Suvadin, Home

नारायणकाजीले भने, ‘सत्ता समीकरणको एजेन्डा बोकेर दिल्ली गएको होइन’

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू नेपालको सत्ता समीकरण परिवर्तनको एजेन्डा बोकेर नयाँ दिल्ली नगएको बताएका छन्। भारतको भ्रमण सकेर फर्किएका नेता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालको सत्ता समीकरण परिवर्तनको सन्देश भारतीय संस्थापन पक्षलाई सुनाउन नगएको प्रष्ट्याएका हुन्। पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले माघ २८ गतेदेखि भएको आफ्नो भारत भ्रमणका विषयमा उठेका प्रश्नमा सत्यता नरहेको दाबी पनि गरेका छन्। नेपालकाे सत्ता परिवर्तनमा विदेशीकाे हस्तक्षेपकाे विराेधमा रहेको पनि श्रेष्ठले उल्लेख गरेका छन्। 
नेकपा माअाेवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ।

काठमाडौं, फागुन ७ - नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू नेपालको सत्ता समीकरण परिवर्तनको एजेन्डा बोकेर नयाँ दिल्ली नगएको बताएका छन्। भारतको भ्रमण सकेर फर्किएका नेता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालको सत्ता समीकरण परिवर्तनको सन्देश भारतीय संस्थापन पक्षलाई सुनाउन नगएको प्रष्ट्याएका हुन्। 

पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले माघ २८ गतेदेखि भएको आफ्नो भारत भ्रमणका विषयमा उठेका प्रश्नमा सत्यता नरहेको दाबी पनि गरेका छन्। नेपालकाे सत्ता परिवर्तनमा विदेशीकाे हस्तक्षेपकाे विराेधमा रहेको पनि श्रेष्ठले उल्लेख गरेका छन्। 

‘एमाले–माओवादी गठबन्धन’को माहोल बनाउन दिल्लीमा नारायणकाजीको सक्रियता शीर्षकमा शुभदिन डटकममा प्रकाशित समाचारमा प्रतिक्रिया दिँदै माओवादी केन्द्रका प्रभावशाली नेता श्रेष्ठले पाँच महिनाअघि निर्धारित कार्यक्रमका लागि आफू दिल्ली गएको बताएका छन्।

नेता श्रेष्ठले भनेका छन्, ‘यो समाचारमा कुनै सत्यता छैन, म पाँच महिनाअघि निश्चित अखिल भारत नेपाली एकता मञ्चको कार्यक्रममा भाग लिन गएको हुँ।’ उनले उक्त कार्यक्रमका विषयमा एक महिनाअघि नै फेसबुकमार्फत पनि सार्वजनिक गरिएको उल्लेख गरेका छन्।

‘यो कुरा एक महिनाअघिदेखि साथीहरुले फेसबुकमा राख्नु भएको थियो, त्यसैले कसैको कुनै सन्देश दिएर लिएर भारत गएको होइन,’ श्रेष्ठले भनेका  छन्, ‘नेपालको सत्ता समीकरणका बारेमा विदेशी शक्ति गुहार्नु हुँदैन भन्ने मान्छे हुँ म, त्यसैले मैले त्यस्ता प्रकारका कुनै कुरा गर्दिन, गरिनँ।’

प्रधानमन्त्री दाहालको सन्देशको विषयमा नेता श्रेष्ठले आपत्ति जनाए पनि भारतीय नेताहरुसँग भेट गरेको चाहिँ स्वीकारेका छन्। उनले नेपालीहरुको कार्यक्रममा भाग लिन गएपनि केही भारतीय नेताहरुलाई भेटेको जनाउँदै नेपाल र नेपाली जनताका पक्षमा स्पष्ट कुरा राखेको बताएका छन्।

‘मैले यी भेट खुसुक्क गरेको होइन, भेटमा दिल्लीस्थित नेपाली राजदूतावासका प्रतिनिधिलाई राखेको छु,’ पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले लेखेको छन्, ‘राजदूतावासमा मैले गरेको कुराकानीको रेकर्ड छ।’ 

नेता श्रेष्ठले उक्त समाचारलाई मनोगत भएको आरोप पनि लगाएको छन्। उनले प्रश्न गरेका छन्, ‘हामी यति धेरै सतही किन भएका?’ श्रेष्ठको दिल्ली भ्रमण गरेका गोप्य भेटवार्ताका विषयमा शुभदिन डटकमले मात्रै समाचार प्रकाशन गरेको थियो।

दिल्लीस्थित शुभदिन डटकमका संवाददाता, भारतीय गृहमन्त्रालयका उच्च अधिकारी एवम् नेपाल हेर्ने उच्च अधिकारीहरुसँगको सम्पर्कपछि उक्त समाचार प्रकाशित गरिएको हो। तर, नेता श्रेष्ठले आफ्नो प्रतिक्रियामा केही नबुझी समाचार आएको जिकीर गरेका छन्।

‘केही नबुझी धारणा बनाउने यो मनोगत शैली र पूर्वाग्रहले देश बिगारिरहेको छ,’ श्रेष्ठ लेख्छन्, ‘यो समाचार प्रकाशन गर्ने र कमेन्ट गर्नेहरुले दिल्लीमा वास्तवमा के भएको थियो भन्ने कुरा मेन स्ट्रिम मिडिया पढ्ने वा दिल्लीस्थित नेपाली राजदूतावासमा बुझेर यथार्थ जानकारी दिनु भए राम्रो हुन्थ्यो कि!’

याे पनि पढ्नु हाेस्ः

‘एमाले-माओवादी गठबन्धन’को माहोल बनाउन दिल्लीमा नारायणकाजीको सक्रियता

भारतीय कांग्रेसका वरिष्ठ नेता करण सिंह, वरिष्ठ नेता मणिशंकर एेयरसँगकाे भेट। तस्विरः नारायणकाजी श्रेष्ठकाे फेसबुकबाट।


 

More form the Internet

loading...