Suvadin, Home

घरीघरी मन्त्रीको चिठ्ठा पर्ने प्रेमबहादुर सिंहलार्इ बहुविवाहमा कानुन लागेन

नेपालको संविधानमा बहुविवाहलाई कानुनी अपराध मानिन्छ। तर, देश हाँक्ने तहमा तिनै कानुनी रुपमा अपराध गरेका व्यक्तिहरुले रेखदेख गरिरहेका छन्। दुई पटक कानुनमन्त्री, तेस्रोपटक खानेपानी तथा सरसफाई मन्त्रीको जिम्मेवारी सम्हाल्न पुगेका प्रेमबहादुर सिंहले चाैथोपटक पनि उही मन्त्रालय पाएका छन्। कानुनी रुपमा ‘अपराधी’ हुन्। उनले वैधानिक रुपमा दुई वटी श्रीमती भित्र्याएका छन्। जेठी ज्ञानु सिंहलाई भित्र्याएको केही वर्षपछि उनले कान्छी पद्मा सिंहलाई प्रेमजालमा फसाएर वि.सं. २०४० सालमा भित्र्याएका थिए।
मन्त्री प्रेमबहादुर सिंह कार्यकक्षमा। तस्बिर : रासस

काठमाडौं माघ ७


‘प्रचण्ड कामरेड मुलुक थाम्ने नेता अब हजुर नै हो है, केही गर्नुपर्याे, जसरी हुन्छ पावरमा आउनु पर्यो, नभए गाह्राे हुन्छ, संघीयता बिराेधीलार्इ सल्बलाउन दिनु हुँदैन।’ 

नेकपा एमालेको नेता मावधकुमार नेपाल प्रधानन्त्री भएपछि वि.सं. २०६६ सालमा एकीकृत नेकपा माओवादीले सरकार बिरोधी आन्दोलन थाल्यो। त्यसपछि राजनीतिक समीकरण पनि नयाँ-नयाँ ढंगले विकास भयो।

राजनीतिक समीकरण बदलिँदै डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला गठन भयो, संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा। संयोजक तोकिए माओवादी अध्यक्ष पुष्पकमल दाहाल। अनि प्रवक्ता थिए प्रेमबहादुर सिंह।

दोस्रो संविधानसभाको निर्वाचनअघि संघीयता पक्षधरको मोर्चामा विभिन्न २९ दल सामेल थिए। जसमा एक थियो, समाजवादी पार्टी। त्यसका एक्ला हर्ताकर्ता हुन् कालिकाेटे प्रेमबहादुर सिंह।

त्यही मोर्चामै हुँदा मुलुक राजनीतिको कठीन मोडबाट गुज्रिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष दाहाललाई एक बैठकका दौरान उनै सिंहले माथि उल्लेखित ‘प्रचण्ड कामरेड मुलुक थाम्ने नेता अब हजुर नै हो है, जसरी हुन्छ पावरमा आउनु पर्यो’ भनेका थिए।

र, बैठकको निर्णय सार्वजनिक गर्दा पनि उनी दाहालको नाम लिन छुटाउँदैनथिए। मोर्चामा सहभागी एक दलका नेता भन्छन्, ‘प्रेमबहादुर सिंहलाई त्यसैको पुरस्कार अहिले प्राप्त भयो।’

वि.सं. २०७१ साल असारमा पहिचान पक्षधर सात दलले तत्कालीन एकीकृत नेकपा माओवादी अध्यक्ष दाहालको नेतृत्वमा संघीय गणतान्त्रिक मोर्चा घोषणा गरे। तर, सुशील कोइराला नेतृत्वको सरकारलाई समर्थन गर्ने दलहरूलाई मोर्चाका आवद्धतामाथि प्रतिबन्ध लगाइयो।

माओवादी, संघीय समाजवादी र पाँच मधेसकेन्द्रित दलको मोर्चा बनाइयो। जसमा पहिचान पक्षधर भनेर कांग्रेस-एमालेसँग साँठगाँठ गर्ने पार्टीहरूलाई मोर्चामा समावेश नगर्ने निर्णय गर्यो।

सुशील कोइराला नेतृत्वको सरकारलाई समर्थन गर्ने समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंहसहित गोपाल दहितको थरुहट तराई पार्टी, थरुहटकी रुक्मिणी चौधरी, नेपा पार्टी, जनजागरण पार्टीलाई मोर्चामा ठाउँ दिइएन। तर, प्रधानमन्त्री दाहालसँगको सिंहको सम्बन्धमा त्यसले खासै फरक परेन।

निरन्तर सम्पर्कमा रहने र ‘ठाउँ पाउँ कामरेड’ भन्ने सिंहको अनुरोधलाई अन्ततः दाहालले स्वीकृती दिए। ‘दाहाललाई फुर्क्याउन सके उनीबाट राम्रै फाइदा जो-कसैले लिन सक्छ,’ एक जना वामपन्थी अगुवा भन्छन्, ‘सिंहलाई मन्त्रीको चिठ्ठा पनि दाहाललाई रिझाएपछि नै परेको हो।’ 

तीन वटी श्रीमती, एउटी अवैध

नेपालको संविधानमा बहुविवाहलाई कानुनी अपराध मानिन्छ। तर, देश हाँक्ने तहमा तिनै कानुनी रुपमा अपराध गरेका व्यक्तिहरुले रेखदेख गरिरहेका छन्। दुई पटक कानुनमन्त्री, तेस्रोपटक खानेपानी तथा सरसफाई मन्त्रीको जिम्मेवारी सम्हाल्न पुगेका प्रेमबहादुर सिंहले चाैथोपटक पनि उही मन्त्रालय पाएका छन्। कानुनी रुपमा ‘अपराधी’ हुन्।

उनले वैधानिक रुपमा दुई वटी श्रीमती भित्र्याएका छन्। जेठी ज्ञानु सिंहलाई भित्र्याएको केही वर्षपछि उनले कान्छी पद्मा सिंहलाई प्रेमजालमा फसाएर वि.सं. २०४० सालमा भित्र्याएका थिए। ‘बहुविवाहबारे सिंहको एउटै भनाइ छ, भैंसीलाई सिङको भारी हुँदैन, छोरा मान्छेलाई श्रीमतीको भारी हुँदैन,’ ती नेताले भने, ‘हामीले कहिलेकाहीँ दाई चार वटी त पुग्छन् होला नि भन्दा सिंह हाँस्थे मात्रै।’ 

नवनियुक्त मन्त्री सिंहका चार जना छोराछोरी छन्। जेठी ज्ञानुतर्फ दुई छोरी र कान्छी पद्मातर्फ १ छोरी र १ छोरा छन्। ‘तर, दुबै श्रीमतीलाई थानकोटमा राखेका छन्, मैतीदेवी आसपासमा उनको अर्को बासस्थान रहेको सुन्छौँ,’ उनका एक नातेदारले भने, ‘घर आउने कुनै टुंगो हुँदैन, उतै एक जना पार्टीकै कार्यकर्तासँग बस्छन् रे।’

पञ्चायतकालमै राजनीतिमा होमिएर काठमाडौं आएका कालिकोटे सिंहका जेठी र कान्छी श्रीमती थानकोटमा अलपत्र जस्तै छन्। सिंह घर नआउने जानकारी त उनकी कान्छी श्रीमती पद्मा सिंहले पनि दिइन्।

‘राजनीतिक कामले व्यस्त छु भन्नुहुन्छ, घर नआउनु भएको त धेरै भइसक्यो,’ पद्माले शुभदिनसँग भनिन्, ‘कहाँ जानुहुन्छ, के गर्नुहुन्छ हामीलाई केही थाहा छैन।’ पद्मालाई प्रेमबहादुर पछिल्लो पटक कहिले गए भन्ने पनि याद छैन।

‘हामी दुई जना सँगै बस्छौँ, तर श्रीमानको माया अहँ....,’ एकछिन रोकिएर उनले भनिन्, ‘अरु कुरा मलाई नसोध्नु, उहाँलाई नै सोध्नु, हामी सोझा मान्छे के जान्नु!’ नवनियुक्त मन्त्री प्रेमबहादुर सिंहका दुबै श्रीमती थानकोटमा बस्दैआएका छन्। तर, सिंहबारे जानकार राजनीतिक दलका नेताहरू उनी अरू-अरू महिलाको ‘पछि रहने’ प्रवृत्तिका रहेको बताउँछन्।

सिंहलाई मन्त्री पद र कुर्सी नयाँ होइन। चार-चार पटक मन्त्री बन्ने अवसर पाएका सिंहलाई पहाडी क्षेत्रका विजयकुमार गच्छदारकै रुपमा टिप्पणी गर्न थालिएको छ। ‘कुर्सीप्रति अति नै आशक्त छन्,’ ती नेताले भने।  

नेमकिपाबाट निष्काशित एमालेमा मन्त्री

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उनलाई राजनीतिमा ल्याएका हुन्। जुझारु, युवा बोल्न पनि सक्ने आँटी युवाजस्तो लागेर पार्टीमा भित्र्याइएकाे नेमकिपाका एक नेताले बताए।

‘हाम्रो पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिमा ल्याउनुभएको हो, त्यतिबेला अध्यक्ष प्रवासमा हुनुहन्थ्यो,’ जुम्ला घर भएका नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्ले सम्झिन्छन्, ‘तर, पञ्चायतकालमै दरबारसँग निकटता थाहा भएपछि वि.सं. २०४५ सालमा सिंहलाई पार्टीले कारबाही गरेर निष्काशन गरेको हो।’

नेता काफ्लेका अनुसार वि.सं. २०३५ तिर सिंहले नेपाल मजदुर किसान पार्टीबाट वामराजनीति सुरू गरेका हुन्। नेमकिपाबाट निष्काशित भएपछि सिंहले तल्कालिन नेकपा मालेबाट राजनीतिक यात्रा अघि बढाए। कर्णालीमा मालेको विस्तार गर्न उनी पनि लागे। पार्टी एकीकरणसँगै एमाले भए।

राष्ट्रिय सभामा सांसद भएका सिंह लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा बनेका सरकारमा वि.सं. २०५३ सालमा पहिलो पटक मन्त्री भएका हुन्। उनले कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

२०५६ सालको आमनिर्वाचनमा नेकपा एमालेको कोटाबाट सांसद भएका उनी ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा फेरि दरबारका भक्त भए। त्यहीकारण एमालेले उनलाई निकाल्यो। लोकतन्त्र स्थापनापछि एक-एक सिट जितेका सिंह अहिले आफ्नै नेतृत्वको पार्टीको अध्यक्ष छन्। 

कानुनमन्त्री भएर पनि उनको मानसिकता चाहिँ हटेन। स्रोतका अनुसार हुम्लाका एक कार्यकर्ताले सिंहको पोल खोलेका थिए। त्यति मात्रै होइन, हुम्लामै पार्टी कार्यकर्ताकी पत्नीमाथि गिद्देदृष्टि लगाएपछि सिंहमाथि सार्वजनिक रुपमै कुटपिट भएको थियो।

निर्वाचन आयोगले सिंहले नेतृत्व गरेको समाजवादी जनता पार्टी खारेज गरेको छ। पार्टीको हरहिसाब नबुझाएको भन्दै निर्वाचन आयोगले पार्टी खारेज गरेको हो।


 

More form the Internet

loading...