Suvadin, Home

‘लुटपाटमा आपराधिक समूहको हात’

नारायण खड्का

दाङ, पुस ८
दाङको तुलसीपुरमा एक महिनाअघि भएको लुटपाटमा आपराधिक समूहको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। गत कात्तिक ९ गते बिहान पाँच बजे तुलसीपुरस्थित बसपार्कमा १० लाख भारतीय रुपैयाँ लुटपाट आपराधिक समूहबाटै भएको निष्कर्षमा प्रहरी पुगेको हो।

स्थानीय दुर्गा लामिछानेकोे साथमा रहेको उक्त रकम तुलसीपुरस्थित बुटवल बस्त्रालयका प्रोप्राइटर राजकुमार श्रेष्ठको हो। मोटरसाइकलमा आएका तीन जनाले लामिछानेको आँखामा खुर्सानीको धुलो हालेर उक्त रकम लुटपाट भएको दाङ प्रहरीले जनाएको छ। 

दुर्गा सोही बस्त्रालयका कर्मचारी हुन्। उनी उक्त रकम लिएर सामान खरिद गर्न जाँदै गर्दा लुटपाट भएको प्रोप्राइटर श्रेष्ठले बताएका छन्।

तर, दुर्गालाई प्रयोग गरेर श्रेष्ठले केही वर्षयता भारु रकम सटहीबाट अकुत सम्पत्ति कमाउने गरेको आरोप लागेको छ। रकम लुटपाट भएपछि तुलसीपुर–१४ का दुर्गालाई प्रहरीले पक्राउ गर्यो। तर, उनी तारेखमा रिहा भएका छन्। उनी तारेखमा छुटे लगतै प्रहरीले तुलसीपुर–१४ कै लिलाधर खड्कालाई नियन्त्रणमा लिएको थियो। त्यसपछि प्रहरीले  तुलसीपुर २० का हस्तविर चौधरीलाई पक्राउ गरेको छ।

खड्काकै बयान र कल डिटेल्सका आधारमा चौधरी पक्राउ परेका हुन्। चौधरीले लुटपाटमा संलग्नता स्वीकार गरेका प्रहरीले जनाएको छ। लुटपाटका मुख्य योजनाकार तुलसीपुर–१९ का खुमबहादुर केसी सहित तुलसीपुर–६ का गजराज बालान क्षेत्री र तुलसीपुर–११ अश्वाराका भुपेन्द्र भण्डारी फरार रहेको प्रहरीले जनाएको छ।


 

More form the Internet

loading...