Suvadin, Home

लोकमान पक्षका वकिलहरूको सकियो, आइतबार निवेदकको जवाफी बहस

शुक्रबार ११ बजेदेखि सुरू बहसमा कार्की पक्षका वकिलले तीन घण्टा बहस गरेका थिए। बिहीबारदेखि जारी बहसमा कार्की पक्षका वकिलका लागि शुक्रबार जम्मा ३० मिनेटको समय सर्वाेच्चले छुट्याएको थियो। कार्की पक्षका बहस शुक्रबार लम्बिएकाले सुनुवाइ ‘हेर्दाहेर्दै’को सूचीमा राखिएको छ।
लोकमानसिंह कार्की।

काठमाडौं, पुस २२ 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको योग्यता सम्बन्धि रिटको शुक्रबारकाे सुनुवाइमा कार्की पक्षका वकिलहरूले बहस सकेका छन्।

शुक्रबार ११ बजेदेखि सुरू बहसमा कार्की पक्षका वकिलले तीन घण्टा बहस गरेका थिए। बिहीबारदेखि जारी बहसमा कार्की पक्षका वकिलका लागि शुक्रबार जम्मा ३० मिनेटको समय सर्वाेच्चले छुट्याएको थियो। कार्की पक्षका बहस शुक्रबार लम्बिएकाले सुनुवाइ ‘हेर्दाहेर्दै’को सूचीमा राखिएको छ।

आइतबार ११ बजेदेखि फेरि सुरू हुने बहसमा रिट निवेदकका तर्फबाट जवाफी बहस हुने सर्वाेच्च अदालतका सहप्रवक्ता विश्वराज पौड्यालले बताए। शुक्रबारको बहसमा कार्की पक्षका वकिलहरू बद्रीबहादुर कार्की, कृष्ण सापकोटा, बालकृष्ण न्यौपानेलगायतले बहस गरे। उनीहरूले कार्कीको नियुक्तिको सिफारिस संवैधानिक परिषदबाट भएकाले त्यसलाई सर्वाेच्चले पुनरावलोकन गर्न नमिल्ने बताए।

‘मिडिया हावी’ भरहेको अवस्थामा सर्वाेच्चले स्वतन्त्र रुपमा फैसला गर्ने अवस्था नरहेको तथा रिटलाई पाँच जना न्यायाधीशको पूर्ण इजलासमा राखी हेरिनु पर्ने तर्क उनीहरूले गरेका छन्। बिहीबार कार्कीको तर्फबाट वकिलहरू सुशील पन्त, बाबुराम कुँवर, महादेव यादव, कुमार रेग्मीले बहस गरेका  थिए।

उक्त रिटमा न्यायाधीशहरू आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा पुस ७ देखि बहस सुरू भएको हो। रिट निवेदकका तर्फबाट अधिवक्ताहरू ओमप्रकाश अर्याल, सुरेन्द्र भणडारी, डा. चन्द्रकान्त ज्ञवालीलगायत एक दर्जनले बहस गरिसकेका छन्।

गत कात्तिक ५ मा अधिवक्ता अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्तिका लागि योग्यता नपुग्ने भन्दै कार्कीविरूद्ध रिट दायर गरेका थिए। उनीमाथि विभिन्न चार अारोप लगाइएको छ। 


 

More form the Internet

loading...