Suvadin, Home

माओवादी केन्द्र संसदीय दलको बैठक
अाफ्नै पार्टीका सांसदकाे घेराबन्दीमा प्रचण्ड

नेकपा माओवादी केन्द्रका सांसदहरूले राष्ट्रिय राजनीतिमा पेचिला मुद्दा आइरहेका बेला लामो समयसम्म संसदीय दलको बैठक नडाकेर अन्यौल सिर्जना गरेको भन्दै संसदीय दलका नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई घेराबन्दीमा पारेका छन्। मंगलबार सिंहदरबारमा बसेको केन्द्रको संसदीय दलको बैठकमा सांसदहरूले लामो समयसम्म बैठक किन बस्न नसकेको भन्दै दाहाललाई र्याखर्याख्ती पारेका हुन्। उनीहरुले त्यसको चित्तबुझ्दो जवाफ माग गर्दै दाहाललाई प्रश्नको वर्षा गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ।

काठमाडौं, चैत ८ – नेकपा माओवादी केन्द्रका सांसदहरूले राष्ट्रिय राजनीतिमा पेचिला मुद्दा आइरहेका बेला लामो समयसम्म संसदीय दलको बैठक नडाकेर अन्यौल सिर्जना गरेको भन्दै संसदीय दलका नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई घेराबन्दीमा पारेका छन्।

मंगलबार सिंहदरबारमा बसेको केन्द्रको संसदीय दलको बैठकमा सांसदहरूले लामो समयसम्म बैठक किन बस्न नसकेको भन्दै दाहाललाई र्याखर्याख्ती पारेका हुन्। उनीहरुले त्यसको चित्तबुझ्दो जवाफ माग गर्दै दाहाललाई प्रश्नको वर्षा गरेका छन्।

स्थानीय तह निर्वाचनको घोषणासँगै मुलुकमा विकसित राजनीतिक घटना क्रमका बारेमा छलफल गरी स्पष्ट राय बनाउनका लागि पनि संसदीय दलको बैठक निरन्तर राख्नु पर्नेमा त्यसो हुन नसकेको भन्दै दाहालप्रति सांसदहरुले तीब्र आक्रोश पोखेका छन्।

बैठकमा व्यवस्थापिका संसद बैठक लम्बिएको बारेमा पनि सांसदहरुले प्रश्न गरेका थिए। संसदको चालु अधिवेशन वर्षे वा हिउँदे के हो? भन्ने बारे अन्यौल भएको भन्दै उनीहरूले त्यसबारे पनि स्पष्ट पार्न आग्रह गरेका छन्।

बैठकमा सात वटै प्रदेशका संयोजकले मुलुकमा विकसित राजनीतिक घटनाक्रम, निर्वाचन, सरकार र पार्टी लगायत विषयवस्तुमा दलमा पर्याप्त छलफल आवश्यक भएको भन्दै दलका नेताको ध्यानाकर्षण गराएको प्रमुख सचेतक टेकबहादुर बस्नेतले जानकारी दिएका छन्।

बैठकमा दाहालले स्थानीय तहको निर्वाचन हुनेमा शंका नगर्न र निर्वाचन सफल पार्नका लागि सबैलाई एकजुट हुन आग्रह गरेका छन्। बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणबारे सामान्य जानकारी गराएका थिए। बैठक बिहीबार पुनः बस्ने गरी स्थगित भएको छ।


 

More form the Internet

loading...