Suvadin, Home

अब एनटिसीको प्रिपेड मोबाईलमै फोरजी सेवा

 नेपाल टेलिकमले जीएसएम प्रिपेड ग्राहकलाई पनि फोरजी सेवा सुरु गरेको छ। टेलिकमले आफनो १३ औं स्थापना दिवसको अवसर पारेर शनिबारबाट प्रिपेड मोबाइलमा पनि फोरजी सेवा सुरु गरेको हो। पोष्टपेडमा फोरजी सेवाको अत्यधिक माग बढ्दै गइरहेका बेला प्रिपेड ग्राहकहरुलाई पनि यो सेवा सुरुवात गरिएको हो।

काठमाडौं माघ २२ - नेपाल टेलिकमले जीएसएम प्रिपेड ग्राहकलाई पनि फोरजी सेवा सुरु गरेको छ। टेलिकमले आफनो १३ औं स्थापना दिवसको अवसर पारेर शनिबारबाट प्रिपेड मोबाइलमा पनि फोरजी सेवा सुरु गरेको हो।

पोष्टपेडमा फोरजी सेवाको अत्यधिक माग बढ्दै गइरहेका बेला प्रिपेड ग्राहकहरुलाई पनि यो सेवा सुरुवात गरिएको हो। ०७३ साल पुस १७ देखि टेलिकमले काठमाडौं र पोखरामा पोष्टपेड ग्राहकलाई फोरजी सेवा सुरू गरेको हो। यसै अवसरमा टेलिकमले विभिन्न सेवाहरूमा पनि भारी छुटको व्यवस्था गरेको छ।

टेलिकमले शनिबारबाट फागुन ७ गतेसम्म लागू हुने गरी जीएसएम प्रिपेड सेवाग्राहीलाई फोर जी सेवासँगै एक पटकका लागि प्रतिदिन सय एमबीका दरले ४ दिन निःशुल्क ४ सय एमबी डाटा उपलब्ध गराउने, सिआरबिटी सेवा पुन: सञ्चालन गरी प्रतिदिन एक वटा गीतका दरले १५ दिनका लागि निःशुल्क उपलब्ध गर्ने, जीएमएस नेटवर्कका सेवाग्राहीलाई २० रुपैयाँमा पाँच दिन भ्यालिडिटी भएको सय एमबी फेसबुक प्याकेज उपलब्ध गराउने लगायतको छुटको व्यवस्था गरेको हो।

टेलिकमको १३ औं वार्षिकउत्सव कार्यक्रमको अवसरमा आयोजित सभामा बोल्दै टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपालमा दुरसंचार सेवामा नयाँ नयाँ प्रविधिको सुरुवात, विकास र विस्तारको कार्यमा लागि रहने प्रतिवद्धता पनि जनाइन्। सूचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले ग्राहकहरुको चाहना अनुसारअघि बढन टेलिकम सफल भइरहने विश्वास व्यक्त गरे।

नेपाल टेलिकमल कम्पनीको रुपमा सञ्चालन भएको १३ वर्ष पुरा भएको छ। टेलिकमले चालू आर्थिक वर्षको मंसिर महिनासम्ममा मात्रै १३ अरव २७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ। टेलिकमले मोवाइ फोनको मात्रै ग्राहक संख्या १ करोड ६० लाख नाघेको दावी गरेको छ। 


 

More form the Internet

loading...