Suvadin, Home

आर्इसीसी नेपालको क्रिकेट आफ्नो हातमा लिन चाहन्छ : क्यान तदर्थ समिति अध्यक्ष सिलवाल

यसमा आईसीसीको दुराशय छ, त्यो भनेको उनीहरू आफ्नो हातमा नेपालको क्रिकेट लिन चाहन्छन्। त्यो माैका चाही हामीेले दिऔं। निलम्बनअघि पनि आईसीसीसँग भएका औपचारिक/अनौपचारिक छलफलमा उनीहरूले निर्वाचित भनेका क्यानका सदस्यहरूले सुशासन कायम गर्न सकेन्न्। यिनीहरूलाई कारबाही गर्नुपर्छ भन्थे। यता सरकारले मान्यता नदिएपछि राजनीतिक हस्तक्षेप भयो भने। यहाँ उनीहरूले द्वैध चरित्र देखाए। जसको अर्थ उनीहरू नेपाली क्रिकेट आफ्नो हातमा लिन चाहन्छन्। तदर्थ कमिटी बन्नुभन्दा पहिले नेपालले पाउने ९ लाख डलर उनीहरूले रोकेर राख्नुले पनि सोही कुरालाई प्रमाणित गर्छ।
गाेल्डनगेट कलेजका सिइअाे तथा काठमाडाैं गाेल्डन्स टिमका मालिक रमेश सिलवाल।

काठमाडाैंस्थित गाेल्डनगेट कलेजका प्रमुख कार्यकारी अधिकृत समेत रहेका रमेश सिलवाल गत वर्ष सरकारले गठन गरेकाे नेपाल क्रिकेट संघ क्यान तदर्थ समितिका अध्यक्ष हुन्। उनीसँग नेपाली क्रिकेटकाे लामाे प्रशासनिक अनुभव पनि छ। अागामी चैत्रमा धनगढीमा हुने धनगढी प्रिमियर लिगमा सहभागिता जनाउने काठमाडाैं गाेल्डन्स टिमका मालिक पनि हुन् उनी। उनीसँग नेपाली क्रिकेटकाे वर्तमान अवस्था, क्यानकाे किचलाे तथा धनगढी प्रिमियर लिगमा उनकाे टिमकाे सहभागिताबारे शुभदिनले गरेकाे कुराकानी :

खेलकुद क्षेत्रमा अनि विशेषतः क्रिकेटमा यहाँको आगमन कसरी भयो?

म विधार्थी कालदेखि नै खेलकुदमा सक्रिय थिएँ। २०४४/४५ सालमै आफ्नै कलेजको आन्तरिक रुपमा तथा अन्य कलेजहरूलाई समेटिकन् इन्टर कलेज क्रिकेट प्रतियोगिता सुरुवात गरेको थिएँ। सम्भवत: यो नै नेपालमा इन्टर कलेज प्रतियोगिता थियो। त्यतिबेला त्यति स्कुल कलेजहरूले खेलकुदलाई अझ क्रिकेटलाई त्यति महत्व दिँदैनथे, बरु हाँस्दै भन्थे, ‘क्रिकेट खेल्ने पनि कोही होला?’ पछि क्रमश: त्यसले आकार ग्रहण गर्यो र त्रिभुवन विश्व विधालय क्रिकेट मैदान (टियु मैदान) मा सबैभन्दा बढी टिम सहभागितामा क्रिकेट प्रतियोगिता आयोजना गरियो। त्यही प्रतियोगितापछि हो नेपालमा विद्यालय, कलेज क्षेत्रमा क्रिकेटको माहोल बढेको। त्यतिबेला काठमाडाैंमा क्रिकेट मैदान पनि थिएन, टियु मैदान पनि फुटबल मैदानका रुपमा प्रयोग गरिन्थ्यो। कुनै प्रतियोगिता गराउनु परे, टुँडिखेलमा अल्पकालीन पिच बनाएर प्रतियोगिता सञ्चालन गर्नुपर्ने अवस्था थियो।

त्यसपछि मैले क्रिकेट खेलको प्रवर्द्धनमा जोड दिनुपर्छ भन्ने उदेश्य लिई क्रिकेटमा राम्रो गर्ने खेलाडीहरूलाई कलेजमा छात्रवृत्तिको व्यवस्था मिलाए। म त्यतिखेर ह्वाइटहाउस कलेजमा थिएँ। वर्तमान राष्ट्रिय टिमका कप्तान पारस खड्का, शरद भेषवाकर, कनिष्क चौलागाईंलगायत खेलाडीहरू हाम्रै कलेजका उत्पादन हुन्। यसले अरु स्कुल कलेजहरूले पनि क्रिकेटको महत्व बुझ्दै गएँ, र स्कुल, कलेज लेभरको प्रतियोगिताहरू अन्य कलेजहरूले पनि गर्न थाले। पछि नेपालले आईसीसीले आयोजना गराउने उमेर समूहका प्रतियोगिताहरूमा टेष्ट नेशन राष्ट्रहरुलाई पनि हराउन सफल भयो। त्यसले नेपालमा क्रिकेटको क्रेज बढाएको हो।

२०६४,६५ सालतिर क्रिकेटलाई व्यवस्थापकीय ढंगबाट अगाडि बढाउने उद्देश्यले नेपाल क्रिकेट संघ-क्यानको उपाध्यक्ष भएँ। त्यसपछि हाल सरकारले गठन गरेको क्यान तदर्थ समितिको अध्यक्ष छु।

डिपिएलमा टिम सहभागिताको सोच कसरी बनाउनु भयो?

सुवासजी (आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष)हरूले यसभन्दा अघि आयोजना गर्दै आउनुभएको एसपिए कप प्रतियोगितामा हामीले कलेज लेभलबाट सहभागिता जनाउँदै आएका थियौं। हामीले तीन पटक सो प्रतियोगितामा सहभागिता जनाएका छौं। उहाँसँगको सल्लाहमा यसपटक मेरो भनाइ कलेजको नामले प्रतियोगिता खेलाउँदा या त कलेजका विद्यार्थी मात्र सहभागिता हुने नियम बनाउने वातावरण बनाउनु पर्यो या त क्लब भनेर खेलाउनु पर्यो जहाँ सब उमेर समूहका खेलाडीहरू खेल्न पाउँछन् भन्ने रह्यो।

पछि हामीले सल्लाह गर्दै जादा सहर बेसमा प्रतियोगिताहरू आयोजना गर्ने सल्लाह भयो। त्यसपछि काठमाडाैं क्षेत्रबाट एउटा टिम हजुर बनाइदिनु पर्यो भन्ने प्रस्ताव म कहाँ आएपछि मैले सहर्ष स्वीकार गरी प्रतियोगितामा काठमाडाैं गोल्डेन्सका नामले टिम सहभागिता गराउने निर्णय लिएको हुँ।  

एउटा टिम बनाउँदा प्रत्यक्ष रुपमा लाखौ रुपैयाको खर्च हुन्छ। त्यत्रो पैसा खर्च गरेर के प्रतिफलको अपेक्षा राख्नुभएको छ?

नेपालको खेलकुदमा हाल पनि १६ वर्षमुनिको खेलाडी उत्पादनमा स्कुलको र त्यो भन्दामाथि १६ देखि १९ वर्षको खेलाडी उत्पादन र संरक्षण प्लस टु ले गर्यो त्यसभन्दा माथिको खेलाडीको जिम्मा भने कलेजहरूले निर्वाह गरेको देखिन्छ।

केही अर्थमा विभागीय (सेना, प्रहरी, सशस्त्र) क्षेत्रहरूको पनि खेलाडीहरूमा योगदान छ। उनीहरूको योगदान कस्तो रह्यो भने राम्रो देखिएका खेलाडीहरूलाई टिक्ने र टिकाउनेमा उनीहरुको योगदान छ। त्यसैले, स्कुल कलेज नभएको भए नेपाली खेलकुद हालसम्म यहाँसम्म पुग्दैनथ्यो।

मुलत: खेलकुद क्षेत्रलाई विकास गर्दछ। खेल क्षेत्रलाई व्यावसायिककरण भित्र्याउन सक्छ। हाम्रो अहिलेको लगानीले खेलाडी, प्रशिक्षक, अन्य आवद्ध पक्षहरूलाई यसैबाट मानसम्मान, आर्थिक उपार्जनमा मद्दत पुग्ने हामीले विश्वास लिएका छौं। र, निजी तथा व्यापारिक क्षेत्रहरूले यसरी नै खेलकुदमा लगानी गर्ने हो भने समूह खेलहरूमा नेपालले अन्यभन्दा छिटो अन्तर्राष्ट्रिय उपाधिहरू भित्र्याउन सकेको छ र भित्र्याएको पनि छ। जुन हामीले अहिले गरेको लगानीको प्रतिफलको एउटा हिस्सा हुनेछ।

अक्सनमा तपाईं आफैं सहभागी हुनुहुन्थ्यो, अक्सनमा यहाँको अनुभव, अनुभुति कस्तो रह्यो?

अक्सन भनेको बडो क्यालकुलेटिभ हुने चिज हो। एउटा टिमले खेलाडीमा खर्च गर्ने रकमको पनि लिमिट तोकिएको भएकाले त्यसमा सबैले बडो विचार गरेर लगानी गर्नुपर्ने स्थिति थियो। अक्सनमा म दुईवटा चाहना लिएर बसेको थियो। एउटा चाहिँ, टिममा दुई तीन जना अनुभवी खेलाडीहरू, पर्फर्मेन्स गरेका खेलाडीहरू हुन् र बाँकी नयाँ खेलाडीहरू टिममा हुन् ताकि उनीहरूले थप नयाँ कुरा सिक्ने मौका पाउन्, राष्ट्रका लागि नयाँ खेलाडी उत्पादन हुन् भन्ने उद्देश्य हाम्रो थियो। सोही कारण मेरो टिममा मैले नयाँ खेलाडीहरूलाई बढीभन्दा बढी मौका दिएको छु।  

अक्सनको मेरो अनुभूति भनेको यो आफैंमा एक्साइटिङ हुँदो रहेछ। त्यस सँगसँगै हामीले जजमेण्टल पनि हुनुपर्दो रहेछ। अक्सनले दिएको दुई वटा म्यासेज के पनि हुन् भने जस्तोसुकै अन्तराष्ट्रिय खेलाडी भए पनि उनीहरू बिक्नका लागि फर्ममा हुनु आवश्यक रै’छ र अर्को म्यासेज भनेको युवा खेलाडीहरूमा राम्रो प्रतिभा छ भने उनीहरूको उमेरले प्रतिभालाई रोक्न सक्दैन। सोहीको परिणाम हो, अक्सनमा अन्तराष्ट्रिय खेलाडी पनि नबिक्नु र भर्खरका युवा खेलाडीले राम्रो मूल्य पाउनु।

 

चार वटा अनक्याप खेलाडीहरू लिनैपर्ने प्रावधान राखिएको थियो, यो त्यति उचित भएन, सबैलाई खुल्ला रुपमा प्रतिस्पर्धामा ल्याइनु पर्थ्यो, भन्ने गुनासो पनि सुनिन्छ? यसमा तपाईको धारणा के छ?

एउटा टिममा चार जना प्लेयरहरूको प्रावधान तत्काललाई म राम्रो देख्छु। राम्रो प्रतियोगिता खेल्न पाउँदा अनक्याप प्लेयरहरूलाई त्यसले म्याच एक्पोजर दिन्छ। क्रिकेटको भविष्य भन्या त अनक्याप प्लेयर नै हो। उहाँहरूलाई मौका नदिने हो भने हामी हाम्रो भविष्यप्रति पनि सचेत छैनौं कि जस्तो देखिन्छ।

भविष्यका अक्सनहरुमा सहभागिताको सवालमा भने उनीहरूको भविष्य उनीहरूकै हातमा छ। अनक्यापहरूले प्रतियोगितामा राम्रो प्रदर्शन गरे भने अनक्यापको संख्या बढाउनु पर्यो भन्ने आवाज उठ्न सक्छ भने उनीहरूले पर्फमेन्स दिन सकेनन् भने घटाउनुपर्छ भन्ने आवाज पनि आउला।

सुरूमा विदेशी खेलाडीहरूलाई पनि प्रतियोगितामा सहभागिताको कुरो आएको थियो। पछि सबैको सहमतिमा स्थानीय खेलाडीहरूलाई प्राथमिकता दिन विदेशी खेलाडीहरूलाई प्रतियोगितामा सहभागी नगराइने निर्णय गरिएछ। कुनै पनि प्रतियोगितामा विदेशी खेलाडी ल्याइनुहुन्छ कि हुँदैन?

यो हाम्रो पहिलो सुरुवात हो, त्यही भएर सबैजना विदेशी खेलाडीलाई भन्दा आफ्नै खेलाडीहरुलाई मौका दिऔं भनेर सहमतिमा आऔं। तर, अर्कोतिर हामीले के पनि विचार पुर्याउनु पर्छ भने विदेशी खेलाडीहरू टिममा ल्याइँदा हाम्रा खेलाडीहरूले पनि केही सिक्ने मौका पाउँथे। यसो भनिरहँदा विदेशबाट जो पायो त्यही खेलाडी ल्याउने पनि भनिएको हैन। हामीले कम्तीमा माथिल्लो लेभलका जस्तै: भारतमा रणजी ट्फीसम्म खेलेको खेलाडीहरूलाई प्रतियोगितामा सहभागी गराउने प्रयास गर्नुपर्थ्यो। त्यस सम्बन्धले आगामी दिनमा त्यहाँका प्रतियोगिताहरूमा नेपाली खेलाडीहरूले पनि सहभागिताको मौका पाउँथे कि भन्ने मेरो विश्वास हो।

प्रसंग माेडाैं, निर्वाचित क्यानले साधारणसभा भर्खरै सम्पन्न गर्नुलाई तपाईं सरकारले गठन गरेको तदर्थ समितिको अध्यक्षका हैसियतले कुन रुपमा लिनुहुन्छ?

यो चाहिँ एक किसिमको अदातलको अपमान हो। उक्त साधारणसभा उद्घाटन गर्ने मन्त्रीले चाहिँ नेपालको कानुन मान्नु पर्दैन? सर्वोच्चले दुबै क्यानलाई काम नगर्नु भन्ने आदेश दिएको छ। आईसीसीले मान्यता दिएको छैन। सर्वोच्चको निर्णय विपरीत जाने निर्णय उद्घाटन गर्ने मन्त्री अथवा अन्यलाई कसले दियो? यसले मुलुकमा अराजकता निम्त्याउँछ।

अनि अर्कोतिर यो साधारणसभाको कुनै अर्थ अनि कानुनी मान्यता पनि नभएको अवस्थामा खाली देखाउनलाई मात्र गरिएको देखिन्छ। त्यहाँबाट गरिएका निर्णयहरूको कानुनी हैसियत के हुने? कसले मान्ने? त्यसलाई नेपाली खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुदले पनि मानेको छैन, अन्तराष्ट्रिय संस्था आईसीसीले पनि मानेको छैन। त्यसैले उहाँहरूले गरेको निर्णयको वैधानिकता के हुन्छ? अवैधानिक रुपमा मिटिङ छलफल गरेर त्यसको कुनै हैसियत छैन। बसेर चिया-विस्कुट खानेबाहेक त्यसको अन्य कुनै अर्थ छैन।

क्यान विवादमा आउनुको मुख्य कारण त तदर्थ समिति पनि हो नि?

रातारात निर्वाचन गर्नुअघि तत्कालीन क्यानका अध्यक्षले निर्वाचन रोकियोस् भनेर अाधिकारिक चिठी पठाउनु भएको छ। अनि कुनै पनि निर्वाचन हुनुभन्दा ३५ दिन अगाडि सूचना पठाउनुपर्छ। त्यो गरिएको छैन। अनि त्यहाँ कुनै पनि रिपोर्टहरू छैनन्, अध्यक्ष, महासचिव, कोषाअध्यक्षको प्रतिवेदन त कमसेकम हुनुपर्यो। त्यो पनि छैन।

रातारात मैले निर्वाचन गरे भनेर निर्वाचन हुन्छ र? निर्वाचन एउटा पनि प्रक्रियासँग छैन। तत्कालीन क्यानका अध्यक्षले नै त्यो काम नगर्नु भनेको सन्दर्भमा उहाँहरूले गर्नुभएको निर्वाचन विधिसम्मत छ त? छँदै छैन। कि त उहाँहरुले तत्कालिन क्यानका अध्यक्षलाई महाभियोग लगाएर नयाँ अध्यक्ष निर्वाचित गरी प्रक्रियामा जानुपर्थयो। अर्को कुरा राष्ट्रिय खेलकुदले नगर्नु भनेका कुरा गरेर मनलाग्दी गर्नुभयो । यी सबै कुराले क्यान निलम्बित हुनु अनि विवादमा आउनुको प्रमुख कारण निर्वाचित भनिएको क्यान नै हो भन्ने प्रमाणित गर्छ ।

तर, आईसीसीले क्यान निलम्बन गर्दा त सरकारी हस्तक्षेपलाई पनि एउटा कारण देखाएको छ नि?

आईसीसीको आर्टिकल नै बिरोधाभासपूर्ण छ। आईसीसीको आर्टिकलमा प्रष्ट दुई वटा कुरा छन्। एउटा चाहिँ कुनै पनि देशको कमिटी बन्दा राजनीतिक हस्तक्षेप हुनुहुँदैन भनी प्रष्ट भनेको छ भने अर्को त्यहाँको सरकारलाई जुन कमिटीले मान्यता दियो आईसीसीले त्यही कमिटीलाई मान्यता दिनुपर्ने प्रावधान छ। सोहीकारण आईसीसीले सरकारी हस्तक्षेप भएको भन्दै चुनावी भनिएको कमिटीलाई पनि मान्यता दियो र सरकारले मान्यता दिएको भएकाले तदर्थ समितिलाई पनि चलाउन सकेन।  

यसमा आईसीसीको दुराशय छ, त्यो भनेको उनीहरू आफ्नो हातमा नेपालको क्रिकेट लिन चाहन्छन्। त्यो माैका चाहिँ हामीले दिऔं। निलम्बनअघि पनि आईसीसीसँग भएका औपचारिक/अनौपचारिक छलफलमा उनीहरूले निर्वाचित भनेका क्यानका सदस्यहरूले सुशासन कायम गर्न सकेन्न्। यिनीहरूलाई कारबाही गर्नुपर्छ भन्थे। यता सरकारले मान्यता नदिएपछि राजनीतिक हस्तक्षेप भयो भने। यहाँ उनीहरूले द्वैध चरित्र देखाए। जसको अर्थ उनीहरू नेपाली क्रिकेट आफ्नो हातमा लिन चाहन्छन्। तदर्थ कमिटी बन्नुभन्दा पहिले नेपालले पाउने ९ लाख डलर उनीहरूले रोकेर राख्नुले पनि सोही कुरालाई प्रमाणित गर्छ।

क्यान विघटन गरी क्रिकेट बोर्ड बनाउने प्रस्ताव चाहिँ कसको हो ?

आईसीसीले क्रिकेट बोर्डको प्रस्ताव ल्योयो भनी जुन प्रचार गरिएको छ त्यो गलत हो। क्रिकेट बोर्ड गठन हुनुपर्छ भन्ने प्रस्ताव मेरो हो। यो मैले धेरै अगाडिदेखि राख्दै आएको प्रस्ताव हो। स्वायत्त संस्था बन्नुपर्छ, बोर्डमा बस्ने मान्छेहरू भिजनसहित आउनुपर्छ। सरकारले जो चाह्यो जतिखेर चाह्यो मान्छे ल्याउन हटाउन प्रवृत्ति नरहोस् अनि राजनीतिक हस्तक्षेप नहोस् भनेर स्वायत्त क्रिकेट बोर्ड गठनको प्रस्ताव गरिएको हो। बाेर्डमा हुने व्यक्तिहरूकाे स्पष्ट भिजन हुनुपर्छ। उनीहरूलार्इ काम गर्न दिनुपर्छ। अनि मात्र नेपाली क्रिकेटकाे विकास सम्भव हुन्छ।

नेपाली क्रिकेटमा आगामी यात्रा तय गर्न एउटा आईसीसीले एउटा सल्लाहकार समिति बनाएको छ। त्यसको भूमिका कतिको प्रभावकारी देख्नुहुन्छ?

आईसीसीले नेपाली क्रिकेटमा खेल्न खोजेको मात्र हो याे र मेराे त्यसमा रुचि रहेन। मैले कार्मचारीको मातहतमा बस्दिनँ भनी स्पष्ट भनिदिएको पनि छु। त्यो समितिको त्यति औचित्य पनि देख्दिनँ म।

उहाँहरूको औचित्य पुष्टि त उहाँहरूले नै गर्ने हो। उहाँहरूलाई दिइएका जिम्मेवारीहरू बहन गर्न सक्नुभयो भने औचित्य पुष्टि होला। तर, उनीहरूको कानुनी आधार पनि प्रष्ट छैन। आईसीसीले एउटा कमिटी बनाइदियो त्यहाँ विभिन्न व्यक्तिहरूको सहभागिता रह्यो तर नेपाली कानुनमा त त्यसको व्यवस्था छैन। त्यसैले कानुनी संरचनामा त्यस समितिलाई ढालेर मात्र कार्य अगाडि बढाइनु पर्छ।

क्यानको समस्या समाधान गर्न कसरी अगाडि बढ्नुपर्ला ?

बल नेपालको कोर्टभन्दा बाहिर गइसकेको छ। अदालतले निर्णय दिन निकै ढिलो गरिदियो। एक वर्ष हुँदासम्म पनि अदालतले निर्णय नदिँदा समस्या देखिएको छ। ढिलो न्याय दिनु न्याय नदिनु सरह मानिन्छ। अनि आईसीसीले पनि यसमा छिटो निकास दिनुपर्छ। आन्तरिक रुपमा दुबै पक्ष मिलेर जाने सम्भावना निकै कम छ। त्यसैले अदालत र आईसीसीको सल्लाहकार समितिको निर्णय कुर्नुको विकल्प रहेन। 

 

More form the Internet

loading...