Suvadin, Home

३१ करोड ५० लाख गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा सञ्जय साहविरूद्ध विशेष अदालतमा मुद्दा

अख्तियारले सोमबार उनलाई ३१ करोड ५० लाख २६ हजार ५५९ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। सद्भावना पार्टीबाट धनुषा–४ मा निर्वाचित साह सञ्चार उद्यमी अरुण सिंघानिया हत्या आरोपमा २०७१ वैशाख २१ गतेदेखि जेलमा छन्। 
सञ्जय साह।

काठमाडौं, पुस २५


लोकमानसिंह कार्की बर्खास्त भएको भोलिपल्ट अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हत्या अभियोगमा जेलमा रहेका निलम्बित सांसद सञ्जयकुमार साहविरुद्ध अकुत गैरकानुनी सम्पत्ति मुद्दा दायर गरेको छ। 

अख्तियारले सोमबार उनलाई ३१ करोड ५० लाख २६ हजार ५५९ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। सद्भावना पार्टीबाट धनुषा–४ मा निर्वाचित साह सञ्चार उद्यमी अरुण सिंघानिया हत्या आरोपमा २०७१ वैशाख २१ गतेदेखि जेलमा छन्। 

उनले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो। अनुसन्धानमा गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा राजनीतिज्ञमाथि हालसम्मकै धेरै बिगोसहित यो मुद्दा दायर भएको हो। 

अख्तियारले सोमबार विज्ञप्तिमार्फत साहले सार्वजनिक पद धारण गरेदेखि सो पदमा बहाल रहँदा आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी गैरकानुनी रुपले सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा मुद्दा दायर गरिएको जनाएको छ। 

‘गैरकानुनी सम्पत्ति आर्जन, पदीय हैसियत अमिल्दो उच्च जीवनस्तर यापन गरेकोले सम्पत्ति छानबिन गरीपाउँ भन्ने उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा संविधानसभा तथा व्यवस्थापिका संसदका सदस्य (२०६५–२०६९), भौतिक योजना तथा निर्माण राज्यमन्त्री (२०६५–२०७०), संविधान सभा हाल रुपान्तरित व्यवस्थापिका संसदका सांसद (२०७०–हालसम्म) को पदमा रही हाल निलम्बित रहेका साहले गैरकानुनी सम्पत्ति आर्जन गरेको देखियो,’ विज्ञप्तिमा भनिएको छ। 

साहले सार्वजनिक पद धारण गरेको अवधिमा आफ्नो तथा परिवारका सदस्यका नाममा रहेका कम्पनी, व्यावसायिक फर्महरूबाट कारोबार गरेको, ती कम्पनी र व्यावसायिक फर्मका कर्मचारीहरूका नामबाट भएका आर्थिक कारोबार, परिवारका सदस्यलगायतका नाममा खरिद एवं लगानी गरेको चलअचल सम्पत्तिबारे अख्तियारले छानविन गरेको थियो। 

छानविनमा तथ्य प्रमाणहरूलाई विश्लेषण गरी हेर्दा साहले आय आर्जन गरेको वैध आयको तुलनामा ३१,५०,२६,५५९.२७ (एकतीस करोड पचास लाख छब्बीस हजार पाँच सय उनान्साठी रुपैयाँ सत्ताइस पैसा) बराबरको सम्पत्ति गैरकानुनी रुपमा वदनियतपूर्ण तवरले आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ। 

‘मनासिव कारणबिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको,आफ्नो हैसियत भन्दा बढी खर्च गरेको तथा स्रोत नखुलेको सम्पत्तिवाट बढी बढाउ गरेको समेत देखिन आएबाट सञ्जयकुमार साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएको छ,’ अख्तियारले भनेको छ।

भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा २० को उपदफा (२) बमोजिम जरिवना तथा कैद सजाय तथा निज ह संविधान सभाको सदस्य, नेपाल सरकारको राज्यमन्त्री र व्यवस्थापिका संसद सदस्यको हैसियतमा सार्वजनिक पदको राष्ट्रसेवक एवं पदाधिकारी समेत रही उपरोक्त बमोजिमको कसुर गरेकोले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय समेत माग गरिएको छ। साथै जोडेको तथा बढे÷बढाएको चलअचल सम्पत्तिहरू भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ को दफा २९ख बमोजिम जफत गर्न मागदाबी गरिएको छ। 

साहले बाबु साधु साह सुडी, आमा दुलारी देवी सुडी, श्रीमती रंगिला देवी, भाइ रामकुमार साह, निज संजय कुमार साहका कम्पनी तथा व्यवसायिक फर्मका कर्मचारीहरु राम मिलन राउत कुर्मी र श्रीमती निलमसिंह समेतको नाममा आफूले गैरकानुनी सम्पत्ति राखेको भेटिएको अख्तियारले जनाएको छ। उनीहरू सबैलाई विशेष अदालतमा मुद्दा दायर गरिएको छ। 

साहका भाइ रामकुमारको नाममा रहेको मिथिला मनि ट्रान्सफर प्रा.लि.ले एक शाखाबाट आर्को शाखामा रकम पठाउँदा र झिक्दा बैकिङ प्रणालीमा नदेखाई सोझै पठाउने गरेको, सोको अभिलेख डे बुकमा मात्र राख्ने गरेको र हुण्डी समेतको कारोबार गरेको भनी उनीहरूले अनुसन्धानमा वयान दिएको अख्तियारले जनाएको छ। 

साहका बाबु साधुको नाममा रहेको मिथिला आयल स्टोर्सले राजश्व छली गरेको अनुसन्धानको क्रममा प्राप्त कागजातहरूबाट खुलेको बताइएको छ। ती विषयमा सम्बन्धित कागजात संलग्न गरी थप अनुसन्धान तथा कारबाहीको लागि नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय र राजस्व अनुसन्धान विभागमा लेखी पठाइएको अख्तियारले जनाएको छ। 

साहलाई जनकपुर बम काण्डको आरोपमा पुर्पक्षका लागि थुनामा राख्न धनुषा जिल्ला अदालतले गत मंसिर १६ गते आदेश दिएको थियो। साह अन्य मुद्दामा पनि रहेकाले पछि ठहरेबमोजिम हुने हुँदा उनलाई सम्बन्धित कार्यालयमै थुनामा राख्न अदालतले आदेश दिएको थियो।


 

More form the Internet

loading...