निर्वाचनको मिति घोषणा गर्न ढिलाई गर्ने अवस्था नरहेको बताएका हुन्। स्थानीय निर्वाचनको मिति घोषणा गरेर संविधान संशोधन प्रस्तावलाई अघि बढाउनु नै उत्तम विकल्प हुने निष्कर्षमा प्रधानमन्त्री पुगेको र उनले सोही कुरा मधेसी मोर्चाका नेताहरुपनि राखेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिए।
बैठकमा सहभागी प्रधानमन्त्री तथा माेर्चाका नेताहरू। तस्विरः प्रधानमन्त्रीकाे सचिवालय

काठमाडौं, फागुन ७


सरकारले आइतबार स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँग सामूहिक भेट गरी अब निर्वाचनको मिति घोषणा गर्न ढिलाई गर्ने अवस्था नरहेको बताएका हुन्।

स्थानीय निर्वाचनको मिति घोषणा गरेर संविधान संशोधन प्रस्तावलाई अघि बढाउनु नै उत्तम विकल्प हुने निष्कर्षमा प्रधानमन्त्री पुगेको र उनले सोही कुरा मधेसी मोर्चाका नेताहरुपनि राखेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिए।

खनालले प्रधानमन्त्री दाहाल निर्वाचनको मिति घोषणा गरे संविधान संशोधन प्रस्ताव संसदमा अघि बढाउन प्रमुख प्रतिपक्षी एमालेले साथ दिनेमा विश्वस्त रहेको पनि स्पष्ट पारेका छन्।

बैठकमा मधेसी मोर्चाका नेताहरुले यथास्थितिमै निर्वाचनको मिति घोषणा भए आन्दोलनमा जाने चेतावनी दोहोर्याएका थिए। राज्यले नै मुलुकलाई द्वन्द्वमा फसाउने तयारी गरेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिक्रिया दिए। उनले निर्वाचनको मिति घोषणा हुन बित्तिकै आफूहरुले आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिए।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरुका माग सम्बोधन नभई निर्वाचनको मिति घोषणा भए सोही दिन आन्दोलनको मिति पनि घोषणा हुने उल्लेख गरेका छन्। उनले सरकार आफैले मुलुकलाई द्वन्द्वमा फँसाउन खोजेको भन्दै आपत्ति पनि जनाए।

प्रमुख तीन दलबीच स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गरेर जाने सहमति भइसकेको छ। प्रमुख प्रतिपक्षी एमाले निर्वाचनको मिति घोषण गरे संविधान संशोधन प्रस्तावअघि बढाउन सहमत हुने प्रधानमन्त्री दाहालको धारणा छ।

सरकारले मधेसी मोर्चालाई साथमा लिन तराई मधेसमा स्थानीय तहको संख्या बढाउन सकिने प्रस्ताव पनि अघि सारेको छ। प्रधानमन्त्री दाहालले शुक्रबार साँझ प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसँग भेट गरी आइतबार निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको जानकारी दिएका थिए।

निर्वाचन आयोगले सरकारलाई तत्काल निर्वाचनको मिति घोषणा नभए जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गराउन नसकिने जानकारी गराउँदै आएको छ। सरकारलाई आगामी माघ ७ गते भित्र तीन वटै तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने संवैधानिक बाध्यता छ।


 

More form the Internet

loading...