Suvadin, Home

'श्रमिकका समस्या अन्त्य गर्न आयोग आवश्यक'

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले श्रमिक क्षेत्रमा देखिएको समस्या र चुनौती समाधानका लागि श्रम आयोग गठन आवश्यक रहेको बताएका छन्। नेपाल यातायात मजदुर संघको भवन उद्घाटन समारोहमा आइतबार बोल्दै नेता कोइरालाले कांग्रेस पार्टीले स्थापनाकालदेखि नै श्रमिकको हकहितका लागि काम गर्दै आएको बताएका हुन्।
शेखर कोइराला।

काठमाडौं, चैत १३ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले श्रमिक क्षेत्रमा देखिएको समस्या र चुनौती समाधानका लागि श्रम आयोग गठन आवश्यक रहेको बताएका छन्।

नेपाल यातायात मजदुर संघको भवन उद्घाटन समारोहमा आइतबार बोल्दै नेता कोइरालाले कांग्रेस पार्टीले स्थापनाकालदेखि नै श्रमिकको हकहितका लागि काम गर्दै आएको बताएका हुन्। 

उनले भने, ‘कांग्रेसको जन्म नै मजदुर आन्दोलनको जगमा भएको हो।’ एक फरक प्रसङ्गमा नेता कोइरालाले देश अत्यन्त नाजुक अवस्थामा अगाडि बढेको भन्दै यसको समाधानका लागि सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिए।

मधेसी मोर्चालाई सँगसँगै लिएर अगाडि बढेमात्र निर्वाचन सम्भव हुने र मुलुक आर्थिक विकासको बाटोमा अगाडि बढ्ने उनले बताएका छन्।

नेपाल ट्रेड युनियन कांग्रेसका नेता एवम् सांसद पुष्कर आचार्यले मजदुर आन्दोलनका कारण मुलुकमा संविधान निर्माण भएको बताउँदै मजदुरका समस्यालाई राज्यले बेवास्ता गर्न नहुने धारणा व्यक्त गरेका छन्।

इन्टरनेशनल ट्रान्सफोर्ट फेडेरेसनका महासचिव संगम त्रिपाठीले मजदुरको समस्या समाधानका लागि सबै मजदुर एक हुनुपर्ने बताएका छन्।

संघका अध्यक्ष अजयकुमार राई, पूर्वसांसद अच्युत पाण्डे, नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष गणेश निरौला, महासचिव महेन्द्र यादवलगायतले ट्रेड युनियनको समस्याप्रति पार्टी गम्भीर भएको बताएका थिए।


 

More form the Internet

loading...