Suvadin, Home

किन सम्झने पृथ्वीनारायण शाहलाई?

पृथ्वीनारायण शाह राजा मात्रै थिएनन्, समयको मागअनुसार यहाँको भूराजनीति बुझेर त्यसै अनुरुपको राज्य सिर्जना गर्ने एउटा ‘स्टेट मेन’ नै थिए। उनलाई मान्नु र उनको योगदानको स्मरण गर्नु चाहिँ राजतन्त्र ब्यूँझाउनेले मात्र हैन, नेपालको इतिहास निर्माणलाई बुझ्दै त्यस्ता महान कार्य गर्ने पात्रलाई दिइने सच्चा सम्मान हो।
पृथ्वीनारायण शाह।

 

डा. रमेश ढुङ्गेल 

अहिले नेपालको राष्ट्रियताको जरोमा लागेको धमिरा हटाउने र लाग्नबाट बचाउनका लागि पनि उनीले पुर्याएको योगदानलाई बिर्सन मिल्दैन। यद्यपि, जातीयता तथा अनेक विभेद गरेको आरोप उनीमाथि लाग्ने गरेको छ। तर, वास्तविकता नबुझनेहरूले यो समस्या खडा गरेका हुन्। यसले भ्रम पैदा गरिदिएको छ।


***

राष्ट्र निर्माताको सम्मान हरेक नेपालीले गर्नुपर्छ। जसरी मान्छेले आफ्ना पितृहरूलाई श्रद्धापूर्वक  सम्झन्छन् त्यसरी नै उनलाई सम्मान गर्नुपर्छ। गणतन्त्र स्थापनापछि उनलाई राष्ट्रले नै बिर्सन पुगेको छ।


पृथ्वीनारायण शाह आधुनिक नेपालका निर्माता भएकाले हरेक नेपालीले सम्झनु पर्छ। उनी राजा हुनुअगाडि नेपालमा ‘भुरे’, ‘टाकुरे’ राज्य धेरै थिए। संख्यात्मक रुपमा त्यस्ता राज्य ५२ वटा जति थिए। यी राज्यहरू बीचमा मेलमिलाप थिएन। कतिबेला कसले कसलाई आक्रमण गर्ने हो भन्ने चिन्ता हुन्थ्यो। जनतामा अशान्ति र असुरक्षाको वातावरण व्याप्त थियो। यस्तो आन्तरिक अशान्ति एकातिर थियो भने अर्काेतर्फ भारतमा अङ्ग्रेजको शक्ति बढिरहेको थियो। अङ्ग्रेजले भारतका करिब छ भन्दा बढी राज्यलाई आफ्नो कब्जामा पारिरहेको थियो। त्यो शक्ति बढ्दै नेपालतिर आक्रमण गर्ने स्थिति पनि थियो।

यस्तो परिस्थितिमा नेपाल बलियो राज्य बनिसकेकाले बाह्य आक्रमणबाट जोगिन सक्यो। गोर्खा राज्यका राजा पृथ्वीनारायण शाहले नेपाललाई बलियो राज्य बनाएर जनतालाई शान्ति र सुरक्षा दिने काम गरेका थिए।

पृथ्वीनारायण शाहमा अलि ठूलो राज्यको राजा बन्ने सपना पनि देखिन्छ। भूराजनीतिक स्थितिको राम्रो ज्ञान भएका उनीमा फुटेका राज्यहरूलाई एक बनाएर बाह्य शक्तिले आक्रमण गर्न नसकुन् भन्ने विशेष ख्याल थियो।

पृथ्वीनारायण शाहले सुरूमा राज्य सञ्चालन गर्दाको समयको सोच र त्यसपछिको सोचमा अन्तर पाइन्छ। गोर्खा राज्यको मात्रै आफूलाई राजा नठानी सिंगो नेपाल बनाउने योजनाका साथ अगाडि बढेका थिए। विशाल राज्य बनेपछि भाइ वा नातेदारहरूले यसको भागबन्डा गर्लान् भन्नेतर्फ थप सचेत थिए। राज्य भनेको एक ढिक्काको हुनुपर्छ, राज्य टुक्र्याउने काम गर्नु हुन्न भन्ने कुरा उनले आफन्तलाई बुझाउँथे। अरु पद र मर्यादा बाँडफाँट गर्न तयार रहने उनी राज्य एक ढिक्का हुनुपर्छ भन्ने मान्यतामा भने अडिग थिए। राज्यभित्र आन्तरिक गढबडी नहोस् र बाह्य शक्तिले पनि आक्रमण नगरुन् भनेर उनले यस्तो रणनीति अपनाएका थिए।

राज्यहरूबीच मेलमिलाप कायम गरी खुसी पार्न पनि उनले जानेका थिए। शत्रुलाई पनि मर्यादा दिएर राख्न उनी सिपालु थिए। त्यसकारण पनि उनी राज्य विस्तारमा सफल भएका हुन्। यता उनका दिव्य उपदेशले अहिलेको समावेशीकरणलाई अंगालेको पाइन्छ। राज्यका विभिन्न निकायमा ठकुरी, गुरुङ, मगर, ब्राह्मण लगायत जातिलाई आफ्नो रुचि र क्षमताको आधारमा कामको जिम्मा दिने कामको थिति बसाले। त्यसबेला पनि यस्ता कुरा व्यवहारमा देखिनु र दिव्यउपेदशमा समेत उल्लेख हुनु समावेशीताको राम्रो अभ्यास मान्न सकिन्छ।

नेपालमा क्रिश्चियनहरू आएर देशलाई कब्जामा पार्लान् कि भन्ने उनमा सधैं चिन्ता रह्यो। भारतलाई अङ्ग्रेज अर्थात् फिरंगी (डुलुवा)ले त्यसरी कब्जामा पारिसकेका कारण उनीमा यस्तो चिन्ता देखिन्थ्यो। उनीहरू एक दिन नेपालमा अवश्य आउनेछन् भन्ने शंका उनमा थियो।

पृथ्वीनारायण शाहको शासन कालपछि उनले गरेको शंका वास्तविकतामा नै परिणत भयो। ब्रिटिशहरू नेपालमा प्रवेश गरे। नेपालको तयारी राम्रो नभएकाले हार व्यहोर्नु पर्यो। पृथ्वीनारायण शाहले कठीन संघर्ष गरेर विस्तार गरेको भू–भाग उनीहरूले खोसे।

पृथ्वीनाराण शाहको समयमा नेपाललाई असली हिन्दुस्थान पनि भन्ने गरिन्थ्यो। भारत अङ्ग्रेजको अधिनमा परेपछि त्यहाँको धर्म संस्कृति आदि मासिसकेका थिए। आफ्नो परम्परा धर्म संस्कृति जोगाएर राष्ट्रको अस्तित्व बचाउन सकेको कारण पनि उनले नेपाललाई असली हिन्दुस्थानको नाम दिएका थिए। त्यसकारण पनि पृथ्वीनारायण शाहको योगदानलाई बिर्सन मिल्दैन।

पृथ्वीनारायण शाहले आफू अगाडिका राजाहरूबाट राज्य सञ्चालनका तौरतरिका र पद्धति सिकेका थिए। उनले राज्य सञ्चालनका गर्दाका अनुभव पनि बाँडेर गएका छन्। ती अनुभव दिव्यउपदेशका रुपमा हामीले पढ्न पाइरहेका छौं।

पृथ्वीनारायण शाह राजा मात्रै थिएनन्, समयको मागअनुसार यहाँको भूराजनीति बुझेर त्यसै अनुरुपको राज्य सिर्जना गर्ने एउटा ‘स्टेट मेन’ नै थिए। उनलाई मान्नु र उनको योगदानको स्मरण गर्नु चाहिँ राजतन्त्र ब्यूँझाउनेले मात्र हैन, नेपालको इतिहास निर्माणलाई बुझ्दै त्यस्ता महान कार्य गर्ने पात्रलाई दिइने सच्चा सम्मान हो।

अहिले नेपालको राष्ट्रियताको जरोमा लागेको धमिरा हटाउने र लाग्नबाट बचाउनका लागि पनि उनीले पुर्याएको योगदानलाई बिर्सन मिल्दैन। यद्यपि, जातीयता तथा अनेक विभेद गरेको आरोप उनीमाथि लाग्ने गरेको छ। तर, वास्तविकता नबुझनेहरूले यो समस्या खडा गरेका हुन्। यसले भ्रम पैदा गरिदिएको छ।

राष्ट्र निर्माताको सम्मान हरेक नेपालीले गर्नुपर्छ। जसरी मान्छेले आफ्ना पितृहरूलाई श्रद्धापूर्वक  सम्झन्छन् त्यसरी नै उनलाई सम्मान गर्नुपर्छ। गणतन्त्र स्थापनापछि उनलाई राष्ट्रले नै बिर्सन पुगेको छ। उनको नाममा राष्ट्रिय कार्यक्रम पनि र सरकारी बिदा दिन पनि कन्जुस्याइँ गरेको छ, त्योे इतिहास बिर्सिने काम हो। हुन त अहिलेको समयमा पुर्खा र पुस्ताको योगदानलाई बिर्सने संस्कार विकसित भइरहेको छ। त्यसको चेपुवामा पृथ्वीनारायण पनि परेकोमा शंका छैन। तर, सबै धर्म, जाति र प्राचीन संस्कृति बचाएर राख्ने पृथ्वीनारायण शाहलाई बिर्सनु ठूलो भूल हो।

उनले आफ्ना कूल, धर्म नछाड्नु पनि भनेका छन्। क्रिश्चियनहरूलाई नेपाल प्रवेश गर्न नदिनु यदि दिइयो भने उनीहरूले सबै कुरामा आक्रमण गरी हामीलाई कंगाल बनाउने छन् भनेका छन्। त्यो उनको सच्चा राष्ट्रिय भावना थियो। उनी राष्ट्रको लागि चिन्तनशील व्यक्ति थिए। उनी राष्ट्रको लागि कुशल नेतृत्वकर्ता पनि थिए। उनको दूरदर्शीता र पौरखको कारण नेपाल र नेपालीले त्यसको फल आजसम्म पनि चाख्न पाइरहेका छन्। उनले त्यसो नगरेको भए नेपाल हिन्दुस्थानका छ सय राज्य अङ्ग्रेजहरूको राज्यमा विलिन भएसरी नै विलिन हुन्थ्यो।

(इतिहासविद् ढुङ्गेलसँग गोविन्द लुइँटेलले गरेको कुराकानीमा आधारित।)

 

More form the Internet

loading...