Suvadin, Home
डायनामिक छवि बनाएका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहमति र सम्झौताको साङ्लोले बेरिएका छन्। विभिन्न पार्टी, समूह र संगठनलाई सत्तामा चढाउँदा होस् वा आन्दोलन साम्य पार्न होस्, दाहाल ‘ल तपाईहरुको माग पूरा गर्छु’ भन्दै सम्झौता गर्न अघि सर्छन्।
प्रधानमन्त्री दाहाल।

अशोक अधिकारी


जनआन्दोेलन २०६२/०६३ पछि सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भयो। दस वर्षभन्दा लामो समय चलेको माओवादी जनयुद्ध अन्त्य भएको घोषणा गर्दै नेपाल सरकार र नेकपा माओवादीबीच वि.सं. २०६३ मंसिर ५ गते सम्झौतापत्रमा हस्ताक्षर भयो।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमतिपत्रमा हस्ताक्षर गरेपछि नेपालमा द्वन्द्व अन्त्य र शान्ति स्थापनाको काम थालिएको विश्वास गरियो। 

शान्ति सम्झौता भयो, नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा आयो, सरकारमा सहभागी पनि भयो। लगत्तै चुनाव भयो। माओवादी सबैभन्दा ठूलो दल बनेर उदायो। माओवादी अध्यक्ष दाहालकै नेतृत्वमा सरकार पनि बन्यो।

माओवादी पटक–पटक सरकारमा सहभागी बन्यो। पार्टीका केही नेता–कार्यकर्ताको जीवनशैली पनि फेरियो। कसै–कसैले त आफूलाई नवधनाढ्यको सूचीमा दर्ज गरिसकेका छन्। पार्टीको आन्तरिक संगठन ध्वस्त छ। तर, माओवादी नेताहरु जम्माजम्मी कुर्सीकेन्द्रित राजनीतिको राप ताप्नै व्यस्त छन्।

यसको परिणाम अबको निर्वाचनमा पक्कै देखिने छ। तर, एउटा आशा अझै बाँकी छ। शान्ति सम्भौताका एक मात्र जिवित नेताको हिसाबले पनि पुष्पकमल दाहालमाथि आमनेपालीको नजर पर्छ नै। 

त्यो रापताप, यो विलाप

शान्ति सम्झौतापछि पुष्पकमल दाहाल सार्वजनिक हुँदा उनको तेजिलो छविले आमनेपाली मोहित भएका थिए। तर, समय सधैं एकैनासको रहँदैन, स्वार्थसिद्धिमा लाग्न थालेपछि मानिसको अद्योगति सुरू हुन्छ।

अनावश्यक विषयमाथि हस्तक्षेप गर्न थालेपछि दाहालको लोकप्रियता विस्तारै ओरालो लाग्दै गयो। त्यति मात्रै होइन, रापिला, दाहाल र ओजस्वी दाहालको स्वरुप विस्तारै धुमिल हुन पुग्यो।

‘प्रचण्डको ओजिलो-तेजिलो राप स्वार्थ र महत्वकांक्षाले सखाप पारेको हो,’ वामविश्लेषक एवम् पूर्ववनमन्त्री यदुवंश झा भन्छन्, ‘एउटा सदावहार नेतामा हुनुपर्ने गुणको अभाव यस कारण पनि रहन गयो ।’

त्यसैले पहिलो पटकको प्रधानमन्त्रीत्वकालमा भन्दा अहिले उनीमाथि जनताको आशा र विश्वासमा गिरावट आएको उनको विश्लेषण छ। 

सीमित व्यक्तिको घेराबन्दी

प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पनि हुन्। जनयुद्धकालमै पनि दाहाल आफ्नै सहयात्रीसँग तर्सिने गर्थे।

डा. बाबुराम भट्टराईमाथिको कारबाही होस् वा अरु कुनै राजनीतिक कदम दाहालले त्रासको सिरक ओडेर चालेको आरोप मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका एक केन्द्रीय नेता बताउँछन्।

अहिले पनि प्रधानमन्त्री दाहालको सचिवालय सीमित नेताको घेराबन्दीमा छ। प्रधानमन्त्री दाहाललाई जनस्तरबाट आएका गुनासो र सुझाव सचिवालयमै थन्किने गरेको छ।

अति महत्वपूर्ण जानकारी पनि दाहालकहाँ पुग्न नपाउने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। ‘प्रधानमन्त्रीज्यू त नम्र र विवेकी स्वभावको हुनुहुन्छ,’ कार्यालय स्रोत भन्छ, ‘तर, उहाँसम्म जानकारी पुग्नै सक्दैन।’ आफूनिकटका व्यक्तिहरुलाई अतिविश्वास गर्नु नै दाहालका लागि घातक हुँदै आएको विश्लेषण वामबुद्धिजीवी झाको पनि छ।  

सहमति र सम्झौताको साङ्लो 

डायनामिक छवि बनाएका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहमति र सम्झौताको साङ्लोले बेरिएका छन्। विभिन्न पार्टी, समूह र संगठनलाई सत्तामा चढाउँदा होस् वा आन्दोलन साम्य पार्न होस्, दाहाल ‘ल तपाईहरुको माग पूरा गर्छु’ भन्दै सम्झौता गर्न अघि सर्छन्।

हुन त अधिकारका लागि भएका आन्दोलनलाई सरकारले सम्बोधन गर्नु पर्छ, त्यसमा विमति रहँदैन। ‘तर, नेपाली राजनीतिमा धेरैजसो सहमति र सम्झौता स्वार्थ प्रेरित छन्,’ उनी भन्छन्, ‘त्यसमा दाहाल सबैभन्दा अगाडि छन्।’

बोली फेर्ने बानी

बर्दियाको गुलरियामा छ वर्षअघि आयोजित जनसभालाई सम्बोधन गर्दै दाहालले एमाले तत्कालिन महासचिव मदन भण्डारी र राजा वीरेन्द्र शाहको परिवार हत्यामा भारतको संलग्नता रहेको बताएका थिए।

त्यसपछि दक्षिणतर्फ बिग्रिएको सम्बन्ध सुधार्नका लागि उनले नेपाल-भारत-चीनबीच त्रिपक्षीय सम्बन्ध निर्माणमा जोड दिए। विस्तारै भारतीयलाई रिझाउन दाहालले हदैसम्मको प्रयास गरेको आरोप उनको दिल्ली भ्रमणमा व्यक्त भएका अभिव्यक्ति र उनको प्रोफाइलले पनि बताउँछ। 

संविधान संशोधन विधेयक संसदमा दर्ता भएको छ। त्यसअघि अख्तियारका प्रमुख लोकमानसिंह कार्कीसम्बन्धी प्रस्ताव संसदमा पेश भयो। यी प्रस्ताव संसदमा दर्ता गर्ने बेलामा प्रधानमन्त्री दाहालले सरकार दाउँमा राखेर भए पनि पारित गराएरै छाड्ने दावी गरेका थिए।

तर, उनको अडान धेरैबेर रहेन। एउटा सार्वजनिक कार्यक्रममा दाहालले प्रस्ताव पास गराउन जोडबल नगर्ने बताए। दाहाल दलदलमा फँस्नुको कारण आफ्नै बोलीमा अडिग नरहनु पनि हो।  


 

More form the Internet

loading...